समाचार
काठमाडौँ ।
गायक मीन केसीको नयाँ गीत यो दिल भो खाली सार्वजनिक भएको छ । पुराना गायक मीन केसी र माधवी अर्यालको स्वरमा रहेको गीत ‘यो दिल भो खाली’ मा गायक केसीको शब्द र संगीत रहेको छ । जुजु गुरुङको संगीत संयोजन रहेको यस गीतको अडियो भिडियोको उत्पादन भने गायक केसीले नै गरेका छन् ।
यो दिल भो खाली गीतको म्यूजिक भिडियोमा रमेश चन्द सोडारी र सरिता दानकुटीको अभिनय रहेको छ । भिडियोलाई वीरेन्द्र भाट विपिन र शिव मिश्रले छायाँकन गरेका छन् भने वीरेन्द्र भाट विपिनको सम्पादन रहेको छ । भिडियोको निर्देशन तथा कोरियाग्राफर भने शिव विक हुन् । भिडियोलाई गायक मीन केसीको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
पुराना गायक मीन केसी गोरखा नगरपालिका वार्ड नं. १ का स्थायी बासिन्दा हुन् । उनी यतिबेला अमेरिकामा कार्यरत छन् । भौतिक जीवन जहाँ जसरी बिते पनि मन भने नेपाली गीतसंगीतमा नै क्रियाशील रहेको छ । उनी बोष्टर्न लोक सुसेलीका संस्थापक हुन् । अमेरिकामा रहेर पनि नेपाली गीतसंगीत र कला संस्कृतिको संरक्षण एवं सम्बद्र्धनमा निरन्तर लागिरहेका छन् ।
