• २०८२ पुष ३, बिहीबार

साझा प्रकाशनको ६२औँ वार्षिकोत्सव सम्पन्न

ललितपुर ।

नेपालका सर्जक साहित्यकारहरू सेयर सदस्य रहेको संस्था साझा प्रकाशनको ६२औँ वार्षिकोत्सव सम्पन्न भएको छ । बुधबार ललितपुर हरिहरभवनमा आयोजित कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले कार्यक्रमको उद्घाटन गर्दै सचिवका हैसियतमा गरिने सदभाव र सहयोग आफ्नो तर्फबाट रहने जानकारी गराए ।

सचिव भुजेलले आफूलाई साहित्यप्रति रुचि रहेको भन्दै साहित्यकार नभए पनि साहित्यकारहरूको यो संस्थाको उन्नयनमा आफ्नो पूर्ण सहयोग रहने प्रतिवद्धता जाहेर गरे । साझा प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले भाषा साहित्यको सम्वद्र्धनको उद्देश्यकासाथ स्थापना भएको संस्था निरन्तर अग्रसर रहेको बताए । उनले साझा प्रकाशनले पछिल्लो समय गरेका कामहरूबारे जानकारी दिँदै प्रकाशनलाई राज्यबाट नियमित बजेटको व्यवस्था होस् भन्ने चाहना प्रकाशनको रहेको उल्लेख गरे ।

कार्यक्रमका संयोजक प्रा.डा. ध्रुव घिमिरेले बौद्धिकतामा प्रखरता जबसम्म प्राप्त हुँदैन, तबसम्म सम्पन्नता प्राप्त नहुने भन्दै गौरवशाली यो संस्थाको उन्नयनमा सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा साझा प्रकाशनका अध्यक्ष शेखर गिरि, प्रा. डा. अभि सुवेदी, गंगाप्रसाद उप्रेती, डा. तुलसी भट्टराई, मातृका पोखरेल र शेयर सदस्यकातर्फबाट सीता पाण्डे र श्रीओम श्रेष्ठ रोदनले आफ्ना धारणा राखे । उक्त अवसरमा प्रमुख अतिथि भुजेलले साझाले आयोजना गरेको पुस्तक प्रदर्शनीको उद्घाटन गरे । प्रदर्शनीमा साझा प्रकाशन र नेपाल प्रज्ञा प्रतिष्ठानका नयाँ पुराना पुस्तकहरू छुट मूल्यकासाथ बिक्रीमा राखिएको छ ।