• २०८२ माघ २६, सोमबार

कवितासङ्ग्रह ‘जिजीविषाको लय’ तथा गजल सङ्ग्रह ‘भँगेरी’ विमोचन

अर्घाखाँची ।

लुम्बिनी वाङ्मय प्रतिष्ठान जिल्ला कार्य समिति अर्घाखाँचीको आयोजनामा साहित्यकार नारायण खनाल ‘नीलम’ को कविता सङ्ग्रह ‘जिजीविषाको लय’ तथा गजलकार डिल्लीराज घिमिरे ‘सङ्गम’ को गजल सङ्ग्रह ‘भँगेरी’ को संयुक्त विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष विष्णु प्रसाद वस्यालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव तीर्थराज आचार्यले गर्नुभएको थियो भने उपस्थित साहित्यकार तथा अतिथिहरूलाई उपाध्यक्ष कमल पोखरेलले स्वागत गर्नुभएको थियो ।

कविता सङ्ग्रह ‘जिजीविषाको लय’माथि प्रतिष्ठानका पूर्व अध्यक्ष तथा केन्द्रीय सल्लाहकार माधवराज चुँदाली र ध्रुवबहादुर खत्रीले समीक्षात्मक टिप्पणी प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, गजल सङ्ग्रह ‘भँगेरी’ माथि कल्पना मरासिनी र विष्णु प्रसाद वस्यालले टिप्पणी गर्दै कृतिको साहित्यिक महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा द्वय नीलम र सङ्गमका अतिरिक्त विष्णु प्रसाद वस्याल, कल्पना मरासिनी, कमल पोखरेल, तीर्थराज आचार्य, बुद्धिराम गैरे, इश्वरा पराजुलीलगायतका साहित्यकारहरूले आ–आफ्ना रचना वाचन गरी कार्यक्रमलाई साहित्यिक ऊचाइ प्रदान गर्नुभएको थियो ।

उक्त कार्यक्रममा छुट्टै अतिथि निर्धारण नगरी उपस्थित सबै महानुभावलाई समान सम्मान प्रदान गर्दै सामूहिक रूपमा कृतिहरूको विमोचन गरिएको थियो। उल्लेखनीय साहित्यिक उपस्थितिसहित सम्पन्न कार्यक्रमले अर्घाखाँचीको साहित्यिक गतिविधिलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूको धारणा रहेको थियो ।