• २०८२ पुष १४, सोमबार

युवा लेखक सुरेश याक्सोका कथासंग्रह ‘पेनिबा’ लोर्कापण

काठमाडौं, कार्तिक २५ ।

उनी लेखकमात्र होइनन्, जीवनका अनुवादक हुन्: बैरागी काइँला

युवा लेखक सुरेश याक्सोका कथा संग्रह ‘पेनिबा’ आज एक समारोहका बीच लोकार्पण भएको छ । काठमाडौंमा आयोजित विमोचन समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति, विशिष्ठ कवि एवम् मुन्दुमविद् बैरागी काइँला, विशिष्ठ कवि श्रवण मुकारुङ्ग, साहित्यकार–कथाकार विना थिङ, नेपाल प्रहरीका आइजिपी चन्द्रकुबेर खापुङ, कवि शशी लुलम्बू र समीक्षक तुलसी गौतम तथा लेखकको आमा लक्ष्मी लिम्बूले संयुक्त रूपमा पुस्तक लोकार्पण गुर्नभएको हो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै कवि काइँलाले भन्नुभयो, “नेपाली साहित्यमा नयाँ कथा लेख्नसक्ने कथाकार जन्मेको भनेर छाती ठोक्ने अवस्था आएको छ । उनको कथामा याक्थुङ जातिको आन्तरिक सौन्दर्य र बहुजातीय समाजको जिवन्त अभिव्यक्ति छ । उनी लेखकमात्र होइन जीवनका अनुवादक हुन् । वर्तमान पुस्ताको आत्मकथा पनि हो यो कृति । उनको कथामा दैनिक जीवनको गाहे अप्ठ्यारोहरूलाई जति कलात्मक ढंगले प्रस्तुत गरिएको छ, शोषण, गरिबी, असमानताविरुद्ध कोलमभावमा विद्रोहचेत पनि झल्केको छ ।”

प्रमुख अतिथि काइँलाले, “लिम्बू भाषामा पेनिबा भनेको बाहुन–क्षेत्रीलाई जनाउने शब्द हो । यद्यपि कथामा कसैमाथि व्यंग्यात्मक सटायर भने छैन । यसमा नेपाली समाज र प्रवासमा बस्नेको जीवनको गहिंरो संवेदनामात्र नभएर याक्थुङ जातीको संस्कृति र संस्कारका कुरा पनि छन् । यो समाजिकमात्र नभएर मनोवैज्ञानि कथा पनि हो ।”

विशिष्ठ अतिथिको आसनबाट बोल्दै कवि श्रवण मुकारुङले नयाँ कथाकारको किताब लोकार्पण गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । त्यस्तै कथाकार विना थिङले भन्नुभयो, “कथाकार सुरेश यक्सोले सामाजिक यथार्थमा आधारित दैनिक जीवनका घटनाहरूलाई मनोवैज्ञानिक ढंगले प्रस्तुत गर्नुभएको छ । कथाहरू सामाजिक र दार्शनिक चेतनाले भरिएका छन् । लेखक याक्सोसँग आफ्नै धरातल, परिवेश, अनुभव, अनुभूति र सिकाइ छ । तीनै विचारहरू पेनिबा कथासंग्रहमा प्रकट भएका छन् । उनका कथाहरू पढिरहँदा उनको वैचारिक विराटतालाई हामी महसुस गर्न सक्छौ । उनका कथाहरूमा परदेशी नोस्टाल्जिया मात्र होइन, आदर्श प्रेमका मानकहरूमाथि पनि तिखो प्रश्न गरिएका छन् ।”

कथाकृतिमाथि समालोचनात्मक दृष्टिकोण प्रस्तुत गर्दै तुलसी गौतमले, कथाकारले मुन्दुमको आँखा र दर्शनले प्रेमलाई हेरेको बताउनुभयो । समारोहको अध्यक्षता गरिरहुनभएका कवि शशी लुलम्बूले कथाकारलाई बधाई दिदैं आगामी दिनमा यस्तै संग्रहहरू प्रकाशन हुने अपेक्षा रहेको बताउनुभयो । कार्यक्रम मैयुङट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवद्र्धन केन्द्र तथा सभ्यता अन्वेशष केन्द्रले आयोजना गरेको थियो । संग्रहमा १५ वटा कथाहरू संग्रहित रहेकाछन् । भने रत्न पुस्तक भण्डारले उक्त संग्रह प्रकाशन गरेको हो ।