English Poem

अस्ति एकतन्त्रीय शासन व्यवस्थाले
जनताको पिरमार्का बुझेन भनेर लडेका
हाम्रा हजुर बा र आमाको पुस्ता
हिँजो बहुदलिय व्यवस्थाले
सबै भुगोल र जातजातिको सवाल सम्वोधन गरेन भनेर
लडेका हाम्रा बा र आमाको पुस्ता
उत्कृष्ट व्यवस्थाको रूपमा स्थापित भएको
संघीय व्यवस्थाको प्रतिफल प्राप्तिमा लालायित हामी र हाम्रो पुस्ता
यी तीन व्यवस्था र पुस्तामा के फरक रहेको र भएको छ ?
मैले अझै बुझ्न सकेको छैन ।
यो बुझ्नलाई मैले कसलाई सोध्ने होला
मैले अझै बुझ्न सकेको छैन ।
व्यवस्था परिवर्तनले जनतामा के परिवर्तन ल्यायो
यो बुझ्नलाई मैले के बुझ्नु पर्ने हो ?
जनताको अवस्थामा के परिवर्तन आयो
यो बुझ्न मैले अव कुन शास्त्र पढ्नु पर्ने हो
बुझ्नै सकिन !!
मेरो बुझ्ने क्षमतामा कहीँ कतै खिया लागेर
भद्दा हुन थालेको त हैन भन्ने लागेर
जाँच गराउने प्रयोगशाला कहाँ होला भन्ने थाहा नै भएन
मैले बुझ पचाएर नबुझेको झै गरेको हुँदै होईन
यी सबै कुरा बुझ्ने मेरो लालच लोभी चाही हुँदै होईन ।।
दीपक श्रेष्ठ
धनगढीमाई नपा – ११, सिरहा