• २०८२ मंसिर ८, सोमबार

सुरजको र विनोदको ‘यहीँदुःख गरम्ला’ सार्वजनिक

पोखरा ।

गीतकार प्रतिष्ठान नेपालले गीतकार सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँदुःख गरम्ला’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । गीतकार प्रतिष्ठानद्वारा पोखरामा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका संस्थापक सदस्य सचिव तीर्थ श्रेष्ठले भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा सङ्गीत पनि गायक बानियाकै रहेको छ । विदेश जाने क्रम बढिरहेको अवस्थामा स्वदेशमै दुःख गरेर भएपनि बाँच्नुपर्ने भाव समेटिएको गीतले नयाँ पुस्तालाई विदेश जानबाट किन रोक्न सकिएन भन्ने प्रश्न उठाएको छ । गीतकार उपाध्यायले ग्रामीण जीवनको यथार्थ घटनाबाट प्रेरित भएर लेखिएको गीतले मनोरञ्जन मात्र नभई सन्देश पनि दिने विश्वास व्यक्त गरे । गायक बानियाले आफूलाई मन परेको गीत मध्ये यो पनि एक भएको भन्दै गीतले आमदर्शकलाई मात्र होइन, सत्ता सञ्चालकलाई समेत एकपटक सोच्न बाध्य बनाउने धारणा राखे । उनले सुरजको गीतले आफ्नो मन छोएकाले गीत तयार पारिएको अनुभव सुनाए ।

कार्यक्रमका प्रमुख अतिथि गीतकार तीर्थ श्रेष्ठले विनोद र सुरज पोखरामै बसेर नेपाली साहित्य र सङ्गीतका लागि गरेको योगदान अविस्मरणीय रहेको बताए । गीत लेखन कष्टकर यात्रा भएको भन्दै उनले गायक तथा सङ्गीतकारले यो मर्म बुझेर प्रस्तुत गर्दा मात्र आम स्रोताले मनपराउने विचार राखे । उनले यो गीतका शब्दमाथि गायन, दृश्याङ्कन र अभिनयको तालमेल मिलेकाले पनि सफल बन्ने विश्वास व्यक्त गरे ।

सचिव रुपिन्द्र प्रभावीको सञ्चालन र प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा कलाकार तथा निर्देशक अनुप बराल, कलाकार प्रकाश घिर्देशक नेत्र गुरुङ लगायतले शुभकामना दिएका थिए । काव्यालयका लागि विक्रम कार्कीको प्रस्तुति रहेको गीतमा कार्कीसँगै सुषमा श्रेष्ठको अभिनय, मिलनशङ्करको छायाङ्कन तथा राजेश विष्टको सङ्गीत संयोजन रहेको छ ।