• २०८३ कार्तिक १८, मंगलवार

‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को नतिजा सार्वजनिक

काठमाडौँ ।

खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को नतिजा सार्वजनिक गरिएको छ । नेपाली हास्यव्यङ्ग्य साहित्यको प्रवद्र्धन तथा विकासका लागि विद्यालय तहका विद्यार्थीहरूबिच ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार २०८३’ को आयोजना गरिएको हो । भ्यान्कुभर, क्यानाडा निवासी हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीले २०८२ सालदेखि पुरस्कार स्थापना गरेको हो । ‘बाङ्गा अक्षर’ले विश्वभरका १२ कक्षासम्म अध्ययनरत नेपालीभाषी विद्यार्थीहरूबाट २०८३ असोज १४ गतेभित्र निबन्ध आह्वान गरेको थियो ।

प्राप्त निबन्धहरूको मूल्याङ्कनमा अमर माध्यमिक विद्यालय, इलाम–कक्षा १२ का सेवन्त आचार्य प्रथम, डियरवाक सिफल स्कुल, काठमाडौँ – कक्षा १० का सुविज्ञराज खरेल द्वितीय, श्री कान्ति भैरव गुरुकुल, काठमाडौँ – कक्षा १२ पुष्प खरेल र काभ्रे इङ्गलिश माध्यमिक विद्यालय, काभ्रे – कक्षा १२ का स्वीकृति तामाङ तृतीय भएका छन् । काठमाडौँमा आयोजना गरिने एक विशेष समारोहबिच ‘बाङ्गा अक्षर’का तर्फबाट विजेताहरूलाई सम्मान–पत्रका साथै नगद पुरस्कार प्रदान गरिने भएको छ ।

प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १० हजार र तृतीय हुने दुवै जनालाई जनही ५–५ हजार रुपैयाँका दरले पुरस्कार अर्पिने भएको छ । हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार सुमी लोहनी रहेको तीन सदस्यीय मूल्याङ्कनका लागि विशेषज्ञ टोली गठन गरिएको थियो । निबन्धको मूल्याङ्कन गर्दा हास्य र व्यङ्ग्यको प्रभावकारिता, विषयवस्तु र सान्दर्भिकता, मौलिकता र सृजनशील प्रस्तुति, भाषा र शैली, एवं संरचना र तादात्म्यलाई मुख्य आधार बनाइएको जनाइएको छ ।

संस्थाका अध्यक्ष नारायण भट्टराईले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थीलाई धन्यवाद दिँदै सिर्जनात्मक लेखनमा निरन्तर लाग्न अनुरोध गरेको छ ।