• २०८१ कातिर्क २१ बुधबार

प्रवासी नेपालीले कोलकातामा मनाए भानुजयन्ती

कोलकाता (भारत), साउन ।

भारतको कोलकातामा आदिकवि भानुभक्त आचार्यको २०१०औँ जन्मजयन्तीका अवसरमा यहाँका नेपालीभाषीले शनिबार विशेष कार्यक्रम आयोजना गरेका थिए ।

नेपाली जनकल्याण समितिको आयोजनामा पश्चिम बङ्गालको हावडास्थित शरत् सदनमा भएको कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राई प्रमुख अतिथि र पश्चिम बङ्गाल सरकारका सहकारीमन्त्री अरूप राय विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कुलपति राईले आफूले सानो हुँदा कथाका रूपमा सुनेको कोलकातामा भानुभक्तको यस प्रकारको महत्त्व र गतिविधि देखेर खुसी लागेको बताउनुभयो । उहाँले प्रज्ञा–प्रतिष्ठानले आगामी दिनमा यस्ता कार्यक्रममा सहकार्य विस्तार गरी नेपाली रहेका स्थानमा नेपालको साहित्यप्रतिको रुचिबारे समाजशास्त्रीय अध्ययनमा ध्यान दिने जनाउनुभयो ।

प्रदेशमन्त्री रायले भानुभक्तका नाममा हावडामा सडकमार्ग नामकरणको निर्णय भइसकेको र भानुभक्तको प्रतिमा निर्माणका लागि पनि सघाउन तयार रहेकोे जानकारी दिनुभयो । भानुभक्तको तस्बिरमा श्रद्धाञ्जली दिएर सुरु भएको कार्यक्रममा प्राज्ञपरिषद् सदस्य डा मधुसूदन गिरी, नेपाली महावाणिज्य दूतावासका उपमहावाणिज्यदूत कर्णप्रसाद तिमल्सिना, जनकल्याण समितिका प्रमुख सल्लाहकार धर्मराज बराल, प्राध्यापक डा सत्यप्रकाश तिवारी, प्रवासी नेपाली सङ्घ भारतका अध्यक्ष नारायणप्रसाद होमागाईँलगायतले आदिकविको व्यक्तित्व र कृतित्व देश–विदेशमा रहेका नेपालीमाझ फैलिएको र आदिकविका कारण नेपालीबीच साहित्यिक एकताको मार्ग बनेको उल्लेख गर्नुभएको थियो ।

सो अवसरमा साहित्यको योगदानका लागि कुलपति राईलाई समितिले अभिनन्दन गरेको थियोे भने समितिको प्रकाशन ‘बिहानी’को २४औँ अङ्कको विमोचन गरिएको थियोे । कविहरू धर्मराज बराल, मोहनकुमार सिंह, सञ्जीव गुरुङ, रामबहादुर कार्कीलगायतले भानुभक्तको रामायणसहित आफ्ना रचना वाचन गर्नुभएको थियोे । पछिल्लो समयमा बरालले नेपाली र कोलकाताका साहित्यकारबीच सेतुको कार्य गर्दै आउनुभएको छ ।

समितिका सभापति बद्रीविक्रम थापाले लामो समयदेखि यहाँ विभिन्न सेवा र व्यवसाय गर्दै आएका नेपालीभाषीहरूको सहयोग र समन्वय भानुभक्त जयन्ती र अन्य मानवीय सहयोगका कार्यक्रम हुँदै आएको जानकारी दिनुभयो । राष्ट्रिय विभूति भानुभक्तको जन्मदिन हरेक असार २९ गते परे पनि साताव्यापी जयन्ती मनाइन्छ ।