• २०८२ माघ १६, शुक्रबार

अन्जान शाक्यको ‘मेरो गीत भित्र’ बजारमा

काठमाडौँ ।

राष्ट्रिय सभाका सांसद डाक्टर अन्जान शाक्यको म्युजिक भिडियो ‘मेरो गीत भित्र’ बजारमा आएको छ । ‘रोज’ ‘बहार’ ‘श्रष्द्रापुष्प’, ‘अन्जानपथ’ जस्ता एकल एल्बम र अन्य दजर्न बढी कलेक्सन एल्बममा समेत गीत गाएकी शाक्यले आज भन्दा करीब २२ वर्ष अघि ‘शिरीष’ एल्बम निकालेकी थिइन । त्यसपछि भने विद्यावारिधिको तयारी र व्यवसायिक काममा बढी व्यस्त बनेपछि उनी गीत÷संगितको यात्राबाट मोडिएकी थिइन । करिब २२ वर्षको अन्तरालमा फेरि ‘मेरो गीत भित्र’ म्युजिक भिडियो लिएर शाक्य गीत÷संगितको क्षेत्रमा फर्किएकी हुन् ।

‘इजरालयलका लागि नेपाली राजदूतको जिम्मेवारीबाट फर्किएपछि नै मलाई गजल गाउने रहर जागेको थियो । मैले त्यसका लागि मनपर्ने गजलका शब्दहरु खोजेँ तर भनेजस्तो भैरहेको थिएन,’ उनले पुनः गीत÷संगितको क्षेत्रमा फर्किने योजनाबारे भनिन्, ‘मेरो श्रीमान (डाक्टर अजयक्रान्ति) मात्रै होइन उहाँको परिवार नै गीत÷संगित र सहित्यप्रति बढी रुचि राख्ने परिवार हो । दाइ (श्रीमानको दाइ) नेपाल टेलिकमबाट अवकाश लिनु भएका इञ्जिनियर सञ्जय शाक्य पनि गीत÷संगित भनेपछि हुरुक्कै हुनुहुन्थ्यो । म पनि उहाँलाई शब्दहरु कोर्न उत्साह भरिरहन्थे । उहाँलाई राम्रो शब्द कोर्नुभयो भने मलाई तपाईंका शब्दमा संगित भर्ने मात्रै होइन गीत पनि गाउने रहर छ भने उहाँ थप उत्साहित भएर मेहनतका साथ गीतका शब्द कोर्न थाल्नुभयो ।’

पटकपटकको प्रयासपछि उनले तयार पारेको शब्दले तानेपछि ‘मेरो गीत भित्र कुन शब्द राखौँ, किन तिमी छदैँ अरुलाई सोधौँ’ गीत रेकर्ड गर्ने हुटहुटी जागेको र म्युजिक भिडियो निकाल्न सफल भएको शाक्यले बताइन । ‘शब्दहरु मन परेपछि यी शब्दमा आफैँले संगीत भर्ने रहर जाग्यो र मैले दुई खालको संगीत राखेँ अनि सबै भन्दा पहिला श्रीमानलाई सुनाएँ । त्यसपछि दाई, परिवार, आफन्त र साथीभाईहरुलाई सुनाएँ । उहाँहरु सबैले रुचाएको संगीत फाइनल भयो,’ उनले भनिन्, ‘मेरो र दाइको संगीतमा हरिशरण सायमीले ‘म्युजिक एरेन्ज’ गर्नुभयो र अझ कर्णप्रिय बनाइदिनुभयो । गजल शैलीको संगीत भएपछि मैले अलिक शात्रीय संगीतको रङ भर्न खोजे त्यसले अझ गीत राम्रो भयो भन्ने लागेको छ ।’

कलाकार सरोज खनाल र पूर्व मिस नेपाल उषा खड्गीको अभियनय रहेको यो गीतमा डाक्टर शाक्यको स्वर रहेको छ भने संगीत डाक्टर अन्जान र इञ्जिनियर सञ्जयको छ । शब्द सञ्जय शाक्यका रहेका छन् भने देवकुमार श्रेष्ठले निर्देशन गरेका छन् । ‘बिहानीको शीत रश्मीले झार्दै उषाको लाली घरभित्र छिर्यो, तिमीलाई देख्दा मन यो रमाइ मन भित्रभित्रै तिमीलाई पुकार्यो’ जस्ता शब्दहरु सुन्दा प्रेम गीत जस्तो लाग्नसक्छ । तर, शाक्य भने म्युजिक भिडियोमा प्रेमि–प्रमिकाबिचको प्रेमलाई भन्दा आफ्नो भावना व्यक्त गर्न मनमिल्ने र नजिकको मान्छे चाहिन्छ भन्ने सन्देश दिन खोजेको बताइन ।

‘धेरैलाई यो म्युजिक भिडियोमा प्रेम गीतले स्थान पाएको जस्तो लाग्न सक्छ,’ उनले भनिन, ‘तर, त्यस्तो होइन आफूसँग जो नजिक हुन्छ उसैँलाई कुरा सुनाउने चाहना हामी सबैलाई हुन्छ । आफ्ना, खुशी, पीडा, उत्साह सबै कुरा नजिकको मान्छे हुँदाहुँदै अरुलाई किन सोध्नु भन्ने हुन्छ । तर, नजिकको मान्छेले कुरा नसुनिदिदा हामी सबैको मन दुख्ने, पीडा हुने हुन्छ । मलाई यो गीतमा सबै भन्दा पहिला नजिकको मान्छेलाई सूचना दिने मन हुन्छ भन्ने शब्दले बढी छोएपछि गीत रेकर्ड गर्न तयार भएकी हुँ ।’ एक वर्ष अघि गीत रेकर्ड गरे पनि केही समय अघि मात्रै काठमाडौं र ललितपुरमा छायाँकंन गरिएको यो म्युजिक भिडियोलाई सुरुमै धेरैले मन पराएको भन्दै शाक्यले खुशी व्यक्त गरिन ।