• २०८१ बैशाख २३ आइतबार

दुप्चेश्वरमा साहित्यकारहरूको अन्तरक्रिया सम्पन्न

काठमाडौं ।

धार्मिक पर्यटन प्रवर्द्धनका क्षेत्रमा क्रियाशील संस्था दुप्चेश्वर साहित्य समाज, नुवाकोटले साहित्यकारहरूको एक टोलीलाई दुप्चेश्वर भ्रमण गराएको छ । ‘दुप्चेश्वर साहित्य र पर्यटनको साझा अभियान’ नाराकासाथ सक्रिय समाजको संयोजनमा त्यहाँको धार्मिक पर्यटन र विकासबारे लेखक साहित्यकारहरूसँग अन्तरक्रिया गरिएको हो । सोमबार समुन्द्रटारस्थित दुप्चेश्वर गाउँपालिका भवनमा सम्पन्न कार्यक्रममा पालिका अध्यक्ष शंकरबहादुर थापाले दुप्चेश्वर महादेवस्थानकासाथै यहाँको धार्मिक र पर्यटकीय विकासमा लेखक साहित्यकारहरूको सहयोगको अपेक्षा गरे ।

उनले यस क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय प्रचार प्रसारका लागि पालिकाले आफ्नोतर्फबाट काम गरिरहेको बताए । पालिका अध्यक्ष थापाले भने, “तपाईं लेखक साहित्यकारहरूको आगमनले यस क्षेत्रको प्रचार प्रसारमा विशेष योगदान मिलेको छ । हामी स्थानीय रूपमा प्रकृति संरक्षणका लागि पनि क्रियाशील छौँ । साथै नुवाकोटको पशुपतिका रूपमा रहेको दुप्चेश्वर महादेव मन्दिर क्षेत्र विश्व सम्पदा सूचीमा सुचिकृत हुने किसिमको रहेको जानकारी गराउँदछु ।”

गाउँपालिका उपाध्यक्ष माकुरी तामाङले आफूहरू दुप्चेश्वर क्षेत्रलाई प्रसिद्धिको शिखरमा पुर्याउन दत्तचित्त रहेको बताइन् । अन्तरक्रियाका क्रममा साहित्यकारहरू प्रतीक ढकाल, रामप्रसाद पन्त, किशोर पहाडी, डा. शैलेन्दुप्रकाश नेपाल, श्रीओम रोदन, युवराज नयाँघरे, वासुदेव गुरागाईं, तिलकप्रसाद लुइटेललगायतले बोलेका थिए । आइतबार दुप्चेश्वर महादेवको दर्शनसहित लेखनका माध्यमबाट पर्यटकीय प्रवर्द्धन हेतुका साथ ३० जना लेखक, साहित्यकार र पत्रकारहरूको समूह त्यहाँ पुगेको थियो ।