• २०८२ मंसिर २०, शनिबार

घाटमा उभिएर

गोपालकुमार मैनाली

गोपालकुमार मैनाली

तिमीलाई खोला तारेर आएपछि
हरेक दिन तिमी फर्किने खबर
घाटलाई गएर सोध्छु
खोला तरेर गएपछि
पछाडि फर्केर हेर्नु हुँदैन भन्थेउ
कहाँ पुगेँ भनेर
तिमीले फर्केर नहेर्नु भन्थ्यौ
फर्काईको मिलन बिन्दुले
मायामा अजम्बरी गाँठो पार्छ भन्थ्यौ
न तिमीले फर्केर हेर्यौ
न मैले फर्केर हेरेँ
त्यसैले म हरेक दिन
तिमी फर्किने खबर
घाटसँग सोध्छु
र,खोलामा बगेको पानी
एक टकले नियालिरहन्छु

घाटलाई सुनाउने
तिमीसँगको मेरो कुनै साइनो छैन
बगिरहने खोलाको
तिम्रो जस्तो कुनै गन्तव्य
कुनै पाइताला पनि देखिँदैन
तिमी जाँदा खोलाले तिम्रो पाइताला
भिजायो कि भिजाएन ?
प्रत्येक पटकको भेटमा सोध्छु
त्यही घाट भएर तिमी फर्कँदा
भिजेको गोडा पुछ्न
रुमाल ल्याएको हुन्छु
तिमीलाई वल्लो किनारले पारी पठायो
पल्लो किनाराले किन यता पठाएन ?
किनारमा उभिएर सोधिरहन्छु

खोला सुक्नु हुँदैन
तिमी आउने घाट रहँदैन
खोला बाढी आएर
तिमी आउने घाटको
अस्तित्व छोपिनु हुँदैन
मेरो मनको प्रश्न-
किनारलाई, खोलालाई र घाटलाई
तिम्रो र मेरो सम्बन्धमा
साइनो जोड्छ कि छुट्याउँछरु
फर्कँदा तिमीले पनि त्यही प्रश्न
खोलालाई ,किनारलाई,
र, घाटलाई सोध्नु है ।


गोपालकुमार मैनाली, काठमाडौँ