जब हवाइजहाजका पाङ्राहरुले
विदा मागे मातृभुमिसंग
पग्लियो यो जलेको मन बाफसरि
आँखाबाट बर्षे आसुका धारा
सकिन रोक्न मुटुको कम्पन
भुमरीले बाँधेर राख्यो मानस्पटलमा
बिगतका मिठा यादहरू !
फर्किन मन लाग्यो खोलेर जाहाजको द्वार
तर छैन मसँग पखेटाहरु
पुकार गर्छु ईश्वरलाई बारम्बार
लिपिनपाउँ मातृभूमिको माटोमा जन्मान्तर
सेवा गर्न पाउ
आफ्नो गाउँ बेसिको सधैभरि
जब उड्यो जहाज आकासमा
लाग्यो आफ्नो शरीर आफैलाइ भारी
तानि रह्यो मातृभुमिको चुम्बकले इन्द्रियलाई
बगिरहे बगिरहे बिरहका आँसुहरु !
परदेशीने आँखाहरुमा निरन्तर
कोहीका मुटु टुक्रिएका थिए
विछोडको आलो घाउले
दुखेका थिए आत्मा कसैका
आफ्ना बृद्ध बाबु आमाको बियोगको अलापमा
कुनै आमाको रोदन थियो
दुधे बालकलाई बनाउँदै मुटुबाट अलग
जहाजको तकियामा बगिरहेथे कसैका आँखा
थिचेर ढुङ्गाले मुटु
गाँस र बासको निम्ती ।
जहाज आकासमा कम्पन गर्दथ्यो
लाग्दथ्यो यो नै अन्तिम यात्रा हो
फर्किन खोज्थे यी आँखाहरु
अक्सिजन मास्क र लाइफ ज्याकेट तिर
तर यो भयमात्र कल्पना रहेछ
बिछोडिनुको पीडा रहेछ
मसंग संगै जहाजका बिस्मातहरु रहेछन्
परदेसीनुको पीडा रहेछ
घर आँगन छोडेर टाढा टाढा हुनुको कथा रहेछ ।
सुमन भट्टराई, लण्डन