• २०८१ चैत २ आइतबार

गोविन्द गिरी प्रेरणाको ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ विमोचन

गोविन्द गिरी प्रेरणाको पछिल्लो कृति लघुकथासङ्ग्रह ‘बिसौँ शताब्दीको अद्वितीय खेल’ एक विशेष कार्यक्रमका बीच विमोचन गरियो । नेपाल स्रष्टा समाज,काठमाडौंद्वारा प्रकाशित उक्त कृतिलाई समाजकै आयोजनामा अनामनगरस्थित निम्तो रेष्टरेन्टमा प्रमुख अतिथि वरिष्ठ समालोचक प्रा. डा. दयाराम श्रेष्ठले विमोचन गरेका हुन् ।

नेपाल स्रष्टा समाज, काठमाडौंका अध्यक्ष श्रीओम श्रेष्ठ ’रोदन’ को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथिका आसनबाट बोल्दै श्रेष्ठले लघुकथा के हो कस्तो हुनुपर्छ, कथा र लघुकथामा के कस्ता समानता र भिन्नता छन् भन्ने कुराको चर्चा गर्दै प्रेरणाका लघुकथाहरूमा विभिन्न चार रङ्गहरूको संयोजन रहेको बताए ।

त्यसैगरी, समालोचक श्रेष्ठले प्रेरणाका लघुकथाहरू लुते, डर छेरुवा, भगुवा, लुरे र झुसे नभएर साहसी, आँटिलो, दरो, बहादुर र चोटिला रहेको बताए ।सभापतिको मन्तव्यमा श्रीओम श्रेष्ठ’रोदन’ले लघुकथाका बारे चर्चा गर्दै ४० को दशकदेखि नै लोकप्रिय रहेको लघुकथा विधा सशक्त रहेको बताउँदै इतिहास समृध्द छ भने जतिसुकै दबाएर राखे पनि एक दिन उजागर हुने कुरा प्रष्ट्याए ।

लेखकीय मन्तव्यमा स्रष्टा प्रेरणाले ५० को दशकमा लेखिएका आफ्ना लघुकथाहरू ५० वटै रहेर प्रकाशन हुनु आफैँमा एउटा संयोग भएको र स्रष्टा मित्रहरूकै आग्रहमा यो लघुकथा अहिले प्रकाशनमा ल्याएको कुरा बताए ।