कथा
हिंड्दा हिंड्दै अध्यारो खोँचभित्र झरेँ भनेँ
जालझेलमा अल्झिएर धरापमा परेँ भनेँ
मेरो अधुरो संगीत पूरा गरिदिनु मेरी प्रेयसी,
जीवनको तार टुटेर म अल्पायुमै मरेँ भनेँ ।
धरतीको धूलो र मान्छे उस्तै उस्तै हो नानी
ब्रमाण्डको कण हो भन्छन् बुझ्ने महाज्ञानी
पृथक पृथक लेखिनेछन् यिनका सबै कथा,
पढ्न इच्छा छैन भन्छन् किन जानीजानी ।
यौवनको संघारमा जब जीवनले पाइला टेक्छ
प्रेममा आउने हरेक आँधीको जब बेग छेक्छ
तब अङ्ग–अङ्गमा बग्ने मधुर प्रेमको छाल टिपेर,
कवि रोमाञ्चक प्रेमको अद्भुत कविता लेख्छ ।
अराजकता उष्ण आगो हो सबथोक जलाउछ
जलेको खरानीमा फेरि मुजुरा कहाँ पलाउछ
सोध्न मनलाग्छ शासन गर्नेहरुको मति देखेर,
मेरो स्वतन्त्र देशको शासन कसले चलाउछ ?
एक नजरमा लाखौं सम्झनाका सुनामी उठ्छन्
मधुर चाहनाका हजारौं ग्रन्थी आपसमा जुट्छन्
आकर्षण जब गाढा प्रेममा लतपत हुन्छ नि दुनियाँ
प्यासी यौवनका शक्तिशाली ज्वालामुखी फुट्छन् ।
बाबुराम न्यौपाने “उत्स“
भोजपुर,बोखिम, हालः दमक, झापा