• २०८१ श्रावाण ११ शुक्रबार

जोशीको कवितासंग्रह ‘अनुभूतिका महक’ सार्वजनिक

ललितपुर ।

लेखक ध्रुव जोशीद्वारा लेखिएका नेपाली र हिन्दी–उर्दू भाषाको कवितासंग्रह ‘अनुभूतिका महक’ एक समारोहबीच सार्वजनिक गरियो । ललितपुर सानेपामा आयोजित कार्यक्रममा प्रमुखअतिथि कवि तथा संस्कृतिविद् तुलसी दिवसले कविताकृति सार्वजनिक गर्दै उमेरले मानिसको सिर्जनशीलतालाई नछेक्ने बताए ।

कवि जोशीले ८० वर्षको उमेरमा कविताकृति प्रकाशनमा ल्याएकोमा शुभकामना दिँदै कवि दिवसले भने “ध्रुव जोशी प्राविधिक क्षेत्रका व्यक्ति भएपनि एउटा मानिसमा सिर्जनशीलता र कवित्वको भाव हुनसक्ने उनको काव्यकृतिले स्पष्ट पारेको छ ।”
कार्यक्रममा प्रा.डा. कृष्णप्रसाद दाहाल र प्रा.डा. सञ्जिता वर्माले कृतिमाथि समीक्षात्मक टिप्पणी गरे । कृषि विज्ञ तथा कवि ध्रुव जोशीले जीवनलाई समयले प्रभावमा पारेकै कारण आफू कविताको महासागरमा हेलिन आइपुगेको बताए ।