• २०८२ माघ २९, बिहीबार

खगराज बरालद्वारा कथासङ्ग्रह ‘न्याउली’ प्रकाशित

काठमाडौँ ।

कथाकार खगराज बरालद्वारा लिखित बाल–मैत्री कथा सङ्ग्रह ‘न्याउली’ प्रकाशित भएको छ। शिखा बुक्स प्रा.लि.ले प्रकाशन गरी बजारमा ल्याएको यस कृतिमा चराचुरुङ्गी तथा ग्रामीण जीवनमा आधारित जानकारीमूलक कथाहरू समेटिएका छन् ।

सङ्ग्रहमा काग, काफल पाक्यो, गौथली, तोप, न्याउली, बीउ कुह्यो र भँगेरासम्बन्धी कथाहरू समावेश छन्। यी कथाहरू काल्पनिक नभई सम्बन्धित चराहरूको विशेषता, बानीव्यहोरा, खानपान र बासस्थानबारे तथ्यपरक जानकारीलाई कथात्मक शैलीमा प्रस्तुत गरिएको छ। विशेषतः ८ देखि १४ वर्ष उमेर समूहका बालबालिकाका लागि उपयोगी भए पनि वयस्क पाठकका लागि पनि कृति जानकारीमूलक रहेको छ ।

गाउँले परिवेशमा आधारित यी कथाहरू हजुरबा–हजुरआमा र नाति–नातिनीबीचको संवादका माध्यमबाट अगाडि बढाइएका छन्। लेखकले कथा लेखनपूर्व सम्बन्धित चराहरूका विषयमा अध्ययन–अनुसन्धान गर्नुका साथै विज्ञहरूसँग छलफल र उपलब्ध सामग्रीको अध्ययन गरेको बताइएको छ। यसले चरासम्बन्धी जानकारी बढाउने र विद्यमान भ्रम हटाउने अपेक्षा गरिएको छ ।

यसैगरी सङ्ग्रहमा कटुवाल, मालेगोरु र वादविवाद शीर्षकका गैर–चरासम्बन्धी तीन कथा पनि समावेश छन्, जसमा गाउँले जीवन र पुस्तान्तरणको ज्ञानलाई संवादात्मक ढङ्गले प्रस्तुत गरिएको छ ।

कृतिबारे टिप्पणी गर्दै चराविद् डा. हेमसागर बरालले यस सङ्ग्रहले बाल्यकालका चरासँग जोडिएका स्मृतिहरू ताजा गराउनुका साथै लोपोन्मुख सांस्कृतिक र सामाजिक मूल्यहरूलाई जीवन्त बनाउने प्रयास गरेको उल्लेख गर्नुभएको छ। त्यस्तै, संयुक्त राज्य अमेरिकास्थित नर्थ डाकोटा स्टेट युनिभर्सिटीमा प्राध्यापनरत चराविद् डा. अनुज घिमिरेले कथाहरूले विद्यार्थीहरूमा चराचुरुङ्गी र प्रकृतिप्रति चासो र संरक्षण चेतना जगाउने विश्वास व्यक्त गर्नुभएको छ ।