• २०८१ मंसिर १७ सोमबार

महाकवि लक्ष्मीप्रसाद देवकोटा दुई चर्चित कविताहरू

लक्ष्मीप्रसाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटा

१. पागल

जरूर साथी म पागल !
यस्तै छ मेरो हाल ।
मशब्दलाई देख्दछु !
दृश्यलाई सुन्दछु !
बासनालाई स्वाद लिन्छु ।
आकाश भन्दा पातला कुरालाई छुन्छु ।
ती कुरा,
जसको अस्तित्व लोक मान्दैंन
जसको आकार संसार जान्दैन !

म देख्दछु, ढुङ्गालाई फूल !
जब, जल किनारका जल चिप्लाती,
कोमलाकार, पाषाण,
चाँदनीमा,
स्वर्गकी जादूगर्नी म तिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर, उठ्दछन् मूक पागलझैँ,
फूलझैँ- एक किसिमका चकोर फूल !
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती म सँग
एक भाषा, साथी !
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न ।
जुनेली गङ्गा- किनार छाल आउँछ तिनको भाषा
साथी ! छाल छाल !
जरूर साथी म पागल !
यस्तै छ मेरो हाल !
तिमी चतुर छौ, म वाचाल !
तिम्रो शुद्ध गणित सूत्र हरहमेशा चलिरहेको छ
मेरो गणितमा एक बाट एक झिके
एकै बाँकी रहन्छ !
तिमी पाँच इन्द्रियले काम गर्छौ,
म छैटौँले !
तिम्रो गिदी छ साथी !
मेरो मुटु
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्मिनी पाउँछु,
तिमी बलिया गद्य छौ !
म तरल पद्य छु !
तिमी जम्दछौ जब म पग्लन्छु,
तिमी सँग्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैका उल्टो !
तिम्रो संसार ठोस छ ।
मेरो बाफ !
तिम्रो बाक्लो, मेरो पातलो !
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ ।
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढीकीको बाटुलो सत्यलाई !
मेरो छ वेग काँडाको साथी !
तिम्रो सुनको र हीराको !
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल

जरूर साथी
मेरो एक नशा ढिलो छ।
यस्तै छ मेरो हाल

२. प्रश्नोत्तर

‘के हो अहो  ! अमृत त्यो सुरदेव पान ?’
‘सच्चा कमाइ गरिखानु भनेर जान ।’
‘खोज्छन् सबै सुख त्यो सुख त्यो कहाँ छ ?
‘आफू मिटाइ अरूलाई दिनु जहाँ छ ।’

‘पाइन्न शान्ति किन हो ? कुन ठाउँ मिल्छ ?’
‘तर्किन्छ त्यो रूखमनी, जुन साथ मिल्छ ।’
‘देखिन्छ ईश कुन मन्दिरमा पसेर ?’
‘त्यो हाँस्छ शुद्ध मन आसनमा बसेर ।’

‘यस्तो रहस्यमय जीवन बुझ्नलाई,
जानू कहाँ ? पढनु के ? गुरू को बनाई ?’
‘फुल्दो (खुल्दो) गुलाब बिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई सब तत्व खुल्छन् ।’

‘कर्तव्य के छ जनको, यति छन् विरोध ?’
‘नक्षत्र हेर नभमा, दिलसाथ सोध !’
‘के हो ठुलो जगतमा ?’ ‘पसिना विवेक’
‘उद्देश्य के लिनु ?’ ‘उडि छुनु चन्द्र एक ।’