• २०८२ पुष ९, बुधबार

छन्दनायक माधव वियोगीलाई कविशिरोमणि लेखनाथ पुरस्कार

पोखरा ।

पोखरेली स्रष्टा तथा छन्दनायक माधव वियोगीलाई २०८२ सालको कविशिरोमणि लेखनाथ पुरस्कार प्रदान गरिने भएको छ । लेखनाथ पुस्तकालय, चन्द्रगढी झापाद्वारा सञ्चालित उक्त पुरस्कार वियोगीले लामो समयदेखि छन्द बचाऔँ अभियान र महाकाव्य लेखन अभियानमा संलग्न रही छन्द र महाकाव्यको पुनर्जागरणमा उल्लेख्य योगदान पु¥याएको भन्दै प्रदान गर्न लागिएको हो ।

लेखनाथ पुस्तकालयको हालै बसेको कार्यसमिति बैठकले वियोगीलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको पुस्तकालयका सचिव हरिकिशोर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार हरेक वर्ष राष्ट्रियस्तरमा एक जना विशिष्ट साहित्य साधकलाई प्रदान गरिँदै आएको यस पुरस्कारको राशि ४१ हजार रुपैयाँ रहेको छ । यसअघि कविशिरोमणि लेखनाथ पुरस्कार मोक्ष खतिवडा (झापा), भवानी खतिवडा (काठमाडौं) र भावना खनाल (पाल्पा) ले प्राप्त गरिसकेका छन् । पुरस्कारसम्बन्धी जानकारी पुस्तकालयसँग आबद्ध प्रा. होम सुवेदीले दिनुभएको हो ।

छन्द दिवसका प्रणेतासमेत रहेको पुरस्कृत व्यक्तित्व माधव वियोगी जनप्रिय बहुमुखी क्याम्पस, पोखराका पूर्व प्रमुख हो । विभिन्न शैक्षिक संस्थामा लामो समय सेवा गरेपछि उहाँ हाल सेवानिवृत्त जीवन बिताइरहनुभएको छ । छन्द विश्वविद्यालय स्थापनाका लागि सक्रिय वियोगीका हालसम्म १० महाकाव्य, ८ खण्डकाव्य, २ कवितासङ्ग्रहसहित गीत, गजल, मुक्तक, निबन्ध, उपन्यास, कथा र समालोचना विधामा ४२ कृति प्रकाशित छन् । उक्त पुरस्कार यही पुस २६ गते लेखनाथ पुस्तकालयको स्थापना दिवस तथा लेखनाथ जयन्तीको अवसरमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिनेछ ।