• २०८२ मंसिर २१, आईतवार

लेखकले जे विश्वास गर्छ त्यो नै उसको शैली हुन्छ ।

रञ्जना निरौला

रञ्जना निरौला

युवा साहित्यकार कुमार शर्माको पहिलो उपन्यास ‘कम्पनी’ सार्वजनिक भएको छ । उहाँ अस्ट्रेलियामा बस्नु हुन्छ र उहाँको पृष्ठभूमि पत्रकारिता हो । विदेशमा बसेर पनि नेपाली साहित्यको सेवागर्दै हुनुहुन्छ । उहाँको विदेश बसाईको अनुभवसँगै साहित्य लेखन र अहिले प्रकाशित उपन्यास कम्पनीको सेरोफेरोमा रहेर रञ्जना निरौलाले कुमार शर्मासँग गरेको स्रष्टा संवाद !!

१. तपाईं अस्ट्रेलियामा बसेर नेपाली साहित्य सिर्जनामा सक्रिय हुनुहुन्छ- विदेशको बसाइले तपाईंको लेखन मनोविज्ञानमा कस्ता परिवर्तन ल्यायो ?
विदेश बसाई आफैँले त खास फरक पार्दैन । तर यताको आफ्नो काम, दैनिक रुटिन अनि अन्य जिम्मेदारीका बीच लेखनको लागि समय जुटाउन, त्यसमा आफू उत्प्रेरित भैरहन, लेखनको लागि चाहिने ‘मेन्टल स्पेस’ कायम राखिराख्न चैं अवश्य पनि चुनौतीपूर्ण हुन्छ ।

२. साहित्य सधैं मातृभूमिसँग जोडिएर सिर्जिन्छ भनिन्छ । विदेशमा रहेका नेपालीहरूको भावना समेट्न तपाईंलाई कत्तिको सहज वा कठिन लाग्छ ?
साहित्य मातृभूमिसँग त अवश्य जोडिन्छ नै- कहिले कथा, परिवेशले जोडिन्छ भने भाषागत हिसाबले त झन् सधैं जोडिन्छ । आखिर साहित्यले आफ्नो मातृभाषा कुनै न कुनै रुपबाट खोजी नै हाल्छ । यदि विदेशको आफ्नो अनुभव लेख्ने हो भने त त्यो एक लेखकको लागि सहज नै हुन्छ जस्तो लाग्छ किनकि यहाँ हरकोहीको अनुभव उस्तै हुन्छ । हर कसैको व्यथा उस्तै हुन्छ । एक हिसाबले लेखकले आफ्नै अनुभवमात्र लेख्दा पनि त्यसले समग्रको प्रतिनिधित्व गरेजस्तो हुन्छ ।

३. अस्ट्रेलियाको बहुसांस्कृतिक वातावरणले तपाईंलाई कथ्य-विषय छनोटमा कति प्रभाव पा¥यो?
मेरो पहिलो उपन्यास ‘कम्पनी’ दक्षिण कोरियाको सोल सहरमा आधारित भएकोले यसमा आस्ट्रेलियाको धेरै साईनो त छैन तर मेरो आगामी लेखनमा जरुर पनि अस्ट्रेलियाको बहुसंस्कृति वातावरणको प्रभाव देखिनेछ । आखिर एउटा लेखकले आफ्नै आसपासबाट कथा टिप्ने हो ।

४. विदेशमा समय, काम र दायित्वबीच लेखनका लागि समय कसरी निकाल्नुहुन्छ ?
मैले अघि भनेजस्तै डायस्पोराका लेखकको लागि समय जुटाउनु नै सबैभन्दा ठूलो चुनौती हो । तर यदि साँच्चै लेख्ने हुटहुटी छ भने ती फगत बाहना मात्रै हुन् । आखिर जुन देश जता बसेपनि मिल्ने त फेरि एक दिनमा केवल २४ घण्टा मात्र न हो !

५. यहाँको नेपाली समुदायले तपाईंका रचनाहरूप्रति कस्तो प्रतिक्रिया देखाएको छ ?
एकदम सकारात्मक प्रतिक्रिया पाएको छु । त्यसमाथि म लेखिरहने हुनाले साथीभाइमाझ ‘यो लेखक हो’ भन्ने छवि त छँदै छ । तर साहित्यले पाउने माया त्यसको गुणको आधारमा हुनुपर्छ, समुदाय केन्द्रित होइन ।

६. विदेशमै बस्दा ‘नेपालीपन’लाई जोगाएर लेख्नु चुनौती हो-तपाईंको अनुभव कस्तो छ ?
नेपालीपन भन्दा पनि साहित्य केन्द्रित हुनुपर्छ जस्तो लाग्छ मलाई लेखन । तपाईं एउटा उम्दा साहित्य लेख्नुस्त्य- समा ‘नेपालीपन’ स्वतः हुन्छ । त्यसलाई खोज्न या जोगाउनै पर्दैन ।

७. नेपाली साहित्यमा प्रवेश गर्ने प्रेरणा तपाईँलाई कहाँबाट प्राप्त भयो ?
मेरो विगत पत्रकारिता हो । तर म अँग्रेजी माध्यममा गर्थें । नेपाली साहित्य पढेपनि लेख्ने त फेरि पनि अंग्रेजी मै हो जस्तो लाग्थ्यो । ठूलो भ्रममा थिएँ म । बुद्धिसागर अनि बसन्त बस्नेतका फिचर पढेर दंग पर्थें । छोरी जन्मेपछि खोई किन अचम्मसँग नेपाली भाषामा लेख्ने एउटा जुनून जस्तो सवार भयो ।

८. लेखनको सुरुवाती चरणदेखि अहिलेको अवस्था सम्म-कुन परिवर्तनहरूलाई तपाईँले सबैभन्दा महत्त्वपूर्ण ठान्नुहुन्छ ?
मुख्य त आफ्नो पठन नै हो । लेखकले आफूलाई निखार्ने भनेकै धेरै भन्दा धेरै साहित्य पढेर हो । अनि नियमित लेखनको कुरा त छँदै छ । त्यससँगै आफ्नो अनुशासनको कुरा पनि आउँछ ।

९. तपाईंका रचनाहरूमा भावुकता, यथार्थ र समाजशास्त्रको मिश्रण देखिन्छ-यो शैली तपाईंले कसरी विकास गर्नुभयो ?
मलाई लाग्छ एउटा लेखकलाई पहिले उसको अनुभव, उसले देखको संसार अनि त्यसपछि उसले पढ्ने साहित्य- यी कुराहरूले लेखकको शैली या भनौं उसको लेखनलाई ‘मोल्ड’ गर्छन् । लेख्दै जाँदा समयक्रममा त्यो उसको शैली बन्ने हो । लेखकले जे विश्वास गर्छ त्यो नै उसको शैली हुन्छ ।

१०. लेखनमा तपाईँका आदर्श÷प्रेरणास्रोत को-को हुन् ?
लेखनमा कुनै एउटै लेखक आदर्श त हुँदैन तर मलाई सबैभन्दा मन परेको नेपाली लेखक धच गोतामे हुन् । उनको उपन्यास ‘घामका पाइलाहरू’ हरेक कोणबाट उत्कृष्ट छ । मेरो लागि त्यो एउटा ड्रिम पुस्तक हो ।

११. अहिलेका युवा लेखकहरूको लेखन–दिशाबारे तपाईँको मूल्यांकन कस्तो छ ?
अहिलेको लेखक पुस्ता धेरै हिसाबबाट ‘फ्रि’ देख्छु म । मतलब कुनै वाद विशेष छैन । प्रयोगवाद अँगाल्न पनि डर मान्दैन । आफ्नो कन्भिक्सन जे मा छ, त्यही लेख्न सक्नु, लेख्न खोज्नु-यो महत्वपूर्ण कुरा हो ।

१२. साहित्य सिर्जनालाई पेशा बनाउने कि जीवन–शैली ? तपाईँको दृष्टिकोण के हो ?
पेशा बनाउँदा बोझ हुन्छ जस्तो लाग्छ मलाई । प्रेसर जस्तो । साहित्य प्रेमिका जस्तो नै ठीक ।

१३. लेखनमा आलोचना र चर्चाले तपाईंलाई कसरी प्रभावित गर्छ ?
चर्चाले आनन्द त दिन्छ तर यदि लेखन सुधार्ने ध्येय हो भने आलोचना आवश्यक हुन्छ । आखिर लेखक राम्रो या नराम्रो– यसको निर्णय मात्र पाठकले गर्ने हुन् ।

१४. तपाईंको पहिलो उपन्यास ‘कम्पनी ’ अहिले सार्वजनिक भएको छ-कम्पनी लेख्न प्रेरित गर्ने मूल प्रेरणा के थियो ?
उपन्यास लेख्न भनेर बसेको थिएँ । दश हजार शब्द जति लेखेको थिएँ अर्कै केही । त्यसपछि अचानक एउटा परिवेश, जंगलबीच अवस्थित एउटा कम्पनीको वर्णन दिमागमा आयो । कालान्तरमा त्यो ‘कम्पनी’को पहिलो च्यापटर भयो । लेख्दै गएँ । कालान्तरमा त्यो पहिलो उपन्यास बन्यो । कहिलेकाहीं विषयवस्तु आफै प्रकट हुँदोरहेछ । लेखकले त्यसलाई चिन्न पर्दो रहेछ ।

१५.‘कम्पनि’ उपन्यासमा उठाइएका मुख्य विषय–वस्तुहरू के–के हुन् ?
मूलतः यो युवा मनोविज्ञानमा आधारित छ । एकातिर छ समाज, परिवार अनि त्यसले पहिल्याएको परम्परागत बाटो, अर्कोतिर छ– आफ्नो अन्तरआत्माको आवाज, आफ्नो डे्स्टिनी, आफ्नो भवितव्य । यी दुईबीचको द्वन्द नै ‘कम्पनी’ हो ।

१६.‘कम्पनि’का पात्रहरू कत्तिको यथार्थसँग आधारित हुन् ? कतिपय पात्रहरू तपाईंको वास्तविक जीवनसँग जोडिन्छन् कि ?
कम्पनी’का पात्रहरु मेरो जीवनसँग जोडिन्छन् नै तर धेरै किस्सा, घटना अनि पात्रहरु काल्पनिक पनि हुन् । न त कल्पना मात्र काफी छ, न त हकीकत !

१७. लेखन प्रक्रियामा कस्ता चुनौती आए ?
पहिलो ड्राफ्ट लेखिसकेपछि प्रकाशन भएर आउँदासम्म एउटा लामो प्रकियाबाट गुज्रिने रहेछ– पुस्तक प्रकाशनको यात्रा । एउटा लेखकको धैर्यको पनि परीक्षा लिने रहेछ पुस्तक प्रकाशनले ।

१८. उपन्यासको शीर्षक ‘कम्पनी ’ यसले दिन खोजेको संकेत के हो?
समग्र उपन्यासको सार बोकेको छ– शीर्षक ‘कम्पनी’ले । पहिला केही अनुच्छेद लेख्दा नै पुस्तकको टाइटल मलाई थाहा भैसेको थियो ।

१९. पुस्तक प्रकाशित भएपछि पाठकबाट आएको प्रारम्भिक प्रतिक्रिया कस्तो छ ?
निकै सकारात्मक प्रतिक्रिया पाएको छु । एक हिसाबले मैले सोचेभन्दा बढी माया अनि रेस्पोन्स पाएको छु । यति उत्साहित हुन्छु जस्तो म आफैँलाई पनि लागेको थिएन ।

२० यदि ‘कम्पनि’लाई भविष्यमा चलचित्र÷वेब–सिरिज बनाउने प्रस्ताव आयो भने तपाईंको दृष्टि कस्तो रहनेछ ?
तपाईंको पुस्तक पढिरहँदा कुनै सिनेमाको स्क्रिनप्ले पढिरहेजस्तो लाग्यो, एकदम डिटेल-एउटा पाठक प्रतिक्रिया यस्तो पनि आएको थियो । सिनेमाको प्रस्ताव आयो भने म निश्चय पनि रोमान्चित हुनेछु ।

२१. ‘कम्पनी ’पछि तपाईँका आगामी लेखन–योजनाहरू के–के छन् ?
अस्ट्रेलिया र यताको जीवनमा आधारित केही कथाहरुको संग्रह निकाल्ने योजना छ । त्यसै अनुरुप केही काम पनि भैरहेका छन् ।

२२ विदेशमा बसेर नेपाली साहित्यको सेवामा संलग्न युवा लेखकहरूको लागि केही भन्न चाहनु हुन्छ ?
साहित्य सेवा भनेर नलेख्नुस् । आफ्नै लागि लेख्नुस्, आफ्नो बुझाई अनुसार लेख्नुस् । त्यो नै सुन्दर साहित्य हुन्छ ।

२३ ‘कम्पनि’ किन पढ्न आवश्यक छ ? एक वाक्यमा भन्नुस न ।
पढ्नै पर्ने पुस्तक, सुन्नै पर्ने संगीत, हेर्नै पर्ने सिनेमा संसारमा त्यस्तो केहि पनि हुँदैन । नेपाली साहित्यमा रुचि छ, वर्तमान पुस्ताको लेखन पढ्न मन छ भने चैं जरुर पढनुहोस् भन्न चाहन्छु ।