• २०८० मंसिर १९ मङ्गलबार

आँट चाहिन्छ

सुनील अधिकारी

सुनील अधिकारी

खुसीको एकपल काफी दुःखको भारी साट्नलाई
एक छनक किरण भए पुग्छ बादल फाट्नलाई
जति नै सुकै तेज धार किन नहोस् त्यो छुरीको
दियो नै काम आउँछ आखिर अँध्यारो काट्नलाई !

मस्जिद नहोस्, मन्दिर नहोस्; खुदा, भगवान नहोस्
सब समान होस्, कोही गरिब, कोही धनवान नहोस्
एउटै रेखा सबको हत्केलामा होस् मेहनतको
कोही गरिब मजदुर, कोही सामन्ती बलवान नहोस् !

धुम्म दिन पनि खुल्छ आगमनसँगै बरसातको
जसरी रातले सङ्केत दिन्छ त्यो सुनौलो प्रभातको
निराश नहुनु कदापि जीवनमा दुःख पर्यो भनेर
अन्त्य आफैँमा पहिलो कदम हो नयाँ सुरूवातको !

विगतका अनुभवमा टेकेर अर्तिको कुरा गर्छु
आवाद बस्तीको मात्रै हैन, पर्तीको कुरा गर्छु
आकाशको तारा टिप्ने, जून झार्ने मान्छे म होइन
माटोमा रमाउँछु त्यसैले त धर्तीको कुरा गर्छु !

तिमीले अनादर गर्दैमा मर्ने मेरो आस्था होइन
खण्डहरजस्तै भत्किएर झर्ने मेरो आस्था होइन
मस्जिदमा उम्रिएको फूल मन्दिरमा चढोस् बरू
फूलको भाग्यमा डाहा गर्ने मेरो आस्था होइन !

खुकुरीको औकात भुलाउने तेज धारिलो छुरा होस्
सम्झना बन हरेक मनको चारैतिर तिम्रै कुरा होस्
कमी यस्तो बन्नु तिमी, विकल्प नहोस् जसको
खाँचो यस्तो नबन्नु कसैको, जुन सजिलै पूरा होस् !

हुरीमा दियो जियाउन आँट चाहिन्छ
हिलोमा डुङ्गा खियाउन आँट चाहिन्छ
अरूको दोष देख्न त सजिलो छ यहाँ
आफूभित्र चियाउन आँट चाहिन्छ !

गीतको कुन शब्द मनपर्छ, धुनलाई सोध्नुजस्तै हो
रातको कुन प्रहर राम्रो, त्यो जूनलाई सोध्नुजस्तै हो
यहाँ सबैसबै मबाट रिझिएकाहरू मात्रै कहाँ छन् र
जोजो खुसी छन् मसँग, उनलाई सोध्नुजस्तै हो !

खारिएपछि मिसावटमा सुन मात्रै बाँकी रहला
विरहको गीतपछि मीठो धुन मात्रै बाँकी रहला
म त चाहन्छु तिमी मेरा अवगुणहरू गन्दै जाऊ
खारिएर मभित्र एकदिन गुन मात्रै बाँकी रहला !


(अधिकारी चर्चित साहित्यकार हुन् ।)
[email protected]