• २०८१ फागुन ६ मङ्गलबार

कवि भैरव ढकालकृत कवितासङ्ग्रह “अन्तरमनको झङ्कार” लोकार्पण

सिसार साहित्य प्रतिष्ठानका अध्यक्ष तथा पद्मकन्या बहुमुखी क्याम्पसका उप प्राध्यापक एवं समालोचक ज्ञाननिष्ठ ज्ञवालीको सभापतित्वमा तथा प्रा. डा. खेम कोइराला “बन्धु”को प्रमुख आतिथ्यतामा आयोजिच एक समारोहबीच कवि भैरव ढकालकृत कवितासङ्ग्रह ‘अन्तरमनको झङ्कार’ लोकार्पण भएको हो । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली विशिष्ट अतिथि तथा लीलाध्वज थापा प्रतिष्ठानका अध्यक्ष कवि तथा साहित्यकार विजयध्वज थापा, साहित्यकार हिरण्यकुमारी पाठक, प्रा. डा. गोविन्दमान सिंह कार्की, शिक्षासेवी यशोदा भट्टराई पौडेल, अन्तरमनको झङ्कार कविता कृतिका सम्पादक तथा कवि कृष्ण बाउसे, साहित्यकार तथा सञ्चारकर्मीहरु राजनप्रसाद न्यौपाने, रेणुका भट्टराई लगायतको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो ।

उक्त कार्यक्रममा ‘अन्तरमनको झङ्कार’ कविताकृतिका सम्पादक तथा कवि कृष्ण बाउसेद्वारा सहभागीहरूलाई स्वागत मन्तव्य राखिएको थियो । कार्यक्रममा सर्जक भैरव ढकालले समाजको वास्तविक यथार्थतालाई अतीतको झल्कोको स्मरण गरी मनका तरङ्गित भवनालाई सिर्जनाका माध्यमबाट कृतिका रूमा प्रस्तुत गरेको हुनाले पाठकहरुको उचित प्रतिक्रिया नै आफ्नो मार्ग निर्देशनको आधार हुने विचार व्यक्त गर्दै रचना वाचन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. ‘बन्धु’ ले समाज र साहित्य एकै सिक्काका दुई पाटो भएको बताउँदै समान भावना र असल कर्मका साथ अघि बढ्दा समुन्नत समाजको निर्माणमा प्रमुख भूमिका निर्वाह हुने विचार व्यक्त गरे ।विशिष्ट अतिथि लेकालीले कवि, कलाकार, लेखक, साहित्यकारले देश, काल, परिस्थितिका बारेमा गम्भीर हुनुपर्ने बताउँदै देशमा दैनिकरूपमा देखिने गाइजात्राले देश जर्जर अवस्थामा पुगेकाले साहित्यकारहरूले जीवन र जगत्का विषयमा कलम चलाउनुपर्ने आवश्यकता दर्शाएका थिए ।

कार्यक्रममा शिक्षासेवी यशोदा भट्टराई पौडेलले सर्जक भैरव ढकालका रचना वाचन गर्दै तेह्रथुम, धरान, विराटनगर हुँदै अमेरिकाको मेरील्यान्डसम्मको यात्रा तय गरेर पनि आफ्ना कृति विमोचनका लागि मातृभूमि नै छनौट गर्नु कविको देशको माटोप्रतिको प्रगाढ मायाको उपज रहेको बताताइन् । कार्यक्रमका सभापति तथा पद्मकन्या क्याम्पसका उपप्राध्यापक एवं समालोचक ज्ञवालीले कवि ढकालको पहिलो कविता छापिएको करिव ५० वर्षपछि कवितासङ्ग्रहको रूपमा पाठकहरूका बीच पस्कनु सिर्जनशीलताको जीवन्तता रहेको बताउंदै व्यक्तिगत रुपमा साहित्यिक उन्नयनको सफलताको कामना गरे ।

उक्त कार्यक्रममा कवि कमला महत, परीक्षा कोइराला सिग्देल, दृष्टि अधिकारी, जनार्दन अधिकारी ‘धड्कन’, विजयध्वज थापा, हेमा अधिकारी, राजनप्रसाद न्यौपाने, रेणुका भट्टराई, हिरण्यकुमारी पाठकलगायतले विमोचित कृतिबाट एकएक रचना वाचन गरेका थिए ।