समाचार
![](https://aksharang.com/wp-content/uploads/2024/01/30-JANUARY-2024-02.jpg)
स्वाभिमानलाई बन्दकी राखेर
मालिकको जुठेल्नो
रछ्यानमा मौलाउँदै गएको छ
एउटा दास प्रवृत्तिको मान्छे !
रगतका टाटाहरूलाई पनि
होलीको रङजस्तै रातो देख्छ,
अँध्यारोलाई नि घामजत्तिकै
उज्यालो देख्छ,
मालिककै इसारामा
नाचिरहेको छ,
एउटा कठपुतली मान्छे !
निकृष्ट विचारहरू मगजभित्र कोचेर
कुण्ठित मानसिकतालाई
कुत्सित भावनालाई
आदर्शका सुनौला फ्रेमहरूले
भित्ताभरि सजाएर
उत्कृष्टताको पगरी भिरेर
आत्मरतिमा रमाउँदैछ
एउटा खोक्रो ढोँगी मान्छे !
अहंको एउटा गरुङ्गो भारी बोकेर
संवेदनाहीन बगरको ढुङ्गाहरूजस्तै
विवेकशून्य भएर
ढङ्गरङ्ग निदाएको छ,
एउटा कुम्भकर्ण मान्छे ।
(हेटौडा निवासी पौडेल विगत तीन दशकदेखि कविताका विविध विधामा कलम चलाउँदै आएका स्रष्टा हुन् )
[email protected]