• २०८२ पुष २५, शुक्रबार

भुवन लोहनीको ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक

काठमाडौं ।

अमेरिकालाई कार्यथलो बनाउँदै आएका कलाकार भुवन लोहनीले नयाँ म्यूजिक भिडियो नेपाली बजारमा ल्याएका छन् । गीत संगीतमा रमाउने लोहनी फरक पेशा र काममा अमेरिकामा रहेपनि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील छन् । उनै लोहनीले आफ्नो छोराको पाँचौ जन्मदिनको अवसर पारेर नयाँ नयाँ म्युजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ सार्वजनिक गरेका छन् । आफ्नै शब्द रहेको लोहनीको गीतमा दीपक शर्माले संगीत संयोजन गरेका छन् । चर्चित गायक राजेश पायल राईको स्वरमा सजिएको छ ।

यो म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन् । भिडियोमा भुवन लोहनी र अर्बिशा थापाको अभिनय छ । अर्बिशा अभिनित नयाँ चलचित्र छायांकन सकेर चाँडै प्रदर्शनमा आउँदैछ । कृष्णबहादुर थापाको कन्सेप्टमा छायांकन गरिएको यो भिडियोमा थापाको गृह जिल्ला लमजुङको पर्यटकीय गतिविधिलाई उजागर गर्न खोजिएको छ ।
थापाले आफ्नो जन्मभूमिको प्रचार र प्रवद्र्धनकै लागि लमजुङको घलेगाउँका सुन्दर दृश्यलाई कैद गरिएको बताएका छन् । आन्तरिक पर्यटनको आकर्षक केन्द्र घलेगाउँका दृश्यलाई म्युजिक भिडियोमार्फत थप प्रचार गर्न खोजिएको उनले बताए ।

भिडियोलाई नहकुल खड्काले सम्पादन गरेका छन् । यो म्यूजिक भिडियोका निर्माता सबिता भुवन जीएल र निशान लोहनी हुन् । विदेशमा रहेर पनि नेपाली गीत–संगीतप्रति निरन्तर सक्रिय रहँदै आएका लोहनीको यो प्रस्तुतीलाई दर्शक स्रोताले मन पराउने विश्वास लिइएको छ । विगत १० वर्षदेखि अमेरिकाको केन्टकी राज्यस्थित लेक्सिङ्टन शहरमा परिवारसहित बस्दै आएका लोहनीले नेपाली गीत–संगीतप्रतिको मोहलाई बेला बेला उजागर गर्ने गर्छन् । संगीत प्रतिको आफ्नो निरन्तर प्रेमलाई अघि बढाउँने क्रममा उनले नयाँ म्युजिक भिडियो ‘जुनसँग के दाँजौँ र’ लिएर आएका छन् ।

नेपालमै रहँदादेखि नै नेपाली गीत–संगीतमा गहिरो रुचि राख्दै आएका लोहनी २०१७ मा अमेरिका लागे । अमेरिकामा फरक परिबेश र पेशामा आवद्ध भए पनि उनी नेपाली गीत संगीतलाई माया गर्दै नयाँ सिर्जना पस्कने गर्दछन् । अमेरिकामै निर्देशक सुमन दाहालसँग भेट भएपछि लोहनीले म्युजिक भिडियोमार्फत डेब्यू गरेको बताएका छन् । त्यसयता दाहाल र लोहनीबीचको सहकार्य निरन्तर छ। उनीहरूबीच म्युजिक भिडियो, लघु चलचित्र तथा विज्ञापनलगायत विभिन्न सिर्जनात्मक परियोजनामा सहकार्य हुँदै आएको छ ।

हालसालै नेपाल बसाइँका क्रममा लोहनीले अर्को एक म्युजिक भिडियोको छायांकन पूरा गरी अमेरिका फर्किएका छन् । उनको यो आठौँ म्युजिक भिडियो हो। यससँगै लोहनीले आफैं गीत लेखनसमेत गर्दै आएका छन् । नेपाली सांगीतिक क्षेत्रमा विदेशबाटै सक्रिय रहँदै योगदान पु¥याउन सक्रिय उनले नेपाली संगीतको अगाध माया रहेको बताए ।