लघुकथा

काठमाडौँ/ २१ फाल्गुन
सुरभि साहित्य प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा शनिबार कृति लोकार्पण तथा पुरस्कार अर्पण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा संस्थाका संरक्षक वरिष्ठ पत्रकार एवम् साहित्यकार विजय चालिसेको कृति ‘जीवनका वक्ररेखा’ र प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको कृति ‘अर्को संसार’को लोकार्पण गरिएको थियो । कृतिको समीक्षा साहित्यकार ठाकुर शर्मा, समालोचक एवम् निबन्धकार गोपी मैनाली र युवराज मैनालीबाट भएको थियो ।
संस्थाका सल्लाहकार समाजसेवी प्रह्लाद चालिसेको सभापतित्व भएको कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार एवम् साहित्यकार रोचाक घिमिरे थिए । प्राज्ञ दिनेशराज पन्त र प्रदेशसभा सदस्य रामेश्वर फुयाल विशिष्ट अतिथि, तथा वरिष्ठ कवि कलानिधि दाहाल, आध्यात्मिक चिन्तक हरिभक्त सिग्देल, वरिष्ठ कवि कणाद महर्षि, साहित्यकार मन्जुश्री प्रधानहरू अतिथि रहेको उक्त कार्यक्रममा प्रतिष्ठानका कोषाध्यक्ष रामकुमार पण्डितले स्वागत मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रममा वरिष्ठ आख्यानकार नारायण ढकाल, वरिष्ठ कथाकार तथा लघुकथाकारहरू क्रमशः मधुवन पौडेल, ध्रुव मधिकर्मी, दिव्य गिरी र रुकु कार्कीलाई सम्मान एवम् पुरस्कार प्रदान गरिएको थियो ।