समाचार
पाल्पा ।
आरबी निश्चलको ‘ब्रह्माण्डको अन्त्य’ नामक कविता संग्रहको विमोचन गरिएको छ। त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, नेपाली विभागको आयोजनामा आइतबार तानसेनमा निश्चलको कविता सङ्ग्रह विमोचन गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाका क्याम्पस प्रमुख डा. टङ्कप्रसाद पन्थले कृतिको समीक्षा गरेका थिए। डा. पन्थले कवि निश्चलको लेखनमा नेपाली कविताको समकालीन धारामा चर्चित मानवतावाद, जीवनबोध, अस्तित्ववादी चेतना र सीमान्तकृतहरूका मर्मलाई समेटिएको बताए।
समीक्षक प्रतिभा पौडेलले कविताका तत्त्वका आधारमा निश्चलको कविता संग्रहमाथि आफ्नो धारणा राखे। उनले कृतिको आवरण, कविताको संरचना, कविताको भाव पक्ष र कला पक्षलाई केलाएका थिए । साहित्यकार प्रेम खरालले कवि निश्चलका कवितामा अस्तित्ववादी चेतना केन्द्रबिन्दु झल्किएको उल्लेख गरे। जनप्रतिनिधि तथा सञ्चारकर्मी राजेशकुमार अर्यालले आरबी निश्चल सामान्य सिर्जनाबाट उठेर राष्ट्रिय स्तरमा चर्चित बनेको जिकिर गरे।
लेखक निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डो–याएको बताए। विमोचन कार्यक्रम साहित्यकार तथा समालोचक डा. शंकरप्रसाद गैरेको स्वागत, त्रिवक्या पाल्पा नेपाली विभागका सदस्य चतुर्भुज नेपालको संचालन र विभागकै प्रमुख महेन्द्र पन्थीको अध्यक्षतामा भएको थियो ।
