• २०८२ मंसिर २२, सोमबार

चेतनाथ आचार्यको ‘चिनियाँ दृष्टिकोण’ विमोचित

काठमाडौँ  ।

लेखक तथा पत्रकार चेतनाथ आचार्यद्वारा लिखित पुस्तक ‘चिनियाँ दृष्टिकोण’ राजधानीमा लोकापर्ण भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय भवनको सिद्धिचरण श्रेष्ठ हलमा पूर्वमुख्यसचिव तथा चीनका पूर्वराजदूत लिलामणि पौडेल, प्राध्यापक तथा कानुनविद् युवराज संग्रौला, सभामुख देवराज घिमिरे र लेखकले संयुक्त रुपमा पुस्तकको लोकार्पण गरेका हुन् ।

प्रमुख अतिथि सभामुख घिमिरेले चीनको विकास र नेपाल–चीन अन्तरसम्बन्ध बुझाउने पुस्तक रहेको बताए । लोकार्पणका क्रममा पूर्वमुख्यसचिव पौडेलले पुस्तकमा चीनको आधिकारिक दस्तावेजहरुको उल्था गरिएको बताए । उनले भने, ‘चीनका राष्ट्रपति सी जिनपिङकै समयमा भएको विकास र घटनाक्रमहरूको आधिकारिक दस्तावेजहरू समेटिएको छ ।’

पौडेलले बिआरआईको बारेमा बुझ्न चाहनेका लागि पुस्तक सहयोगी बन्ने बताए । उनले पुस्तकमाथि टिप्पणी गर्दै भने, ‘भावानुवाद कम, शब्दानुवाद बढी भएको छ । भाषा क्लिष्ट पनि छ ।’ साथै पौडेलले लेखक आचार्यका आठ किताबमध्ये पाँच किताबले चिनियाँलाई चिनाउने कोशिस गरेको बताए । अर्का टिप्पणीकार पूर्वमहान्यायाधिवक्तासमेत रहेका संग्रौलाले पुस्तक सूचनात्मक र विश्लेषणात्मक रहेको बताए। उनले भने, ‘चिनियाँ विकास सूचनाहरु धेरै छन् । र चिनियाँ डेमोक्रेसी बुझ्नका लागि यो किताब सहयोगी बन्न सक्छ ।’

२८ वर्षदेखि पत्रकारितामा सक्रिय लेखक आचार्यले चीनको बारेमा बुझ्न सजिलो हुन्छ भनेर यो किताब तयार पारेको बताए । १२ वर्षदेखि बेइजिङस्थित चिनियाँ मिडिया ग्रुप ‘सीएमजी’ नेपाली सेवामा विदेशी विशेषज्ञका रुपमा कार्यरत छन् आचार्य। आचार्यले चीनमा रहँदा त्यहाँको संस्कृति, चालचलन, भूगोल, पर्यटन, राजनीति, समाजका बारेमा लेख्दै आएका छन् । चीनको विकासले विश्वलाई सकारात्मक प्रभाव पारेको बताउने आचार्यका हालसम्म आठ पुस्तक प्रकाशित छन् । मकालु ग्रुप एण्ड कम्पनीले यो किताबलाई बजारमा ल्याएको हो ।