समाचार
काठमाडौं ।
कवि गजलकार रीता बलामीद्वारा लिखित दुई पुस्तक ‘आभासपुञ्ज’ (गजलसंग्रह) र ‘बालमञ्जरी’ (बालकवितासंग्रह) एकसाथ सार्वजनिक गरिएको छ । शनिबार (मंसिर १३) काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा. डा. कृष्णहरि बराल, कवि लक्ष्मी मालीलगायत स्रष्टाले कृति लोकार्पण गरे ।
कार्यक्रममा प्रा.डा. बरालले समय परिवर्तनशील भएकाले त्यसैअनुसार साहित्य पनि परिवर्तित हुँदै आएको बताए । उनले बलामीको गजल लेखनको चर्चा गरे । कृतिकारले सुन्दर गजल पाठकसामु पस्केका उनले उल्लेख गरे । प्रा. डा. बरालले गजल लयमा नै हुनुपर्नेमा जोड दिए । साहित्यकार प्रमोद प्रधानले ‘बालमञ्जरी’को चर्चा गरे । बलामीका बालकविताले बालमनोविज्ञानलाई समातेको उनले उल्लेख गरे । उनले बलामीका कवितामा बालबालिकाको स्वर मुखरित भएको बताए ।
अर्का वक्ता गजलकार ललिजन रावलले ‘आभासपुञ्ज’माथि पाठकीय मन्तव्य राखे । बलामीका गजलमा विविधता रहेको उनले बताए । रावलले गजलमा विषय र विचार पनि हुनुपर्नेमा जोड दिए ।
कार्यक्रममा दक्षिणकाली नगरपालिकाकी कार्यवाहक प्रमुख वसन्ती तामाङ डंगोलले कवि बलामीको साहित्य लेखनबारे चर्चा गरिन् । कार्यक्रममा आयोजक संस्थाहरू रातोघर फाउन्डेसनकी कवि लक्ष्मी माली र कार्डिनल इन्टरनेसनल बोर्डिङ स्कुलका रमेश केसीसँगै कृतिकार बलामी, वीरेन्द्र बलामीलगायत व्यक्तिहरूले बोलेका थिए ।
