• २०८२ माघ १५, बिहीबार

साहित्य मन थाइल्याण्डद्वारा विशेष रचना वाचन कार्यक्रम सम्पन्न

बैंकक ।

थाइल्याण्डमा नेपाली भाषा र साहित्यको प्रवद्र्धनमा सक्रिय संस्था ‘साहित्य मन थाइल्याण्ड’ को नियमित कार्यक्रम ‘आदर्श दिव्य दर्पण’ को आठौँ शृङ्खला भव्य रूपमा सम्पन्न भएको छ । थाई बालदिवस तथा शिक्षक दिवसको विशेष सन्दर्भ पारेर आइतबार राति भर्चुअल माध्यमबाट आयोजना गरिएको उक्त कार्यक्रममा नेपाली र थाई दुवै भाषामा सिर्जनाहरू वाचन गरिएका थिए ।

कार्यक्रममा विशेष आकर्षणको रूपमा रहेका बालबालिकाहरू राज निरौला, खुशी बराल, अनमोल बराल, उषा भट्टराई, सुथेप बानियाँ र जिया खड्काले थाई भाषामा कविता वाचन गर्नुभएको थियो । स्थानीय थाई संस्कृति र नेपाली परिवेशको भावनात्मक एकता झल्काउने उद्देश्यले योगेन्द्र पोयेकरले कार्यक्रमको एउटा खण्ड थाई भाषामै सञ्चालन गर्नुभएको थियो । त्यसैगरी, नेपाली भाषातर्फ कविहरू रविचन्द्र अधिकारी, भीमलाल खनाल र ज्योति पोख्रेल लगायतका सर्जकहरूले आ–आफ्ना रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।

नेपालबाट प्रमुख अतिथिको रूपमा आमन्त्रित वरिष्ठ साहित्यकार युवराज नयाँघरेले प्रवासमा नेपाली साहित्यको यस प्रकारको सक्रियता र नयाँ पुस्तालाई जोड्ने प्रयास सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा थाइल्याण्डबाटै गुरुवर दिपक पराजुली विशिष्ट अतिथिको रूपमा सहभागी हुनुभएको थियो । साहित्य मन थाइल्याण्डका अध्यक्ष ओमप्रकाश न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको कुशल सञ्चालन सचिव दीपा रानाले गर्नुभएको थियो । परदेशमा रहेर पनि नेपाली बालबालिकालाई आफ्नो भाषा र संस्कारसँग जोड्न यस्ता कार्यक्रमले थप उर्जा प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेको छ ।