• २०८३ श्रावण १३, बुधबार

अमेरिकामा २१३औँ भानु जयन्ती तथा १०३औँ धर्मराज थापा जयन्ती भव्य रूपमा सम्पन्न

अमेरिका ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाअन्तर्गत नेपाली भाषा, साहित्य समितिको आयोजनामा २०८३ साउन १० गते (जुलाई २५, २०२६) जुम प्रविधिमार्फत २१३औँ भानु जयन्ती तथा १०३औँ धर्मराज थापा जयन्ती भव्य रूपमा सम्पन्न भएको छ । नेपाली भाषा, साहित्य समितिका सभापति तथा वरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा प्रमुख अतिथि तथा कवि मदनराज थापा विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । प्रमुख अतिथि ज्ञानु राणा तथा अतिथि मदनराज थापा स्वर्गीय जनकविकेशरी धर्मराज थापाका सुपुत्री र सुपुत्र हुनुहुन्छ भने मदनराज थापा जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठानका अध्यक्षसमेत हुनुहुन्छ ।

कार्यक्रमको प्रारम्भमा नेपाली भाषा, साहित्य समितिका उपाध्यक्ष तथा कवि कृष्ण गिरीले उपस्थित सम्पूर्ण अतिथि तथा साहित्यप्रेमीहरूलाई स्वागत गर्दै प्रमुख अतिथि ज्ञानु राणाको संक्षिप्त परिचय प्रस्तुत गर्नुभयो । उहाँले यस अवसरमा आफ्नै मौलिक कविता पनि वाचन गर्नुभएको थियो । कार्यक्रममा अमेरिकाका विभिन्न राज्यका नेपाली साहित्यकारहरूका साथै नेपालबाट समेत वरिष्ठ स्रष्टाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। रचना वाचन गर्ने सबै साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्य तथा जनकविकेशरी धर्मराज थापाको बहुआयामिक व्यक्तित्व, नेपाली भाषा, साहित्य, गीत, सङ्गीत तथा लोकसंस्कृतिमा उहाँहरूले पु¥याउनुभएको अतुलनीय योगदानको स्मरण गर्दै आ–आफ्ना सिर्जना प्रस्तुत गर्नुभयो ।

प्रमुख अतिथि ज्ञानु राणाले आदिकवि भानुभक्त आचार्य र जनकविकेशरी धर्मराज थापाप्रति श्रद्धाञ्जली अर्पण गर्दै आफ्नो सांगीतिक यात्राका विविध अनुभवहरू साझा गर्नुभयो। ७७ वर्षको उमेरमा पनि उहाँले आफ्नो पहिलो चर्चित गीतदेखि पछिल्ला लोकप्रिय गीतहरूसँगै भानुभक्तका कृतिमा आधारित गीतहरू आफ्नै कोकिलकण्ठी स्वरमा प्रस्तुत गर्दा सम्पूर्ण भर्चुअल सभाकक्ष भावविभोर र उत्साहपूर्ण बनेको थियो । अतिथि कवि मदनराज थापाले आदिकवि भानुभक्त आचार्य तथा आफ्ना पिता जनकविकेशरी धर्मराज थापाको नेपाली भाषा, साहित्य, गीत, सङ्गीत र लोकसंस्कृतिमा रहेको ऐतिहासिक योगदानको चर्चा गर्नुभयो। साथै उहाँले आफ्ना माता–पिताको नाममा स्थापित जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठानले नेपाली भाषा, साहित्य, लोकगीत, लोकसंस्कृति तथा अनुसन्धानको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा सञ्चालन गरिरहेका विविध गतिविधिहरूबारे जानकारी गराउनुभयो ।

कार्यक्रममा गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् अमेरिकाका उपाध्यक्ष तथा भाषा–साहित्य समितिका विभागीय प्रमुख डा. गङ्गाधर आचार्य, प्राध्यापक रञ्जुश्री पराजुली, तथा साहित्यकारहरू तीर्थराज अधिकारी, विष्णा बिरही, डा. शम्भु कँडेल, जीवन निरौला, डमरु पौडेल, गायत्री तिमिल्सिना, पिपलमणि सिग्देल, डा. अमरबहादुर कार्की, डा. निरज श्रेष्ठ, डा. पवित्रा अर्याल, रामचन्द्र अधिकारी, डा. प्रशान्त घिमिरे, डा. छत्रपति दाहाल, सीता अर्याल, डा. रमेश पोख्रेल र डा. शरद पराशर मरहट्टालगायतका स्रष्टाहरूले कविता, गीत तथा विविध साहित्यिक सिर्जनाहरू प्रस्तुत गर्नुभयो । कार्यक्रम सञ्चालन साहित्यकार प्रभा पोख्रेलले गर्नुभएको थियो। उहाँले कार्यक्रमका विभिन्न चरणमा आदिकवि भानुभक्त आचार्य तथा जनकविकेशरी धर्मराज थापाका चर्चित सिर्जनाहरू सुमधुर स्वरमा प्रस्तुत गर्नुका साथै अतिथि कवि मदनराज थापाको संक्षिप्त परिचयसमेत दिनुभएको थियो ।

सभापतिको आसनबाट बोल्दै वरिष्ठ साहित्यकार राजेन्द्रप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य र जनकविकेशरी धर्मराज थापाले नेपाली भाषा, साहित्य, गीत, सङ्गीत तथा राष्ट्रिय संस्कृतिको समृद्धिमा पु¥याउनुभएको अनुपम योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले धर्मराज–सावित्री प्रतिष्ठानका अध्यक्ष मदनराज थापाको मन्तव्यपछि एक गम्भीर विषयप्रति राज्यको ध्यानाकर्षण गराउँदै भन्नुभयो—आफ्नो सम्पूर्ण जीवन नेपाली भाषा, साहित्य, गीत, सङ्गीत, संस्कृति तथा अनुसन्धानको उन्नयनमा समर्पित गरेका जनकविकेशरी धर्मराज थापाको नाममा स्थापित प्रतिष्ठान सञ्चालन गर्न उहाँका सन्तानहरूले आफ्नै पारिवारिक स्रोत–साधन खर्च गर्नुपर्ने अवस्था दुःखद् र चिन्ताजनक रहेको छ । यस्ता राष्ट्रिय विभूति र स्रष्टाहरूको नाममा स्थापित संस्थाहरूलाई राज्यले पर्याप्त आर्थिक सहयोग तथा संस्थागत संरक्षण प्रदान गर्नुपर्ने उहाँको धारणा थियो । अन्त्यमा सभापति राजेन्द्रप्रसाद अर्यालले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण अतिथि, साहित्यकार, सहभागी तथा आयोजकप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नुभयो ।