• २०८२ मंसिर २२, सोमबार

डा. यादवप्रसाद पन्तको १०१औँ जन्मजयन्तीको अवसरमा विभिन्न क्षेत्रका चार साधकहरू सम्मानित

काठमाडौं ।

नेपाली अर्थ जगतका विद्वान व्यक्तित्व डा. यादवप्रसाद पन्तको १०१औँ जन्मजयन्तीको अवसर पारेर डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठानले विभिन्न क्षेत्रका चार साधकहरूलाई अभिनन्दन एवम् सम्मानित गरेको छ ।

डिल्लीबजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ अधिवक्ता शताब्दी पुरुष कृष्णप्रसाद भण्डारीले प्रा. डा. पार्थिवेश्वर तिमिल्सिनालाई शिक्षा तथा आर्थिक क्षेत्रमा विशेष योगदान दिएबापत अभिनन्दन गरे । प्रमुख अतिथि भण्डारीले संखुवासभास्थित ‘सिद्धकाली महिला सशक्तीकरण गाउँ समितिलाई ‘श्रीमती रमादेवी पन्त सामाजिक सम्मान’ प्रदान गरे । उक्त सम्मान संस्थाकी प्रतिनिधि हेमकुमारी चौहानले ग्रहण गरिन् । त्यस्तै ‘डा. यादवप्रसाद पन्त पत्रकारिता सम्मान’ बाह्रखरी डिजिटल न्युजका प्रधान सम्पादक प्रतीक प्रधानलाई प्रदान गरियो ।

उक्त अवसरमा प्रतिष्ठानकी अध्यक्ष मीरा अज्र्यालले प्रमुख अतिथि वरिष्ठ अधिवक्ता भण्डारीलाई विशेष सम्मानद्वारा सम्मानित गरिन् । कार्यक्रममा शैक्षिक शुल्कबापत पाल्ही क्याम्पस, परासीलाई रकम हस्तान्तरण गरियो । सोही अवसरमा ‘डा. यादवप्रसाद पन्त: सन्दर्भ र सार’ नामक पुस्तक पनि लोकार्पण गरियो । सम्बोधनका क्रममा प्रमुख अतिथि भण्डारीले डा. यादवप्रसाद पन्तजस्तो अर्थशास्त्री नेपालमा नजन्मिएको बताए ।

प्रा.डा. तिमिल्सिनाले डा. पन्त आफ्नो गुरु मात्र नभएर जीवनमा प्रेरणाको अजस्र स्रोत भएको पनि उल्लेख गरे । डा. तिमिल्सिनाले डा. पन्तसँग आफ्नो पहिलो भेट आइए पढ्दा भएको सम्झना गर्दै उनको आर्थिक, सामाजिक र राजनीतिक पक्षहरूकाबारेमा चर्चा गरे ।

सम्मानित संस्थाका प्रतिनिधि हेमकुमारी चौहानले प्राप्त सम्मानबाट आफूहरूलाई काम गर्न अझै उर्जा मिलेको बताइन् भने पत्रकार प्रधानले डा. पन्तसँगको भेटको क्षण स्मरण गरे । प्रतिष्ठानका सचिव गोविन्दप्रसाद रेग्मीले संस्थाले गर्दैआएका कामबारे जानकारी गराए । उक्त अवसरमा राधेश पन्त र अज्र्यालले पनि आफ्ना धारणा राखे ।