मुक्तक
काठमाडौं ।
कथा साहित्यमा पुनर्जागरण अभियानअन्तर्गत २०८० साउनदेखि प्रत्येक महिना आयोजन गरिँदै आएको कथावाचन कार्यक्रमको ३५औँ शृंखला सम्पन्न भएको छ ।
शुक्रबार (कात्तिक २७) काठमाडौंमा आयोजित कथावाचन कार्यक्रममा दिवंगत कथाकारको सिर्जनाअन्तर्गत आख्यानकार रमेश विकलको ‘सिंगारी बाख्रा’ शीर्षकको कथावाचन गरियो । इन्दिरा प्रसाईले वाचन गरेको उक्त कथा ‘शारदा’ मासिक पत्रिकाको वर्ष २६, संख्या ४ वि.सं. २०१८ मा प्रकाशित कथा हो । कार्यक्रममा कथाकार हिरण्यकुमारी पाठकले आफ्नो कथाकृति ‘दुःस्वप्न’मा प्रकाशित कथा ‘खोसिएको खुशी’ वाचन गरिन् । कथाकार विष्णुप्रसाद शर्मा पराजुलीेले आफ्नो कथा ‘पेमा’ वाचन गरे ।
अभियानका परिकल्पनाकार कथाकार÷नियात्राकार चन्द्रप्रसाद भट्टराईले विभिन्न पुस्ताका कथाकारहरूबीच व्यक्तिगत परिचय र फरक कालखण्डका कथाका विषयवस्तु, शैली, प्रयोगबारे एकार्कालाई जानकारी गराउन कथावाचन कार्यक्रम सुरु भएको बताए । वाचन गरिएका कथाहरूमाथि उपस्थित सर्जकले जिज्ञासा राखेका थिए । कार्यक्रमको अन्त्यमा कथावाचनका परिकल्पनाकार पुष्कर लोहनीले नेपाली कथाबारे आफ्ना धारणा राखे ।
