हिन्दी कविता
काठमाडौं ।
नेपालयको कालिकास्थानस्थित ‘आर’शालामा नेपाली संगीतका अमर गायक फत्तेमानको ८९औँ जन्ममिति स्मरण गर्दै विशेष ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ। नेपालयले करिब २१ वर्षअघि सुरु गरेको पलेँटी एक लघु सांगीतिक प्रस्तुति–शृंखला हो, जसमा गीत र गीति–निबन्धको संयोजनलाई मूल विशेषता मानिन्छ। यसपटकको पलेँटीमा गायक फत्तेमानले गाएका १३ लोकप्रिय गीतहरू प्रस्तुत गरिएका थिए। कार्यक्रममा ‘यस्तो पनि हुँदो रहेछ’ गीतबाट शुरुआत गरिँदा हलमा उपस्थित दर्शकहरू भावुक हुनुभएको थियो ।
गीत–निबन्ध शैलीमा संगीतकार आभासले फत्तेमानको जीवन, सहकार्यका स्मृति, र गीत–सृजनाका प्रसङ्गहरू प्रस्तुत गर्नुभएको थियो । गीत र निबन्धको संयोजन अघि बढेसँगै दर्शकदीर्घामा आवेग झनै गाढिँदै गएको अनुभव गरिएको थियो । आभासले फत्तेमान ७० वर्षको उमेरमा बनेको एल्बम ‘फत्तेमान ७० मा’ सम्बन्धी स्मरणीय प्रसङ्ग पनि निबन्धमा पस्किनुभएको थियो । कार्यक्रममा ‘जीवन हुरीको गीत’, ‘कस्तो माया लाइएछ’, ‘बतासले तलाउमा’, ‘आजभोलि देख्दिनँ म’, ‘रक्तिम अधर छ तिम्रो’, ‘सान्नानीको गालैमा’ लगायत धेरै चर्चित गीतहरू प्रस्तुत भएको थियो ।
गीतहरूका सिर्जनामा माधव घिमिरे, नातिकाजी, अम्बर गुरुङ, राममान तृषित, नारायण गोपाल, कालीप्रसाद रिजाल, तीर्थराज तुलाधर, मञ्जुललगायतका प्रतिभाहरूको योगदान समेटिएको थियो । कवि मञ्जुलका शब्द र आभासको धुनमा रहेको “मर्छु र म डुङ्गा बन्छु…” गीतबाट कार्यक्रमको समापन भएको थियो । यो गीत अभ्यासका क्रममा फत्तेमान आफैँ भावुक बनेको संस्मरण प्रस्तुत गर्नेबित्तिकै दर्शकदीर्घाका धेरै आँखाहरू रसाइएको देखिन्थ्यो । यसपटक गायनको सम्पूर्ण प्रस्तुति युवा गायक रूपक चौधरी एक्लैले सम्हाल्नुभएको थियो । महिला गायिका अभिज्ञा घिमिरे अस्वस्थ भएपछि पनि रूपकले कार्यक्रम सहजै धानिएको भन्दै संयोजक आभासले प्रशंसा गर्नुभयो ।
संगीतकर्मीहरूको टोलीमा तबलामा मिलेश तण्डुकार, बाँसुरीमा मिलन घिमिरे, गिटारमा कृपेश लोहनी, प्रकसनमा सुन्दरकुमार महर्जन, बेस गिटारमा सुदिप खत्री तथा किबोर्डमा सुनिल सिंहको साथ रहेको थियो । पहिलोपटक पलेँटी हेरेका संगीतप्रेमी वासु श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन् “रेकर्ड गरिएका गीतभन्दा प्रत्यक्ष प्रस्तुति मनमा अझ गहिरो भएर बस्छ भन्ने अनुभूति भयो ।” नेपालयका अनुसार आगामी डिसेम्बर २६ र २७ गते संगीतकार तथा गायक आभासका केही पुराना र नयाँ गीतहरूको पलेँटी प्रस्तुति ‘आर’शालामा हुनेछ ।
