• २०८१ भाद्र २५ मङ्गलबार

शेषराज सिवाकोटीका १२ कृति सार्वजनिक

काठमाडौं ।

रुक्मणिराज सिवाकोटी स्मारककोषले पत्रकार धु्रवहरि अधिकारीलाई ‘रुक्मणिराज सिवाकोटी स्मृतिपत्रकारिता पुरस्कार- २०७९’ र साहित्यकार गोविन्दगिरी प्रेरणालाई ‘रुक्मणिराज सिवाकोटी स्मृतिस्रष्टासम्मान- २०७९’ द्वारा सम्मानित गरेको छ । बुधबार काठमाडौंमा स्मारक कोषद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्वन्यायाधीश टोपबहादुर सिंहले सम्मानित व्यक्तित्वहरूलाई सम्मान गर्दै १२ वटा पुस्तकहरू सार्वजनिक गरे ।

कार्यक्रममा ‘ज्ञानगुनका कुरा’ पत्रिकाको धु्रवहरि अधिकारी अंक- १, गोविन्दगिरी प्रेरणा अंक- १, ज्ञानमणि नेपाल अंक- ४, डा. महेशराज पन्त अंक- १, कमल दीक्षित स्मृति अंक- १, ‘न्याय’ पत्रिकाको विश्वनाथ उपाध्याय स्मृति अंक- ३, टोपबहादुर सिंह अंक- १, धनेन्द्रबहादुर सिंह स्मृति अंक- २, न्यायमूर्ति जोन मार्शल स्मृति अंक- २, अंग्रेजीभाषाको पुस्तक ‘जस्टिस’ सहित १२ पुस्तकहरू सार्वजनिक गरियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्वन्यायाधीश टोपबहादुर सिंहले मन्तव्य व्यक्त गर्दै शेषराज सिवाकोटीले विभिन्न व्यक्तित्वलाई सम्मानित गर्दै पुस्तकहरू प्रकाशन गरेकोमा आफूलाई खुसी लागेको बताउँदै उनको क्रियाशीलताको प्रशंसा गरे । समारोहमा शरदचन्द्र वस्तीले सम्मानित व्यक्तित्व पत्रकार अधिकारी र रमेश शुभेक्षुक तथा प्रमोद प्रधानले साहित्यकार प्रेरणाको परिचय दिए । कार्यक्रममा सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्ती, प्रा. डा. माधवप्रसाद पोखरेल, चिन्तामणि शिवाकोटी, रोचक घिमिरे, धु्रवहरि अधिकारी, गोविन्दगिरी प्रेरणा, शेषराज सिवाकोटी, गोपाल थपलिया लगायतले बोलेका थिए ।