• २०८२ पुष ५, शनिबार

जनमत वाङमय प्रतिष्ठानद्वारा आठ स्रष्टा सम्मानित

काठमाडौँ ।

जनमत वाङ्मय प्रतिष्ठान, नेपालले ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कला क्षेत्रका आठ स्रष्टालाई सम्मान गरेको छ । जनमत वाङ्मय प्रतिष्ठानले बर्सेनि प्रदान गरिँदै आएका ती सम्मानहरू धेरै भएकाले यस वर्ष विभिन्न स्रष्टालाई दुई पटक (मङ्सिर र चैत्र) मा प्रदान गरिने अध्यक्ष मोहन दुवालले बताए । आआफ्नो विधामा लामो समयदेखि निरन्तर रूपमा संलग्न रही योगदान पु¥याउँदै आएका स्रष्टाहरूलाई यो सम्मान अर्पिएको पनि अध्यक्ष दुवालले बताए ।

विभिन्न विधामा सम्मानित हुने स्रष्टाहरूमा नियात्राकार तथा लेखक निर्मोही व्यासलाई २०८१ सालको ‘दीपा–जनमत सम्मान’ अर्पिएको थियो । त्यसैगरी ‘जनमत–महेन्द्रलाल कलाकार सम्मान’ ज्ञानेन्द्र विवश, गणेश (खिलकुमारी दुवाल–जनमत सम्मान’ श्याम तमोट, ‘केवलपुरे–जनमत सम्मान’ खेमराज निरौला, ‘कमला सैंजू–जनमत सम्मान’ मोतिशोभा श्रेष्ठ, ‘जनमत–राजभाइ सहयात्री सम्मान’ कृष्णप्रसाद आचार्य, ‘भारती–जनमत साहित्यिक पत्रकारिता सम्मान’ बाजुराम पौडेल र जनमत–केदार–सुदर्शना बालसाहित्य सम्मान’ ज्योति अधिकारीलाई अर्पिएको थियो ।

उक्त कार्यक्रममा सम्बन्धित विधाका अग्रजहरूले सम्मानित स्रष्टाहरूलाई दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र अर्पिएको थियो । यसरी सम्मान प्रदान गर्नेहरूमा नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति भूपाल राई, नेपाल भाषा एकेडेमीका कुलपति मल्ल के सुन्दर, उपसभामुख इन्दिरा राना मगर, वरिष्ठ कलाकार राधेश्याम मुल्मी, साहित्यकार रामप्रसाद पन्त, कवि कृष्ण प्रधान र इन्दिरा श्रेष्ठ रहेका थिए ।

दायित्व वाङ्गमय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले सम्मानित ८ स्रष्टाको परिचयात्मक टिप्पणी प्रस्तुत गरेका थिए । कार्यक्रममा जनमत वाङ्मय प्रतिष्ठानका सदस्य सिर्जना दुवालले स्वागत मन्तव्यसँगै स्वागतगान बजाएर सबैको स्वागत गरेकी थिइन् ।