• २०८२ पुष २६, शनिबार

‘गुड बाई सुगर एडिक्सन’ पुस्तक विमोचन

धादिङ ।

पछिल्लो समय अस्पतालहरूमा मधुमेह (सुगर)का बिरामी बढ्दै गएको अवस्थामा धादिङमा ‘गुड बाई सुगर एडिक्सन’ नामक पुस्तक विमोचन गरिएको छ । धादिङ अस्पतालका निमित्र् निर्देशक डा. त्रिभुवनचन्द्र झाद्वारा लिखित ‘गुड बाई सुगर एडिक्सन: फ्री योर माइन्ड, हिल योर बडी’ पुस्तक धादिङ अस्पतालको ४०औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा विमोचन गरिएको हो । पुस्तकको विमोचन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गरेका हुन् ।

चिनीको अत्यधिक सेवनका कारण बढ्दै गएको मधुमेह, मोटोपन र मुटु रोगजस्ता दीर्घरोगप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले पुस्तक लेखिएको हो । पुस्तकमा चिनीप्रतिको लत कसरी विकास हुन्छ र त्यसले शारीरिक तथा मानसिक स्वास्थ्यमा दीर्घकालीन रूपमा पार्ने असरबारे वैज्ञानिक आधारसहित व्याख्या गरिएको छ । साथै, चिनीको अत्यधिक सेवनले मधुमेह, मोटोपन र मुटुसम्बन्धी समस्या निम्त्याउने जोखिमबारे पनि उल्लेख गरिएको छ ।

खानपान र जीवनशैली सुधार गर्न नसक्दा सुगरका बिरामी बढ्दै गएको उल्लेख गर्दै पुस्तकमा कस्तो खानपान र जीवनशैली अपनाउँदा सुगर नियन्त्रण गर्न सकिन्छ भन्ने विषय समेटिएको छ । सुगर रोगका लक्षण, सुगर बढेमा अपनाउनुपर्ने सावधानी तथा उपचार विधिबारे पनि पुस्तकमा जानकारी दिइएको छ । पुस्तक हरेक नागरिकका लागि उपयोगी रहेको उल्लेख गर्दै कार्यक्रममा सहभागी वक्ताहरूले लेखक डा। झाको प्रशंसा गरेका थिए ।

यसअघि आपतकालीन सेवामा कार्यरत चिकित्सक, नर्स तथा प्यारामेडिक्सका लागि उपयोगी ‘अल्टिमेट इमर्जेन्सी मेडिसिन’ पुस्तक लेख्नुभएका डा. झा जनरल प्राक्टिस तथा आपत्कालीन चिकित्सा (जीपीईएम) का विशेषज्ञ हुन् ।