• २०८२ पुष ४, शुक्रबार

‘एउटा लेखकमा जन्मसिद्ध रुपमै प्रशस्त मात्रामा विद्रोही चेत रहेकै हुन्छ’

  रञ्जना निरौला 

  रञ्जना निरौला 

कवि तथा साहित्यकार जीवराज भट्टराई २०४६ देखि पत्रकारिता र साहित्य दुवैमा संलग्न हुनुहुन्छ ।  उहाँका  एउटा निवन्धसंग्रह , एउटा उपन्यास र एउटा कथासंग्रह प्रकाशित भैसकेको छ । तीन दर्जन जति पुस्तकहरूको सम्पादन  र आधा दर्जन जति संघसंस्थामा बसेर काम गरिसक्नु भएको छ ।  
मदन-माधवी अध्ययन अधिष्ठानमा महासचिव, प्यूठान वाङ्मय केन्द्रमा उपाध्यक्ष, सम्पदाश्री प्रकाशनमा अध्यक्ष, नेपाल स्रष्टा समाजमा आजीवन सदस्य तथा  साहित्य परिषद् प्यूठानको आजीवन सदस्य सहित विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।  
कवि तथा साहित्यकार जीवराज भट्टराईको  हालसालै ‘अभिशप्त कुइनेटाहरू’ कथासंग्रह सार्वजनिक भएको छ ।  आज यहि ‘अभिशप्त कुइनेटाहरू’ को सेरोफेरोमा रहेर  रन्जना निरौलाले गरेको स्रष्टा संवाद । 
१. अभिशप्त कुइनेटाहरू’ शीर्षकले निकै प्रतीकात्मक अर्थ बोकेको देखिन्छ । शीर्षक चयनको पृष्ठभूमि बताइदिनु होस् ?
धेरै पाठकहरूले पनि पुस्तकको नाम अलि अनौठो लाग्यो भन्नुभयो । केही पाठकले कथाहरु सरल भए पनि पुस्तकको नाम अप्ठ्यारो भयो पनि भन्नुभयो । मेरो यसअघिको उपन्यासको नाम ‘सराप मोचन’ को सन्दर्भसँग जोडेर केही पाठकहरुले उस्तैउस्तै नाम राख्नुको कारण पनि सोध्नुभयो । मलाई पनि लागेको छ, ‘अभिशप्त कुइनेटाहरु’ को शीर्षक अलि प्रतिकात्मक बन्न पुग्यो ।
यसको पृष्ठभूमिको कुरा गर्दा ‘अभिशप्त कुइनेटाहरु’ कथा सङ्ग्रहमा समेटिएका कथाहरु झण्डै २० वर्षको समयावधिमा लेखिएका हुन् । ती संकलन गरेपछि हेर्दै जाँदा २२ मध्ये १४ वटा कथाका शीर्षक ‘अ’ बाट शुरु भएका रहेछन् । त्यसपछि मैले एउटा नयाँ प्रयोग गरौँ न त भनेर बाँकी आठवटा कथाका शीर्षक पनि अ अक्षरबाट बनाएँ र प्रकाशक संस्था नेपाल स्रष्टा समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ ज्यूलाई पाण्डुलिपि दिँदै सल्लाह सुझाव मागेँ । त्यसपछिको भेटमा उहाँले “कथाहरु राम्रा छन्, केही ठाउँमा लामालामा वाक्यहरुको प्रयोग भएकाले ती छोट्टाउनु उपयुक्त होला, केही कथाहरुमा अलि बढी बौद्धिकताको आभास आउँछ र केही कथाका शीर्षक अलि बढी क्लिष्ट भएको भन्ने कुरा गर्नुभयो । मैले त्यसरी शीर्षकहरु अप्ठेरा हुनुमा आफ्नो नयाँ प्रयोग गर्ने चाहना कारण रहेको बताएँ । तर छलफलपछि मैले उहाँको सल्लाह मान्दै आफ्नो रहर त्यागेँ र आठ कथाका शीर्षकहरु पूर्ववत् नै राखेँ । अरु तीनवटा कथाका शीर्षक पनि सरल बनाएँ ।
जहाँसम्म ‘अभिशप्त कुइनेटाहरु’ शीर्षकको कथा छ यो कथा र शीर्षक दुवै मलाई असाध्यै मन परेको हो । किनभने मैले साहित्य लेख्दा होस् अथवा पत्रकारिता गर्दा होस् पाठकलाई माध्यम बनाएर समाजलाई केही न केही सन्देश दिनुपर्छ भन्ने कुरालाई केन्द्रविन्दुमा राखेर गर्ने गर्छु । त्यस किसिमको सन्देश दिने मामलामा यो कथा अब्बल छ भन्ने मेरो चित्तमा लागेको छ । यसले विगत लामो कालखण्डमा भएका राजनीतिक गतिविधि र चिन्तन–समझदारी तथा प्रबृतिहरुलाई साहित्यिक कलेवरमा कथा मार्फत अभिब्यक्त गरेको छ भन्ने मेरो ठम्याइ छ । त्यसले गर्दा जनजिब्रोका लागि अलि नौलो र अप्ठेरो भए तापनि मैले यही कथाको शीर्षकबाट पुस्तकको नाम राखेको हुँ ।
२. यस कथासंग्रहमा समेटिएका कथाहरूले मुख्य रूपमा कुन सामाजिक, मानवीय वा समयगत यथार्थलाई उजागर गर्न खोजेका छन्  ?
कथा लेख्नका लागि कथाकारको मनमस्तिष्कमा यस्तो झिल्को उठ्नुपर्छ जो राम्रो कथा नलेख्दासम्म निभ्दै ननिभोस् । समाजमा देखिने, भोगिने र सुनिने कति कुरा यस्ता हुन्छन् कि तिनको प्रतिक्रियामा भगवानसँग रिस उठ्छ । अझ कहिलेकाहीँ त त्यो यति उग्र हुन्छ कि ईश्वरीय अस्तित्वलाई समेत चुनौति दिन मन लाग्छ । त्यसरी समाजमा नहुनुपर्ने कुरा भइरहेकोमा उत्पन्न आवेग गएर कथामा पोखिन्छ । कहिलेकाहीँ म कस्तो कल्पना गर्छु भने आफू बाच्नका लागि मानिसको औसत आयु ठिकै छ तर पूर्ण चेतनाका साथ थप पाँचसय वर्षजति बाँच्न पाए समाज विकासक्रममा देखिने यावत कुराहरुको साक्षी बन्न हुन्थ्यो र त्यसैका आधारमा थुप्रै कथाहरु लेख्न हुन्थ्यो ।  ‘अभिशप्त कुइनेटाहरु’ कथासङ्ग्रह भित्रका सवै कथाहरुले एक वा एकभन्दा बढी सन्देश दिन त खोजेका छन् । त्यसमा कथाहरु कति सफल हुन्छन् त्यो पछिको कुरा हो । तर समयगत हिसावले भन्ने हो भने कथाहरुमा विगत, वर्तमान र सुदुर भविष्य अंकित भएको छ । सामाजिक परिवेश र मानवीय संवेदनाविना त कथाहरु लेख्नै सकिदैन भन्ने म ठान्छु । पात्रहरुमा यथास्थितिको भोगाइ र मनोदशासहित वैकल्पिक परिवेशको चित्रणद्वारा विद्रोही चेत जागृत गराउन सकियोस् भन्ने कुरालाई मैले बारम्वार सम्झिने गर्छु ।
३.कथाहरूमा “कुइनेटा” अर्थात् समाजका किनारामा परेका पात्रहरू बारम्बार देखिन्छन्। तपाईंको साहित्यिक यात्रामा यस्ता पात्रहरू किन महत्वपूर्ण बने ?
मान्छेको जिन्दगीमा अभिशप्त कुइनेटाहरु त अनगिन्ति आउँछन् नै । धेरैले ती भोगेर मात्र जान्छन् भने केही अक्षर ब्यवसायीहरुले शब्द संयोजनद्वारा तिनलाई अंकित गर्ने गर्छन् । म के मान्यता राख्छु भने ती धेरै मान्छेहरुका भोगाइबारे लेख्ने जिम्मा पनि अघोषित रुपमा तिनै थोरै लेखकहरूमै छ । त्यसैले हामीले आफ्नासँगै अरुका भोगाइहरुलाई पनि उत्तिकै संवेदित भएर अनुभुत गर्न सक्नुपर्छ । जीवनक्रममा त्यस्ता पात्रहरु थुप्रै भेटिन्छन् । तिनैमध्येको एउटा त स्वयम् आफँै पनि हो । मैले अघि झिल्कोको कुरा गरेको थिएँ नि, हो त्यस्तै पात्र र परिवेशले मनमा बलियो झिल्को उठाइदिन्छन् जसले निकै लामो समयसम्म मन उद्देलित बनाइदिन्छन् । तिनलाई केन्द्रमा राखेर कथा लेख्न सकियो भने मन अलिकति शान्त हुन्छ । अझ त्यस्ता पात्रहरुलाई कथामै भए पनि न्याय गर्न सकियो भने त एउटा ठूलै काम गरेजस्तो सन्तुष्टि मिल्छ ।
अर्को कुरा, मेरो विचारमा हाम्रो पुस्ता नै त्यस्तो पुस्ता हो जसले इतिहासको सवैभन्दा ठूलो परिवर्तनको साक्षी बन्ने अवसर पाएको छ । हाम्रा बा र बाजे पुस्ताले समाजको यति ठूलो आयामिक परिवर्तनको अनुभुति गर्न पाएन । हाम्रा छोरा र नाति पुस्ताले पनि पाउने छैन । यसर्थमा हाम्रो पुस्ता भनेको लामो समयसम्म दिगन्तमा अडिएर उता र यता दुवैतिर हेर्न पाउने भाग्यमानी हो । त्यसैले हामीसँग कथावस्तु पनि थुप्रै छन् । हामीले ती देख्न र लेख्न सक्नुपर्छ । यस परिप्रेक्षमा मेरो आफ्नो जीवन भोगाइ पनि त्यत्तिकै विविधतायुक्त रह्यो । प्रारम्भिक चरणको कृषियुगमा जस्तो ओढारमा बस्ने र ढुङ्गामा खाना पस्केर खाने गरेका अनुभव पनि मसँग छन् र भौतिक विकास र सुविधाको चरम अवस्थासँग पनि नजिक हुने अवसर मैले पाएँ । यी सवै कुराहरूले कथाका निम्ति पात्र र परिवेशको कमी मैले कहिल्यै महसुस गर्नु परेन । बरु तीमध्येका धेरैका बारेमा लेख्न नसक्दाको पछुतो भने छ ।
४. पत्रकारिता र साहित्य दुवै क्षेत्रमा लामो समय सक्रिय रहँदा प्राप्त अनुभवले यस कथासंग्रहको कथ्य र शैलीमा कस्तो प्रभाव पारेको छ ?
साहित्य लेखन र पत्रकारिता एक अर्कामा विराधाभाषी कर्म नभएर सहकार्यका निम्ति सजातीय विषय नै हुन् । साहित्यका निम्ति जन्मसिद्ध गुणले बढी काम गर्ने हुन्छ भने पत्रकारिता पछि सिकेर पनि राम्रैसँग गर्न सकिन्छ । मस्तिष्कमा सिर्जनशिलता, मनमा संवेग र हातमा सीप यी दुवै विधाका लागि अनिवार्य शर्त हुन् । मेरो हकमा साहित्यकर्म कहिलेदेखि शुरु भयो भन्ने ठ्याक्कै सम्झना छैन। शुरुमा कण्ठस्थ गरेको कविता कवि शिरोमणि लेखनाथ पौड्यालको ‘पिंजडाको सुगा’ भन्ने हो । त्यतिबेला ३ कक्षामा पढथेँ । विद्यालयकालमा कविता खुव लेखियो । पहिलो कविता कक्षा ६ मा पढदा लेखेको सम्झना छ । पत्रकारिता पनि एउटा विषय हो भन्ने कुरा धेरै पछि मात्र थाहा पाइयो । शुरुमा गोरखापत्रमा ‘गाउँ परिचय’ शिर्षकमा आफ्नै गाउँको बारेमा लेखेको थिएँ । त्यसपछिका दिनहरुमा पत्रकारिताको औपचारिक अध्ययन र कर्म दुवै सँगसँगै शुरु भयो ।
हाम्रो समाजमा साहित्य र पत्रकारिता दुवैलाई सफलतापूर्वक अघि बढाउनुभएका अग्रज ब्यक्तित्वहरु धेरै हुनुहुन्छ । त्यसैमध्येका एक श्रद्धेय मदनमणि दीक्षितको सानिध्यमा रहेर काम गर्ने अवसर मैले पाएँ । जहाँसम्म साहित्य र पत्रकारिता सँगसँगै गर्दा एकअर्कामा लेखकीय प्रभाव के कस्तो पर्दछ भन्ने कुरा छ, निश्चय नै त्यो प्रभाव पर्छ । मेरा कथाहरुमा त्यो प्रभाव पाठकहरुले प्रशस्तै पाउनुहुन्छ । कतिपय पाठकले खुलेरै त्यो कुरा भन्नुभएको पनि छ । म आफैले पनि कथा लेख्दा यहाँनेर पत्रकारिताको भाषा हावी हुन खोज्यो भन्ने थाहा पाउँछु । त्यसलाई सामान्य सुधार गर्न सके पनि हटाउन वा पूर्णरुपले संसोधन गर्न भने सक्दिन । यदाकदा पत्रकारितामा साहित्यिक लेखनको प्रभाव पनि पर्न खोज्छ तर त्यसलाई भने थाहा पाएसम्म सजिलै हटाउन सकिन्छ । अझ पत्रकारिता सँगसँगै मैले सरकारी सेवामा रहेर ज्यादै औपचारिक भाषाको लेखन पनि गरेको हुनाले मेरो लेखनमा त्यसको समेत गहिरो प्रभाव पर्ने गरेको म पाउँछु ।
५. यस संग्रहका कथाहरू यथार्थवादी, प्रतीकात्मक र कतै(कतै विद्रोही पनि लाग्छन् । तपाईं आफूलाई कुन धारको कथाकार मान्नुहुन्छ ?
यसमा मेरो दावी त केही पनि छैन । मेरा कथाचरित्रका आधारमा पाठकहरुको मूल्याङ्कनले मलाई जुन स्थान दिन्छ मेरो त्यही नै साहित्यिक परिचय हुने हो । यथास्थिति अथवा यथार्थ बुझाइ त कथाका निम्ति आधारभूत आवश्यकता हो । विद्यमान परिवेशलाई देख्न र विश्लेषण गर्न नसक्नेले लेख्न सक्दैन । किनकि लेखनको घडेरी भन्नु नै यथास्थिति हो जहाँ आफूले भनेजस्तो कथारुपी घर बनाउन सकियोस् । अर्को कुरा, यथास्थितिमा विचरण गर्दा त्यहाँ सवै कुरा ठिकठाकै देखियो भने पनि लेख्ने बाटो समाप्त हुन्छ । जव यथास्थितिको धरातलमा नहुनपर्ने कुरा धेरै भएको र हुनुपर्ने कुरा नभएको लेखकले देख्छ अनि लेखनको शुरुवात हुन्छ । लेख्दै जाँदा विम्ब र प्रतीकको प्रयोग त लेखनको गहना नै हो । साहित्यलाई साहित्यजस्तो बनाउने यस्तै कुराहरुले त हो । एउटा लेखकमा जन्मसिद्ध रुपमै प्रशस्त मात्रामा विद्रोही चेत रहेकै हुन्छ । अन्यायमा परेर सीमान्तिकृत अवस्थामा पुगेको पात्रले आगो ओकलेन् भने पाठकले आगो ओकल्नुपर्छ । लेखकको सफलता पनि यसैमा हुन्छ ।
६. अभिशप्त कुइनेटाहरू’का कथाहरूमा समय, राजनीति र सत्ताको छायाँ देखिन्छ । यी विषयहरूलाई कथामा ल्याउनुको उद्देश्य के हो?
लामो समयसम्म पत्रकारिता गर्दा मैले सत्ताको चरित्रलाई नजिकबाट बुझ्ने मौका पाएँ । सत्ताको आधारभूत चरित्र जनविरोधी हुन्छ भने मानिसको नैसर्गिक स्वभाव स्वच्छन्दतावादी हुन्छ । अनि समाजमा यही दुई प्रकारका परस्पर विरोधी चरित्रहरुका बीचमा भागदौड चलिरहेको हुन्छ । कहिले त्यो नरम र सुक्ष्म प्रकृतिको हुन्छ भने कहिले उग्र अतः प्रत्यक्ष पनि हुन्छ । एउटा लेखकले यो अवस्थालाई तटस्थ भएर हेर्न सक्नुपर्छ । कहिलेकाहीँ तटस्थ नहुन पनि सक्छ । तर उसको लेखकीय परिचय दीर्घकालीन रुपमा स्थापित गर्न त्यस किसिमको तटस्थताले ठूलो महत्व राख्छ । पक्षधरताले लेखकको त्यो परिचय स्थापित हुन सक्दैन र भइहालेमा पनि दूर्घटनामा पर्ने जोखिम रहन्छ । अर्कोतिर लेखनका विषयमा सत्ता र राजनीति दुवै नभए पनि लेख्न सकिन्छ । मेरा केही कथाहरुमा यी दुवै छैनन् । तर समय र समाज त अनिवार्य कुरा हुन् । त्यसैले सवै किसिमका लेखन समयद्वारा अन्तरालम्बित भएका हुन्छन् ।
७. यस कथासंग्रहको कुनै कथा तपाईंलाई विशेष प्रिय छ ?  किन ?
आफ्ना पुस्तक र रचनालाई आमरुपमा सन्तानको संज्ञा दिने र सन्तानको माया बराबरी हुन्छ भन्ने साझा भाष्य बनाइएको छ । मूलभुत रुपमा यो कुरा सत्य पनि हो । मेरा कथाहरुमा एकै प्रकारका कथावस्तु दोहोरिएका छैनन् । सवै कथाहरुले दिन खोजेको सन्देश पनि फरकफरक नै छ । त्यसकारणले सवैको आफ्नै मौलिक महत्व छ । तर पनि विषयवस्तु र कथानक फरक भएको सन्दर्भमा कुनैकुनै कथाहरु जसरी लेख्न खोजिन्छ त्यसरी लेख्न नसकिदो रहेछ । यस हिसावले हेर्दा अभिशप्त कुइनेटाहरुभित्रका दुईवटा कथाहरुबाट म बढी सन्तुष्ट छुँ । एउटा, शीर्षक कथा अभिशप्त कुइनेटाहरु र अर्को लक्ष्मी भाउजू उर्फ लक्ष्मनीया । अघिल्लोले यति बृहत् सन्देश दिन खोजेको छ कि हाम्रो मुलुकमा राजनीति गर्छु र शासनसत्ताको शीर्षस्थानमा बस्छु भन्नेहरुले यसलाई बुझ्ने र मनन गर्ने हो भने हाम्रा निम्ति त्यही नै सही गन्तब्यका निम्ति प्रस्थानविन्दु बन्न सक्छ । पछिल्लोका विषयमा पुस्तक विमोचनका बेला मन परेको कथा भनी विश्लेषकहरुबाट चर्चा गरिएको थियो । यसमा मूलतः दुईवटा पक्ष छन् । एउटा जवान अवस्थामा पतिपत्नी विछोडिएर बस्नुपरेको पिडा र त्यस्तो बेला आदानप्रदान हुने चिठीपत्रको महत्व । अर्को, ब्यक्ति विशेषमा उमेर बढदै जाँदा देखिने यौन चाहनाका कुरा । त्यसले मानव जीवनमा पार्ने प्रभाव र सीमाहरु । यस हिसावले यो कथालाई यौन कथा नै पनि भन्न सकिन्छ तर त्यसको श्लीलतायुक्त प्रस्तुतिमा म आफैलाई पनि ठिक ढङ्गले अगाडि बढन सकेँ भन्ने अनुभुति भएको छ ।
८. आजको नेपाली समाज र पाठकले यस कथासंग्रहबाट के सन्देश लिनुपर्छ भन्ने लाग्छ ?
मैले भनिसकेको छु कि मेरो लेखनको उद्देश्य समाजलाई केही न केही सन्देश दिनु नै हो । अभिशप्त कुइनेटाहरु कथासङ्ग्रहमा समेटिएका २२ वटा कथाहरूले कम्तिमा एउटा मूल सन्देश र अरु थुप्रै सहायक सन्देशहरु दिइरहेका छन् भन्ने म ठान्छु । तिनलाई बुँदाबुँदामा राख्ने हो भने एकसय भन्दा बढी हुन सक्छन् । जस्तो कि, ‘दूर्घटना’ शीर्षकको कथामा एउटा निम्न आय भएको परिवार शहरमा बसेको छ । सानोतिनो जागिर र सन्तानलाई राम्रो शिक्षा दिने चाहना शहर बस्नुका बाध्यता हुन् । त्यो परिवार दैनन्दिन अभाव र पिडाबाट गुज्रिरहेको छ । कति आम्दानीले तीन जनाको परिवार शहरमा बसेर सामान्य जीवन यापन गर्न सक्छ भन्ने कुरा राज्यलाई थाहा नभएको त होइन । तर नेतृत्व तहमा बस्नेहरुको ध्यान त्यतापट्टि पटक्कै जाँदैन । जसले गर्दा एउटा इमान्दार कर्मचारीले दूर्घटनाको कामना गर्नुपर्ने अवस्था आउँछ । राज्यसत्तामा बस्नेहरुलाई यो तितो सत्यबारे घच्घचाउन यो कथा लेख्नुपरेको हो ।
९. सम्पादन, संस्थागत जिम्मेवारी र सिर्जनात्मक लेखनबीच सन्तुलन कसरी मिलाउँदै आउनुभएको छ ? 
 विगतमा मेरो धेरैजसो समय सम्पादनमै बित्यो । लेखाजोखा गरेको त छैन तर तीन दर्जनभन्दा बढी पुस्तकहरूको सम्पादन गरिए होला । पत्रपत्रिका र म्यागेजिनहरुको सम्पादन पनि त्यत्तिकै गरियो । सम्पादनको काम कस्तो भने मेहनत उत्ति नै पर्ने र अझ बढी झन्झटिलो पनि हुने श्रेय भने नमिल्ने बरु अपजस आइलाग्ने । पुस्तक राम्रो भयो भने त्यो अर्कैको सम्पत्ति हुन्छ र नराम्रो भएमा सम्पादकले बिगारेको भन्ने हुन्छ । त्यसैले अब सम्पादनतिर मेरो मन मर्दै गएको छ । विभिन्न सामाजिक र साहित्यिक संघसंस्थाको दायित्व आजसम्म निर्वाह गर्दै आएकोमा अव तिनीहरुबाट पनि क्रमशः विदा लिने मनस्थितिमा छु । म ब्यक्तिगत रुपमा कुनै नेतृत्वदायी तहमा रहने स्वभाव र चाहना भएको मान्छे पनि होइन । परिस्थितिले आइलागेका त्यस्ता जिम्मेवारीहरुबाट पनि अब विस्तारै पन्छिन चाहन्छु । जहाँसम्म सिर्जनात्मक लेखनको कुरा छ त्यसलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउनुपर्छ भन्ने मानसिकतामा छु । अझ अहिले त जीवन निर्वाहका लागि चलाउनुपरेको “शब्दयात्रा डट कम” नामको अनलाइन न्यूज पोर्टललाई पो पहिलो प्रार्थमिकतामा राखेर काम गर्नुपरेको अवस्था छ ।
१०. नेपाली कथासाहित्यको वर्तमान अवस्थालाई तपाईं कसरी मूल्याङ्कन गर्नुहुन्छ ? नयाँ पुस्ताका कथाकारहरूलाई के सुझाव दिन चाहनुहुन्छ ?
अहिले समाजमा लेखन र पठन दुवैमा ठूलो खडेरी परेको अवस्था छ । अझ पठन संस्कृति त इतिहासकै सवैभन्दा ठूलो संकटमा परेजस्तो अवस्था छ । पढने पाठकहरु नभएपछि लेखेर मात्रै पनि के गर्नु । तर सधै यही स्थिति  रहन्छ भन्ने पनि छैन । मानव सभ्यताको शुरुवाती चरणदेखि पुस्तक अध्ययनको गरिमामय पक्ष शास्वत रहँदै आएको छ । अहिले केही समय डिजिटल रमझममा अल्झिदा पठन संस्कृति ओझेलमा परेजस्तो देखिएको हो । भौतिक हिसावले हामीभन्दा धेरै विकसित समाजहरुमा एउटा टुकटुके मोवाइल फोन बोक्ने र पुस्तकप्रतिको लगावलाई पुनस्थापित गर्ने प्रवृतिको पुनरागमन भइसकेको छ । हाम्रो नयाँ पुस्तामा अलिकति धैर्यताको कमी हो कि जस्तो महसुस हुन्छ । हरेक पुस्ताले आफ्नो युग मानव समाज, मानवीय संवेदना र साहित्यको सौन्दर्य तथा शक्तिबारे गहिरो अध्ययन गर्ने र त्यस आधारमा गहन विषयवस्तुका पुस्तकहरू लेख्ने अभ्यास गर्नुपर्छ । त्यो दायित्वबाट आउदो पुस्ता पराङमुख हुनेछैन भन्ने मेरो विश्वास छ ।
११.‘अभिशप्त कुइनेटाहरू’ लाई तपाईं आफ्ना अघिल्ला कृतिहरूसँग तुलना गर्दा कति फरक वा परिपक्व मान्नुहुन्छ ? 
 वि. सं. २०७७ सालमा ‘सराप मोचन’ नामको उपन्यास प्रकाशन गरेको ४ वर्षपछि मैले ‘अभिशप्त कुइनेटाहरु’ नामको कथासङ्ग्रह लिएर पाठकमाझ आएँ । त्यसअघि २०६४ मा ‘राजसंस्था र बहुदलीय प्रजातन्त्र’ नामको निवन्ध सङ्ग्रह प्रकाशित भएको थियो । विधागत रुपमा यी तीनवटै फरक भएकाले यिनको आआफ्नै चरित्र र प्रकृति हुने नै भयो । मेरो मूल मान्यतामा रहेको लेखनद्वारा समाजलाई सन्देश दिन सक्नुपर्छ भन्नेमा तीनवटै सफल रहे भने म आफू आफ्नै लेखनबाट सन्तुष्ट हुने कुरामा भन्नुपर्दा सवैभन्दा बढी सराप मोचन उपन्यासबाट भएँ । यसको कारण के हो भने उपन्यास भएको र त्यसको आकारप्रकार पनि अलि ठूलो भएकाले त्यस मार्फत आफूले भन्न चाहेका धेरै कुरा भन्न सकियो । देश र हाम्रो समाज हिँजो कस्तो अवस्थामा थियो, आज कहाँ छ र भोलिको सम्भाब्य गन्तब्य के हुनसक्छ भन्ने कुरा त्यसमा उल्लेख छ । मलाई के लाग्छ भने विषयवस्तुको सान्दर्भिकता र त्यसले दिएको सन्देशका हिसावले सवैभन्दा लामो आयु पनि त्यसैको हुनेछ ।
कथासङ्ग्रहको रुपमा आफ्नै विशेषता सहित पछिल्लो पटक अभिशप्त कुइनेटाहरु आयो । पठन संस्कृतिमा ठूलो गिरावट त छँदैछ तर पनि यो एक वर्षको अवधिमा यसलाई पढने पाठकहरुबाट राम्रा सुझाव र प्रतिक्रियाहरु पाइनै रहेको छु । विद्वान समीक्षकहरुबाट गरिएका मलाई अबका दिनहरुमा मार्गदर्शन हुने खालका समीक्षाहरू पनि पढिरहेको छु । म सन्तुष्ट नै छु । तर हेक्का राख्नुपर्ने कुरा के हो भने एउटा लेखक जीवनकालभरि नै लेखकभन्दा ठूलो विद्यार्थी नै हो ।
१२. आगामी दिनमा पाठकले जीवराज भट्टराईबाट कस्तो सिर्जनाको अपेक्षा गर्न सक्छन् ?
एउटा सर्जक जतिजति परिपक्व हुँदै जान्छ पाठकहरुले पनि उसबाट झनझन गहन विषयका उत्कृष्ट रचनाहरुको अपेक्षा गरेका हुन्छन् । लेखकले पनि आफ्ना पुस्तकहरूको संख्या बढाउने धेयमा केन्द्रित भएर जस्तो पायो त्यस्तो नलेखी पाठकहरुको अपेक्षामाथि न्याय गर्न सक्नुपर्छ । यो विषयमा म सचेत छु । अव के लेख्ने भन्ने सम्वन्धमा एउटा संस्मरणात्मक निवन्धसङ्ग्रह र एउटा कवितासङ्ग्रह तयारी अवस्थामा छन् । तिनीहरुको प्रकाशन कहिले गर्ने भन्ने कुरा सोचिसकेको छैन । लेखनको हिसावले एउटा राम्रो उपन्यास लेख्नुपर्छ भनेर सोँच बनाइरहेको छु ।
थप
स्रष्टाहरु राजनीतिक पार्टीका कार्यकर्ता बन्ने, उनीहरुलाई विभिन्न वाद वा सिद्धान्तका आधारमा लेवल लगाइदिने र प्रगतिशील तथा प्रजातान्त्रिक वा यस्तै यस्तै भनेर कित्ताकाट गर्ने वा प्राज्ञिक क्षेत्रलाई राजनीति मातहत बनाउन हर्कत गर्ने विषयमा मेरो धारणा
यो सवैभन्दा दुःखको कुरा हो । यहाँ राजनीतिक दलहरुले हरेक क्षेत्रमा आफ्नो प्रभाव र प्रभुत्व बढाउन यस्ता हर्कत गर्ने गरेका छन् । तानशाह भनिएका राजा महेन्द्रले त्यो समयमा प्रज्ञाको महत्वलाई आत्मसात गरेर स्थापना गरेको प्रज्ञा प्रतिष्ठानमा सरकार फेरिएपछि निर्लज्ज ढङ्गले आफ्ना कार्यकर्ता भर्ति गर्ने गरिन्छ । स्रष्टाहरू पनि पार्टीको नजिक हुन मात्र होइन उनीहरुको झोला बोक्न र दास बन्न लालयित भएको देखिन्छ । यसबाट हाम्रो प्राज्ञिक क्षेत्र लज्जित हुनुपर्ने अवस्था छ ।
देशको सार्वभौम नागरिक हुनु र त्यसमा अझ स्रष्टाको परिचय पाउनु त सबैभन्दा ठूलो कुरा हो । यो भन्दा अर्को प्रतिष्ठाको विषय छैन । लेखकले के लेख्छ र पाठकले त्यसको कस्तो मूल्याङ्कन गर्छ महत्वपूर्ण कुरा यत्ति हो । लेखकलाई यो विचारको, यो खेमाको, यो पार्टीको भनिनुले लेखकको परिचयमा दाग लाग्छ । लेख्नु आफैमा ठूलो प्रगतिशिलता हो । त्यसमा कसैले ट्याग लगाइदिनु पर्दैन । के लेख्ने, के नलेख्ने, कस्तो लेख्ने त्यसमा लेखक स्वतन्त्र हुनुपर्छ । उसको लेखन क्षेत्र साँघुरो बनाइदिनाले लेखकको प्रतिभा प्रस्फुटन हुन पाउँदैन । पाठकले रुचाएनन् र समाजले पचाएन भने ऊ आफँै वहिष्करणमा पर्छ । यो एकदमै विचारणीय कुरा छ ।