• २०८३ भाद्र १८, बिहीबार

साहित्यकार राजेश्वर थापा पुरस्कृत तथा सम्मानित

ताप्लेजुङ ।

फुङ्लिङ नगरपालिकाले साहित्यकार एवं साहित्यसाधक राजेश्वर थापालाई पुस्तक दिवसको अवसर पारेर १ लाख ५१ हजार रुपैयाँसहित ताम्रपत्रद्वारा सम्मान गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा नगरप्रमुख तथा कार्यक्रमका अध्यक्ष अमिर मादेन, उपप्रमुख भीमदेवी ओझा र प्रमुख प्रशासकीय अधिकृत मोहनलाल कनेरुले संयुक्त रूपमा थापालाई सम्मान गर्नुभएको हो । आयोजकका अनुसार ताप्लेजुङमा कुनै व्यक्तिले प्राप्त गरेको यो अहिलेसम्मकै ठूलो पुरस्कार राशि हो ।

सामूहिक राष्ट्रिय गानबाट शुरू भएको कार्यक्रममा दीपज्योति पुस्तकालयका संस्थापक एवं सर्जक भरत गुरुङ, मुकुमलुङ साहित्यिक प्रतिष्ठानका अध्यक्ष मनिष हेल्लोक, कञ्चनजङ्घा साहित्य प्रतिष्ठानका शान्तिराम नेपाल, समाजसेवी तथा साहित्यकार चन्द्र मादेन ‘आन्छन’, पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी प्रमुख प्रजीन हाङ्बाङ, प्याब्सनका निवर्तमान अध्यक्ष युवराज गिरी तथा समाजसेवी एवं बौद्धिक व्यक्तित्व सुन्दरमोहन शाक्यलगायतले सम्मानित साहित्यकार थापालाई बधाई तथा शुभकामना दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मोहनलाल पनेरुले स्वागत मन्तव्य राख्नुभएको थियो। समारोहमा भूमि प्रशासन कार्यालयका प्रमुख डिल्लीप्रसाद सिटौला, फुङ्लिङ नगरपालिकाका अधिकांश वडाध्यक्ष, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि, प्याब्सनका जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष, शिक्षक महासङ्घका जिल्ला अध्यक्ष, विभिन्न साहित्यकार तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति थियो ।

सम्मान ग्रहण गर्दै साहित्यकार राजेश्वर थापाले आफूले धेरै पुस्तक लेखे पनि त्यसलाई त्यति ठूलो उपलब्धिका रूपमा नलिएको बताउनुभयो । उहाँले हरेक मानिसले आफ्नो कर्म गर्न छोड्न नहुने धारणा राख्दै आफूलाई सम्मान गरेकोमा फुङ्लिङ नगरपालिकाका प्रमुखसहित सम्पूर्णप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा नगरप्रमुख अमिर मादेनले साहित्य क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि आफू सधैँ सकारात्मक रहेको बताउनुभयो । साहित्य क्षेत्रमा सहयोग गर्न कतिपयले कन्जुस्याइँ गरे पनि आफूले आगामी दिनमा साहित्यिक गतिविधिका लागि ५ लाख रुपैयाँभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । केही महिनाअघि साहित्यकार थापाले आफूले लेखेका छ दर्जनभन्दा बढी पुस्तकसहित अन्य पुस्तकसमेत गरी ५ हजारभन्दा बढी पुस्तक फुङ्लिङ नगरपालिकालाई हस्तान्तरण गर्नुभएको थियो ।