• २०८१ भाद्र २७ बिहीबार

सम्पादकीय

‘अक्षरङ्ग’ साहित्यकला पत्रिका’ विगत केही समयदेखि साहित्यका विधागत सिर्जना लिएर निरन्तर रूपमा प्रस्तुत भइरहेको छ । अक्षरङ्गलाई माया गरेर तपाईंहरूले दिनु भएको आफ्नो अमूल्य रचना हाम्रो सम्पत्ति हो, निधि हो । हामी सदैव स्रष्टा सर्जक प्रति ऋणी छौँ ।
साहित्य समाजको दर्पण हो । चेतनाको संवाहक र उन्नतिको श्रृङ्गार हो । तपाईंहरूको सिर्जनाको मुलआधार, सद्भावना, शुभेच्छा, सल्लाह सुझाव र सहयोग नै हाम्रा प्रेरणाका स्रोत हुन् ।
हामीले विभिन्न समयमा सन्दर्भ विशेष र पर्व विशेष रूपमा सिर्जना सामाग्रीहरू अक्षरङ्ग मार्फत पस्कदै आइरहेका छौँ । आम पाठक, सर्जक तथा साहित्यानुरागीले दिनु भएको हौसला कै प्रतिफल स्वरूप हामी यहाँसम्म आउन सफल भएका छौँ ।
आज मातातीर्थ औँशी अर्थात आमाको मुख हेर्ने दिन । हामी “मातृ देवो भवः“ लाई आत्मसात गर्दै आमालाई बिम्ब, प्रतीक र अलङ्कार बनाएर विधागत सिर्जना गरिरहेका हुन्छौं । यो क्रम सदियौं देखि छ । आमा जस्तो प्रिय लाग्ने चिज सायदै अरू केही होला । यही अथाह महत्व भएको मातृशक्तिको पूजा, आराधना, अर्चना र सम्मान स्वरूप हामीले आजको अक्षरङ्गलाई आमामय बनाउदै “काव्यसिर्जनामा आमा“ केन्द्रीत रहेर विशेष सिर्जना अङ्क लिएर आएका छौँ । विद्वान साहित्य सर्जकसँग आमाका विषयबारे रचना लेख्नका निमित्त आग्रह गर्यौँ । हाम्रो अनुरोधलाई सबै स्रष्टाहरूले सहर्ष स्विकार गरेर आफ्ना सिर्जना उपलब्ध गराइदिनु भयो । हामी सबै प्रति हार्दिक आभार सहित कृतज्ञता व्यक्त गर्दछौँ ।
भनिन्छ “यत्रनार्यु्तु पुज्यन्ते रमन्ते तत्र देवता” जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवताहरू समेत प्रसन्न हुन्छन् । आमा सृष्टिकी जननी । आमा सबैको पहिलो गुरू र दिव्यतम आदर्शको प्रतिमुर्ति । उनै आमाहरूप्रति समर्पित रचनालाई आजको अङ्कमा प्रस्तुत गरेर सबै मातृशक्तिमा सम्मान अर्पण गर्दै छौँ । यस विशेष अङ्कमा विभिन्न व्यक्तित्वका रचनाले आमाप्रति सम्मान जाहेर गरेका छन् । सिर्जनाभित्र आमाका महिमा, देन, महत्व र भावनाहरू उदात्तभावले प्रस्तुत भएका छन् । आफ्ना अमुल्य रचनाहरू उपलब्ध गराएर सहयोग पुर्याउनु हुने सबै स्रष्टा प्रति फेरि पनि कृतज्ञता व्यक्तगर्दै आजको “काव्यमा आमा” विशेष, अङ्कमार्फत देवतुल्य मातृशक्तिमा नमन गर्दै सबै आमाहरूमा शुभकामना व्यक्त गर्दछौं ।


सम्पादक एवं अक्षरङ्ग परिवार