हिन्दी कविता

पोखरा ।
पोखरेली युवा साँस्कृतिक परिवारको आयोजनामा गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्वीमान गुरुङको प्रमुख आतिथ्यतामा अम्बर गुरुङ राष्ट्रिय सङ्गीत पुरस्कार अर्पण समारोह भव्यताका साथ सम्पन्न भएको छ । उक्त कार्यक्रममा ‘अम्बर गुरुङ राष्ट्रिय संगीत पुरस्कार’ बाट गीतकार किरण खरेल सम्मानित हुनुभएको छ । शनिबार पोखरामा आयोजित समारोहमा गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उहाँलाई सो पुरस्कार अर्पण गर्नुभयो ।
नेपाली राष्ट्रगानका संगीतकार अम्बर गुरुङको योगदान चिरस्थायी बनाउने उद्देश्यले पोखरेली युवा सांस्कृतिक परिवारले उहाँको नाममा राष्ट्रिय संगीत कोष स्थापना गरी पहिलो पल्ट खरेललाई पुस्कृत अर्पण गरेको हो । संस्थाका अध्यक्ष उपेन्द्र पौडेलले हाल १८ लाख अक्षयकोषमा जम्मा भैसकेको बताउनुभयो । यो नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठूलो पुरस्कार भएको आयोजकको दाबी छ । फिल्म ‘माइतीघर’ को यो हो मेरो प्राणभन्दा प्यारो गीतका रचनाकार किरणले सयभन्दा बढी फिल्ममा गीत लेखिसकेका छन् ।
१९९५ सालमा काभ्रेपलाञ्चोकको खरेलथोकमा जन्मनु भएका खरेलले १९ वर्षको छँदा २०१४ सालमा ‘ए दूरका सितारा’ गीत रेकर्ड गराउनु भएको थियो । उहाँका चार गीतिसंग्रह प्रकाशित छन्। पोखरामा शनिबार नै ‘ए दूरका सितारा’ संग्रह विमोचन गरियो । जिन्दगीलाई जित होइन हारले स्वागत गरी, नमान लाज यसरी, वनमा फुल्यो फूलैफूल, लुकुँ लुकुँ लाग्यो मलाई बादल जस्तो त्यो कालो केशमा, कसले चो–यो मेरो मन, मन्दिरमा छ कि मूर्तिमा माया, हिमालको काखमा छ सानो मेरो गाउँ लगायतका गीतले उहाँलाई प्रख्याति दिलाएका थिए ।
पुरस्कार ग्रहण गर्दै ८५ वर्षीय गीतकार किरण खरेलले नेपाली गीतसंगीतका धरोहर अम्बर गुरुङको सुकिलो योगदानको चहकिलो सम्मान भएको र आफूलाई योग्य ठानेकोमा आभार व्यक्त गर्दै गर्नुभयो । उहाँले यो अविष्मरणीय र गौरवको क्षण भएको समेत बताउनुभयो । साहित्यकार सरुभक्तले किरणले परम्परागत गीति लेखनको मानक भत्काउनुभएको बताउनुभयो । गीतमा आधुनिकताको प्रयोगको सुरुआत उहाँबाट सुरु भएको सरूभक्तको धारणा थियो । संस्कृतिकर्मी तीर्थ श्रेष्ठले अम्बर गुरुङलाई गीतसंगीतको ‘सगरमाथा’ भएको बताउनुभयो ।
कार्यक्रममा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, अम्बर गुरुङका सुपुत्र राजु गुरुङ, पोयुसाप सचिव डा. चैतन्य अधिकारीले अम्बर गुरुङको नाममा स्थापित पुरस्कार किरण खरेललाई अर्पण गर्दा पुरस्कार आफैंमा पुरस्कृत भएको उल्लेख गर्नुभयो । २०३४ सालमा स्थापित पोखरेली युवा सांस्कृतिक परिवार नेपाली साहित्य, संगीत र कला क्षेत्रमा क्रियाशील छ ।