अमेरिका यात्राका केही रोमाञ्चक अनुभूतिहरू टिपेर जीवनको जोडघटाउ गर्दा केही नाफाहरूले लोभ्याए पनिधेरै नोक्सानीहरूले त्यत्तिकै दुःखी पनि बनाए । लेखक भइटोपलेको आदतले पनि ठाउँकुठाउँ मलाई जिस्क्याइरहने हुनाले सानो डायरी र कलम सधैँ साथमा हुन्छन् । घुमघामकै सिलसिलामा टेक्सासमा भेट जुरेकी एउटीनेपाली चेलीका सपनाका आँखा,केही यसरी खुलेको टिपेको रहेछु कुनै समयमा–‘फ्लोरिडा माइती, क्यालिफोर्निया घर हो मेरो अङ्कल, तर मेरो जब यहाँ फिक्स भएकाले यता आएँ ।’ कल्पना अर्यालले आफ्नो परिचय दिइन् । सोचेँ,हामी कति धेरै एडभान्स भइसकेछौँ । अब अमेरिका नै घर र अमेरिकामै माइती भएपछि हाम्रो सम्पन्नताको कुरै गर्नुपरेन ।
हिजो हामी पहाडको त्यस दुर्गम कुनाको साँघुरो ठाउँमा सास फेर्न पनि धौधौ जस्तो । वरपरको डाँडाकाँडाले छेक्ला भन्ने सङ्कोच मानेर उज्यालो खोज्दैखोज्दै घिस्रिएर कसोकसो चारजनाको अनुहार देख्न पुग्ने ठाउँमा आइपुगेर झोला बिसाएका थियौँ । आज हामीले यति ठूलो आकाश कमाएछौँ अमेरिकालाई घर, माइती, मावली र ससुराली बनाएका छौँ । हाम्रो सम्पन्नता अब हातले नापेर पुग्दैन, मनले कल्पना गरेर पनि नपुग्नेजति भइसकेको छ, विशाल ! हाम्रा फैंलिएका पाखुराहरूले सिङ्गै अमेरिकालाई नै अँगालो हाल्न पुगेका छन् । पूर्व फ्लोरिडाकी चेलीले पश्चिम क्यालिफोर्नियालाई घरबार बनाएकी छन् र मध्यपश्चिम दक्षिणटेक्सासमा उनीहरूले छुट्टी मनाएका छन् । अब उनीहरूले पाउनका निम्ति केही पनि बाँकी छैन जस्तो लाग्यो । हाम्रो यसप्राप्ति भित्र के कस्ता यथार्थहरूले काम गरिरहेका होलान् ! कल्पनाले पाएको अमेरिकी भूगोलमा जीवनका फूलहरु के कति फस्टाएका छन् त्यो मलाई त्यति थाहा छैन तर साँघुरो परिवेशबाट फैलिएर आज हामी फराकिलो संसारमा भने अवश्य पुगेका छौँ । हिजो अवसरको अभावमा कुँजिएको हाम्रो मानसिकता फैलिन पाएको छ । आँखामा उज्यालो, हातमा सिर्जना र पाइलामा गतिलाई अघि लगाए आज हामीले संसारलाई आफ्नो पार्नसक्ने अवसर पाएका छौँ । अब पनि हामीमा केही गुनासो बाँकी छ भने त्यो आफ्नै अपूर्णता नै हुनसक्छ ।
मैले कल्पनाको अनुहारमा संसार जित्ने सपना जुर्मुराउँदै गरेको पाएँ । उसलाई अझैँ अगाडि पुगेर अर्को सम्बन्ध गाँस्ने हतारो थियो । नेपालमा जन्मिएकाहरूले अमेरिकालाई माइती, मावली बनाएपछि अमेरिकी चेली कल्पनाले अर्कै ग्रहमा आफ्नो छोरा–छोरीको न्वारन गर्न सकी भने मात्र उसको अभियान सार्थक हुनेछ । यो आत्मविश्वासका निम्ति मैले उसको आँखा नियालेँ । ऊ साँच्चै भरोसा गर्न लायककी थिई । उसले भनी–‘अङ्कल मेरो प्रोजेक्ट सफल भयो भने आइटीको दुनियाँमा मेरो सफल उपस्थिति हुनेछ ।’
मलाई, कल्पनाको महत्त्वाकाङ्क्षी सपना रमाइलो लाग्यो । उसले आँखामा सजाएको सपना पूरा गर्ने उपयुक्त ठाउँ यही नै हो । अवसरको सदुपयोग गर्न सकेको खण्डमा यहाँ असम्भव रहेनछ । उसको लोग्ने यहीँ युनिभर्सिटीमा पीएचडी गर्दै रहेछन् । यहीँको योग्यता लिएर काम गर्न सजिलो छ । कल्पनाका वयस्क सपनाहरूसँग हाम्रो पनि गर्व जोडिएको छ । एउटा सानो आकाशलाई ठूलो आकाशसँग जोडेर गर्विलो पार्न तम्सिएका हरेक कल्पनाहरूका सपना हाम्रा पनि सपना हुन् । पूर्वमा ब्यूँझिएका कल्पनाका आँखा पश्चिमी क्षितिजमा चमचमाएको उज्यालो चेतना हेर्न भनेर नै त धेरै कल्पनाहरूलाई हामीले एयरपोर्टमा हात हल्लाएर विदा गरेका छौँ । नमीठो त बरु त्यतिवेला लाग्छ जब कल्पनाहरूले देशलाई बिर्सन्छन्, हाम्रा सपनाहरूलाई आफ्नो मात्र पार्न तम्सिन्छन् वा हराउँछन् कल्पनाहरू र सपनाहरू पनि ।
हामीले राम्ररी उनीहरूका हातमा भविष्य दिन नसकेपछि भविष्य खोज्न बिहानीको चराझैँ आकाशमा उडेका कल्पनाहरू सुन्दर लाग्छन् तर भोरको चरी सन्ध्यामा गुँड फर्किएझैँ हाम्रा कल्पनाहरू पनि गुँड फर्किनुपर्छ र यो साँझ रमाइलो हुन्छ आँगनमा अनि बिहानी उदाउँछ उत्साहमा । त्यति प्रतिवद्धता त तिमीले दिनैपर्छ छोरी कल्पना हामीलाई होइन भने हामीले बाँकीका दिनहरू कसको भरोसामा बिताउने ? तिम्रा भाइ–बहिनी सन्ततिहरूलाई कुन आश्वासन दिएर अघि बढ्न प्रेरित गर्ने ?
मेरो उद्देश्य अरू धेरै छ यो अभिव्यक्तिसँग जोडिएको । हामीले आफ्नो माटोलाई छोडेर अर्कैको माटोलाई आफ्नो भन्न रहर गरेपछिको कल्पनाको अभिव्यक्ति हो फ्लोरिडामा माइती अनि क्यालिफोर्निया घर । तिमीले आफ्नो माटोलाई माइती मान्न बिर्सन खोजेको तर्फ़को इसारा हो सायद फ्लोरिडा ! निश्चय पनि तिम्रा आँखाले पछिल्लोपटक अमेरिकाको क्षितिजमा सूर्य उदाएको देखेकी होउली र लागेहोला मेरो आकाश यतैतिरबाट सुरु भएको हो । त्योभन्दा पूर्व जहाँ तिम्रा आँखाले देख्न भ्याएनन् र तिम्रा बाबा–आमाका आँखाले पनि पछ्याउन छोडेहोलान् बिहानीको गति र तिम्रा लागि फ्लोरिडा माइती बनेहोला । होइन भने तिम्रा आँखाले देख्नसम्म नभ्याएको त्यो उज्यालो धर्ती तिम्रो माइती हो । जुन चेतनाको सञ्चार तिम्रा मस्तिष्कमा भएको छ अनि मुटुको गतिमा जुन धड्कन छ, अनि प्राण छ, तिम्रो मुटुमा त्यो आकाश भनेको तिम्रो पूर्वको माइती हावाको सञ्चार हो र त तिम्रो चेतनाको सूत्र मसँग जोडिएर म पनि तिमीसँगै सञ्चारित भएँ । तिमी आफ्नै छोरीजस्ती लाग्यौ र सायद म पनि तिमीलाई बाबुजस्तै लागेँ हुँला । हो त्यो माइतीलाई तिमीले आफ्नो माइती नमान्ने भूल कहिल्यै पनि नगरे । भौतिक देहले तिमीलाई फ्लोरिडाको हावाको नजिक ल्याएको भए पनि तिम्रा नसामा बग्ने रगतको सुगन्ध र मेरो देशको माटोको सुगन्ध उस्तै छ । रगतमा माटो बसाएको सुगन्ध बिर्सन नसकिने हुनुपर्ने हो तर तिमीले कति सजिलै फ्लोरिडामा माइतीको सम्बन्ध देख्यौ ? हाम्रा यी बाहिरी सम्बन्धहरू जहाँ जतासुकैका भए पनि हाम्रो भित्री सम्बन्ध देशसँग जोडिएको कुरालाई झट्टै बिर्सन सकिँदैन र हुँदैन पनि । यो कुरा तिमीले आफ्ना बाबा र आमालाई गएर सोधे उनीहरूले फ्लोरिडालाई घर स्वीकारेका भए मात्र तिम्रो माइती हुने हो । तर मलाई लाग्छ तमाम विवशतालाई छातीमा बोकेर आकासिएका तिम्रा बाबा–आमाको मनमा बसेको घर र मेरो घर एउटै देशको माटो र ढुङ्गाले बनेको हो । सँगै गैँची चलाएर हामीले घरको जग उठाएका थियौँ तर यति छिट्टै तिम्रो बाबाको घरको जग नहल्लिनुपर्ने हो । पोहोर सालको भूकम्पले पनि हाम्रो घरको जग हल्लाएको छैन । यति हो सानोतिनो धक्का घरमा महसुस भएको होला तर हाम्रो घरको जग बलियो माटो र ढुङ्गाले जोडिएका छन्, सजिलो गरी ढल्ने छैनन् ।क्यालिफोर्नियामा तिम्रो अर्को घर छ, तिम्रो लोग्नेको घर, त्यो पनि तिम्रो अर्को महत्त्वाकाङ्क्षा हो । तिम्रो सपनाको अर्को पाटो हो त्यो तर फेरि पनि कल्पना तिमीलाई यतै छोडेर जान मन छैन ।
ठीक यसैवेला मोबाइल बज्यो । अस्ट्रेलियाबाट भान्जा अर्जुनको फोन रहेछ । कुराले अर्को मोड लियो । तर कुराको सार उस्तै थियो । ‘मामा कस्तो लाग्दैछ त अमेरिका ?’ अर्जुनबाबुको मेसेन्जर कल उठाउँदै प्रत्युत्तर लगाएँ– ‘बाबु म एकप्रकारले माइन्ड मेकअप गरेर आएको हुनाले अनौठो र आश्चर्य दुवै छैन । तर हामीले सोचेको र यहाँ देखेकोमा अलिकति फरक पाएँ । तर त्यो अनौठो नभएर स्वाभाविक लाग्यो । अनि बाबु थप कुरा के पनि हो भने म अलि बढी नै पोजेटिभ छु क्यारे ! हरेक कुराले मलाई प्रभावित पार्दैछन् ।’
अर्जुनबाबु अत्यन्त सकारात्मक र वस्तुगत कुरा गर्नुहुन्छ । उहाँ भन्ने गर्नुहुन्छ–‘मामा आफ्नो जन्मभूमि, देश, भाषा, संस्कृति भनेर केवल भावनात्मक कुरा बढी गर्छौं । देशलाई माया गर्नु भनेको सधैँ रुढ भएर देशलाई नै अङ्गालो हालेर बस्नु पनि त होइन नि ! जीवनका अवसर र चुनौतीहरूलाई साथ लिँदै आवश्यकताअनुसार देश–विदेश मुभ हुनुलाई ठूलो आश्चर्य मान्ने अनि पहाडै खस्योझैँ गर्नु हुँदैन । सत्य कुरा त के हो भने हामीलाई जन्मेको गाउँठाउँ र देशलेपनि नपुगेपछि हामी स्थानान्तर भएका हौँ । यो क्रम हाम्रो मात्र पनि होइन, विकास र विस्तारको नियमले हामी परिचालित छौँ । देशमै बस्दा पनि हामी सबै जन्मेहुर्केकै ठाउँमा मात्र बस्न सकेका छैनौँ । जब हामीलाई जन्मेको ठाउँले पुगेन भनेर स्थानान्तर भयौँ भने अनि यो ठाउँ, ऊ ठाउँ मात्र भन्नुको खास तर्क छैन । गाउँका सहर पसेका छन्, सहरका अझ ठूलो सहर । यसैगरी एउटा देश अर्को देश, यो कुनै अन्यथा होइन । यति हो हामीले हाम्रो सम्बन्धको आदर्श र मूल्यलाई बिर्सनु हुँदैन । ठाउँ विशेषले के फरक पर्छ र ?’
‘कुरा साँचो हो बाबु, म नेपालमै बसे पनि म जन्मेहुर्केको ठाउँ बाग्लङ जैदीमा बस्न सकेको छैन । त्यो मात्र होइन वर्ष, दुई वर्षमा पनि त्यो ठाउँ जान सक्दिनँ। बरु धेरै टाढाको देशसँग मेरो दैनिक सम्पर्क र सम्बन्ध बनिरहेको छ । अब मैले मेरो गाउँको नाउँमा शोक बस्नुको खास अर्थ छैन र पनि मेरो स्मृति–विम्बमा मेरो गाउँठाउँ त रहिरहेकै छ । त्यस्तै पनि हो हाम्रो देशान्तरको बसाइ पनि ।’
‘सत्य कुरा त्यही हो मामा हजुरले भनेजस्तै अहिले म अस्ट्रेलिया छु, त्योभन्दा पहिले गैँडाकोट, त्योभन्दा पहिले माडी, अनि म जन्मेको बाग्लुङ । ल भन्नूस् त मामा मैले के जन्मभूमिको माया नगरेरै यति परिवर्तन भएको त होइन नि ? अब मैले देशको जन्म–ठाउँको मात्र माया गर्छु अरू सबै त्याग गर्छु भनेर सम्भव छ त ? त्यसैले मामा समय र परिस्थितिअनुसार निर्णय गर्दै जानुपर्ने अवस्थालाई नकार्न हुँदैन । मैले यही कुरा घरमा बुबा–आमासँग गर्छु तर दुःखको कुरा मैले बुबा–आमालाई कहिल्यै चित्त बुझाउन सकिनँ । समयअनुसार आफ्ना केही मान्यताहरूमा संशोधन, परिमार्जन पनि गर्नुपर्छ । मैले भनेँ–‘हो नि बाबु ! दिदी–भिनाजुले त सन्तोष मान्नुपर्छ । मलाई थाहा छ, हजुरले दुःख गरेरै यस अवस्थामा आउनुभएकोहो । यसलाईकत्ति अर्घेलो मान्दिनँ बाबु ।’
अर्जुनबाबुका आफ्नै गुनासाहरू छन् । उता भिनाजु भन्नुहुन्छ विदेशमा बसेर जति कमाए पनि, देशलाई बिर्सियो भने त्यसको केही अर्थ छैन । एक–दुई पुस्तापछि आफ्ना सन्तान पनि यो देशबाट अलग्गिन्छन् । के काम छ त्यसरी विदेश बसेर उन्नति गरेर ? जति पढे पनि, जति कमाए पनि बेकार छ । उहाँको असन्तोष अलिकति सबैप्रति र धेरै अर्जुनबाबुहरूप्रति हो भन्ने मैले बुझ्छु । म यता आउने निधो भएपछि भिनाजुले भन्नुभयो–‘तिमी पनि जाने भयौ ? उतै बस्ने त होइन नि ! हुन त के भन्नु एउटी छोरी सधैँ उतै बस्ने भएपछि उसका सन्तति पनि उतैका । अनि तिमी नगए पनि गएसरह भयो ।’ यता अर्जुन बाबुले सोध्नुभयो–‘मामा यता सिफ्ट हुने कुरामा पनि सोच्दै हुनुहुन्छ कि ?अब यस्ता कुरामा कुनै द्विविधा पर्नुहुँदैन । अबको ग्लोबलाइजेसनको दुनियाँमा संसारमा जहाँ बसे पनि हुन्छ ।’
मैले उहाँलाई नै सजिलो पर्नेगरी उत्तर दिएँ–‘बाबु म तपाईंका कुरामा सहमत छु । यहाँको मेरो प्रारम्भिक बुझाइले त म के भन्छु भने हामी कता बस्ने भन्ने निधो अहिले भएको छैन । तर यता आउने हो भने धेरै ढिला गर्नुहुँदैन । आफू ले पनि केही गर्नसक्ने उमेर अवस्थामै आउनुपर्छ । त्यसबारेमा मैले कुनै कठोर निर्णय समयमै लिनुपर्छ भन्ने लाग्यो ।’ ‘कुरा एकदम सही हो मामा, तपाईंजत्तिकै समयमा कुरा बुझिदिने गार्जियन हुने हो भने हामीलाई धेरै सजिलो हुन्छ । हुन्छ मामा, यता आउने हो भने पनि कत्ति सङ्कोच नमानेर निर्णय लिनुहोला । मेरो विचारमा हजुरहरू यतै सिफ्ट हुनु राम्रो हो ।’
यी केही संवाद र अनुभूतिमा बाँडिइरहँदा मेरो मन भने बिपत्ताले उर्लिएर यतै आउन खोजिरहेकोथियो । माटोलाई मुटुमा बोकेर हिँड्नेहरू विदेशको भूमिमा किमार्थ रमाउँदैनन् । सायद मजस्तै !!!
…………………………..
(हाल फ्लोरिडा, अमेरिका निवासी चालिसे चर्चित श्रस्टा हुन् )