आइरिस कविता

आमा नभएको घर के घर ? आमा बिनाको म के म ? आमा बिनाको जगत के जगत ? आमा बिना बगेको रगत के रगत ? लाग्छ केहि महिना देखि मेरा नसाहरूमा रगत होइन पानी बगिरहेको छ । अब म कति टुहुरो भएछु ।आफैँलाई अस्तित्वहीन सोच्ने गर्छु । आमा थिइन त म पनि थिएँ र आमाको भौतिक शरीरको अन्त सँगै मेरा सारा सपनाहरूको भौतिक अस्तित्व, मेरा सारा कामनाहरूको उज्यालो अन्त भए । हिजो मसँग मेरी आमा थिइन र पो म मेरा दुःखहरूलाइ सजिलोसँग झेल्न सक्थे । मेरो शक्तिको हरेक हत्केलामा आमा औंला भएर उभिन्थिन र जुध्न सक्थे म आँधीहरूसँग, धकेल्थे दुःखको पाहाडलाई ।
आज आमा नभएको म के म ? एउटा अधुरो एक्लो बथानबाट छुटेको हरिणको बच्चा जस्तो जो कुनै पनि बेला हिस्रक जन्तुको आक्रमणमा पर्न सक्छ । कतै माथी आकाशबाट बाज चील वा गिद्दले उडाएर लान सक्छ।खोइ म किन यति बिघ्न असुरक्षित महसुस गर्छु आफूलाई ?
आमा नभए पछि यो धरातल किन मरूभूमि जस्तो बन्छ ? आमा नभए पछि यी बिरूवाहरूमा किन हरियाली हराएको महसुस हुन्छ ? आमा नभए पछि किन फूलहरूमा सुगन्ध सकिए जस्तो लाग्छ ? आमा हिड्ने बाटो, ती भञ्ज्याङ्, चौतारी खहरे खोला गुर्जे भन्ज्याङ, शिवपुरी अब मेरा सबैभन्दा प्रिय साथी भएका छन् । घाम उदाएर क्षितिज सम्मन पुगुन्जेल आमासँगै बारीमा बितेका मेरा स्वर्णपलहरू जो मेरो सम्झनाको ढुकुटी भित्र नम्बरी सुन बनेर बसेका छन् । राती बिछ्यौनामा जब म एक्लै एकान्तसँग कुरा गर्छु, त्यो एकान्तमा आमाको बिम्ब जुनेली छाया बनेर आउँछ । निदाउनु गाह्रो हुन्छ। निन्द्रा त उसलाइ पो आउँछ होला जो सँग आमा छिन् । मेरा कयौँ रातहरू निन्द्राविहिन बितेका छन् । अफिस सकेर जब घर फर्किँदा कोहि नभएको खण्डहर जस्तो लाग्छ । घरको उज्यालो दीप निभेपछी हजार भोल्टको चिम बालेर पनि के काम ? मनको उज्यालो आमाको असीम मायाको भोल्टले बलिरहेको हुन्थ्यो ।
सुर्य, जुन, तारा आकाश, वनपात, नदी, हावा र अविरल बगिरहने खोलामा केही कमि देख्छु । प्रकृतिले भरिएको यो चराचर जगत अनि यो सृष्टिको मुहारको दिप्ती निभेको जस्तो लाग्छ । हरेक रात म एउटा मृत्यु सुतिरहेको हुन्छु र जब बिहान हुन्छ अनि झल्यास्स सम्झिन्छु । यो लोकमा अब मेरी आमा हुनुहुन्न । कयौँ बिहानीको सूर्य किरणलाई सोधपुछ गर्छु स्वर्गमा गएकी मेरी आमाको खबर बुझेर आउनलाई तर हर बिहानीको सूर्यले मलाई ढाटे जस्तो लाग्छ- कि ऊ जहिले पनि भन्छ “तिम्री आमा ठिक छिन् “भनेर । पक्कै आमा पनि मेरो सम्झनाले रोइरहेकी होलिन् । हरीयाचौरमा जब बिहानीको शीत देख्छु । आमा रातभर रोएर झरेको आँसु हो कि जस्तो लाग्छ । नदीले आँसु बोकेर बगेजस्तो लाग्छ । ताराहरूले जुनेली आँसु झारिरहे जस्तो लाग्छ । किन देख्छु म यो जगत आँसुमय ।
सृष्टिका यावत कुराहरू परिवर्तनशील छन् । अपरिवर्तित चिज अस्तित्वमा नै आउँदैनन् । मेरो गाउँमा आमाले सारेका कतिपय बिरूवाहरू मरिसकेको देखेँ । आगनमा आमाले सारेको मेवाको बोट हुरीले ढालिसकेछ । सानो हुँदा पारी फेदिगाउँमा ठुली आमाले सप्ताहा लगाएको लाकुरीको चौतारी पनि भत्किएछ । हिजो जस्तो लाग्छ आमाको फेरू समाती फेदिगाउँको त्यो उकालो उक्लिएको । ती रूखले कति स्वागत गरेका थिए । सप्ताहमा बालिएको चरू होमको धुवाँमा मेरा स्मृतिहरू बलिरहेछन् । म भित्र आमाले सिङ्गो शब्दकोश भरिदिएकी छिन् ।
म पलपल आमा बोल्छु । म पलपल आमा लेख्छु । म पलपल आमा देख्छु । र म भल भल्ति आमा रून्छु । जति कोमल छु म, मेरा आँखा बाट छल्किने आसुहरू पनि त्यतिकै कोमल छन् । शीतहरू कोमल छन् । चरीका गीतहरू पनि कोमल छन् । हिजो आमा हुदा सबै चिज कोमल थिए र आज आमा नहुँदा पनि सबै ती चिजले आमाको चीर स्मृति बोकेर रोइरहेको हो कि जस्तो लाग्छ यसैले ती कोमल लाग्छन् । भाषामा आमा सिङै शब्दकोष, उज्यालोमा आमा एउटा सिङै घाम । पीडामा आमा ओखती । रोगमा आमा सन्जिवनी । म सन्जिवनी हराएको एउटा रोगी समय हुँ ।
कोमलता आमाको नाम हो । यतिबेला म घामले छोडेको पाहाड जस्तो भएको छु । यतिबेला म हिजोको जस्तो छैन । यतिखेर म फरक अनुभूती लिएर बाँचेको छु । यतिखेर म बाच्नको लागि बाँचेको छु । बेलुकी म घर नआएसम्म आमा निदाउनु हुँदैनथ्ये । अब मेरो लागि कसले अनिन्द्रा भोगेर बाच्छ ? आमा नभएको यो घरमा अरू सबै सबै निदाए जस्तो लाग्छ । एउटा रित्तो खण्डहर जस्तै लाग्छ आँगन । आमा हिँडेको पैँतालाको डोब अझै मेटिएको छैन तर आमाको देह मेटिइसक्यो । हरेक सुर्यास्त सँगै मेटिदै छु म पनि । जीवन, जीवन जस्तो छैन । जति बेला हामी गरीब थियौँ आमाले खोइ कसरी खुवाउनु भो म कहिले भोको बसिन तर जतिबेला हामीलाई खानपुग्ने सम्म भयो अनि आमाले आफ्नो रोगका कारण खाना खानै छोडनु भो । जतिबेला अभावमा बाँचियो त्यो बेला आमाका इच्छाहरू पुरा गर्न सकिएन । जब आमाका इच्छाहरू पूरा गर्न सक्ने हैसियत बन्यो त्यतिबेला सम्म आमाका इच्छाहरू मरिसकेका थिए । मआफूलाइ एउटा अभागी छोरा भन्छु ।
जतिबेला भोकले दु:ख दिन्थ्यो खानेकुरा केही हुँदैनथ्यो । जब खानेकुरा जम्मा गर्न सक्ने भैयो अनि भोक नै लाग्न छोड्यो । कस्तो यो जिन्दगी बुझि नसक्नु छ । इमान्दारीता, दया, परोपकार, पाहुनालाई सदैव सत्कार र एउटा साधा जिन्दगी बाँचेर आमा आफैँ हाम्रा लागि उदाहरण हुनुभयो ।
आमाले सदैव रातो पहिरन रूचाउनु हुन्थ्यो । मैले जुनदिन देखि आमालाइ देखेँ केवल रातो पहिरहनमा देखेँ । सिउँदोमा सदैव रातो सिन्दुर सजिएको हुन्थ्यो । आँखामा कालो गाजल । घाँटीमा रातो पोतेमा उनिएको तिलहरी हमेसा लगाएको देख्थे । घरमा प्राय सधैँ पाहुना आउँदा उहाँ खुशी हुनुहुन्थ्यो । बिरामी हुँदा पनि बारीको काम भ्याएर खाना बनाएर खुवाइवरी हामीलाई स्कुल पठाउनु हुन्थ्यो । हिजो आज बिहे गरेका महिलाहरूका न सिउदोमा सिन्दुर हुन्छ, न आँखामा गाजल हुन्छ न घाँटिमा तिलहरी हुन्छ न रातो पहिरन हुन्छ ।
आजकल कुनै महिलाले रातो लगाइन भने गाउँघरकी अदाना पाखे सोच्ने गर्छ शहरी समाजले । रातो पहिरहनमा रातो सिंदुरमा सजिएको कोमल नारी हेर्नू पर्यो भने मैले आमाको तस्वीर हेर्नुपर्छ । जमाना बदलियो तर खोइ किन हो मलाई मेरै आमा र हजूरआमा बाँचेको युग मन पर्यो र मन परिरहनेछ ।
समय अनौठो बाँचेको छ । अब मैले रातो पहिरहनमा बिहानको घाम जस्तै हाँसिरहने आमाको उपस्थिति पाउन सक्तिन । आमापछि मैले बाँचिरहेको यो समय त्रासदि केवल आँधी आउनु अगाडिको शुन्यता मात्रै हो । एउटा अपुग जीवन बाँचिरहेको छु म । आमा नरहेपछी कोहि पनि आफ्नो नहुँदोरहेछ जस्तो लाग्न थालेको छ । आफूलाइ माया गर्थेँ म किनभने म अगाडि आमा थिइन । अब आमा छैनन र म आफूले आफैँलाई माया गर्न छोडेको छु ।
सबै सबै चिजहरू निर्जीव ढुङ्गा जस्तो लाग्छ । आमा छैनन त कोहि पनि छैन । म पनि आफूलाई छु जस्तो सोच्दिन । म पनि छु भनेर अनुभूती हुन छाडेको धेरै भयो । कहिले काहीँ निन्द्राबाट झल्यास बिउझिदा म आफू होकि होइन भनेर एक चोटि छाम्छु । आमा नभएपछि कहिँ पनि म आफूलाइ सुरक्षित महसुस गर्न सकिरहेको छैन । हुनु र नहुनुको फरक जिन्दगी । बाच्नु र नबाच्नुको बुझाइ जिन्दगी । सबै प्रगतिको अन्त, सबै चिन्तन र सिर्जनाहरू प्रतिको निस्सार बोधिताले छोपिएको छ हिँजो आज मेरो मनको मुहार ।
धेरै बर्ष अगाडि आक्वारिएममा माछा पालेको थिएँ । एउटा आमा माछा थिइ र उसँग दुईवटा बच्चा माछा थिए । एकदिन खाना अडकिएर आमा माछा मरी । बाँकी दुई भुरा माछालाई रोग लाग्न सक्छ भनेर मरेकी आमा माछालाइ आक्वारिएमबाट झिकेर फ्याँकि दिएँ । मरेकी आमा हेरेर भएनि ती भुरा पानीमा चलिरहेका थिए, बाँचिरहेका थिए । तर जब मैले आमा माछाको लास झिकेर फालिदिए, दुई घन्टामा ती भुरा पनि मरे । त्यो दिन रोएँ र आमाको महत्त्व कति रहेछ भनेर बुझेको थिएँ ।
जब आमा हुन्नन रित्तो हुन्छ घर आगन । आमा नहुदा पुजाको मन्दिरबाट भगवान हराएको जस्तो । फूलको पत्रपत्रबाट सौन्दर्य खोसिएको जस्तो । जुनबाट जुनेली हराएको जस्तो । हिमालबाट उज्यालो आभा निभेको जस्तो, यी आमा नहुँदाका अनुभूती हुन् । तर देश नहुदाको अनुभूती यो भन्दा झनै गाम्भिर्य हुन्छन । के भो त आमाको भौतिक अस्तित्व नभएपनि आमाले टेकेको धरती छ मसँग । आमाको पार्थिव शरीर मिसिएको माटो छ् मसँग । आमाले श्वास लिएको वनजङ्गल घनघटा त छ मसँग । आमाले तापेको त्यही घाम आज म तापिरहेछु । आमाले बाँचेको त्यही देशमा आज म पनि बाचिरहेछु । त्यसैले भन्छु देश रहेसम्म यहाँ कोहि पनि टुहुरो हुनुपर्ने छैन ।
लक्ष्मण सिटौला
[email protected]