स्कुल भर्ना हुनुभन्दा
केही दिनअगावै एकदिन
मेरी नातिनीले मलाई सोधी-
‘हजुरबुवा, तपाई एकदम मसहुर हुनुहुन्छ रे, हो ?’
तत्कालै फर्किएर मैले सोधेँ-
‘तिमीलाई थाहा छ मसहुर हुनु के हो ?’
उसले प्याट्टै भनी- ‘थाहा छैन’
मैले कुरा टारेँ- ‘यो कुनै राम्रो कुरा हैन, छोरी !’
अब अहिले
ऊ माध्यमिक विद्यालयमा पढ्दै छे
र मेरो एउटा कविता उसको पाठ्यक्रममा छ
मैले थाहा पाएँ-
ऊ आफ्ना साथीहरूलाई मलाई चिनेको दाबी गर्छे ।
यसपटक मैले सोधेँ उसलाई-
‘तिमीले के भन्यौ मेरा बारेमा साथीहरूलाई ?’
‘कि तपाईं पनि अरूजस्तै सामान्य
एउटो बूढो मान्छे हुनुहुन्छ,
तर, त्यो बालकजस्तो जो एक्लै आफैसँग खेलिरहन्छ ।’
उसको जवाफले म एकदमै खुसी भएँ
र भनेँ- ‘एकदम ठीक छोरी, धन्यवाद !’
त्यसपछि मेरो दिन साँचै रमाइलो भयो ।
अनुवाद: राजेन्द्र शलभ