• २०८२ असार २६ बिहीबार

स्रष्टा समाजको त्रिदेशीय साहित्यिक अन्तरक्रिया तथा कवि गोष्ठी चन्द्रागिरीमा सम्पन्न

काठमाडौं ।

नेपाल स्रष्टा समाजको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको सह–आयोजनामा त्रिदेशीय साहित्यिक अन्तरक्रिया तथा कवि गोष्ठी सम्पन्न गरिएको छ । आइतबार, चन्द्रागिरिमा उक्त गोष्ठी स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा तथा चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले नेपाल र बंगलादेशबीच उस्तै सँस्कृति, उस्तै साहित्य र भाषा पनि झण्डै उस्तै रहेको बताउँदै यस्ता साहित्यिक अनुभव आदानप्रदान कार्यक्रमले भाषा, साहित्यको विकासमा महत्वपूर्ण टेवा दिने बताए । उनले पहिले बंगालदेशी साथीहरूसँग टोकियो विश्वविद्यालय पढ्दाका अनुभवहरु पनि सुनाए । नव निर्वाचित स्रष्टा समाजका पदाधिकारीहरुलाई सफल कार्यकालको निम्ति बधाई दिंदै गजल समेत सुनाए । साथै उनले उतिवेला बंगलादेशी साथीसँग संगत गर्दा सिकेको बंगाली गीत गाएर सबैलाई उत्साहित बनाए ।

बंगलादेश नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष लायन मसुर मोहमदले आफू दुबै देशको भाषासाहित्यको विकासमा लागि परेको बताउँदै दुई देशविचको भाषा,साहित्य र संस्कृति आदान प्रदान गर्न अझ प्रभावकारी रुपमा लाग्ने जानकारी दिए । सुन्दर चन्द्रागिरिलाई बंगलादेशमा रहेको निलगिरिसँग तुलना गरे । धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक रुपमा दुबै पवित्र र सुन्दर रहेको बता्रए । निम्तोको निम्ति स्रष्टा समाजलाई उनले धन्यवाद दिए ।

अर्का वक्ता प्रा. डा. लक्ष्मण गौतमले समकालीन नेपाली साहित्यको वर्तमान अव स्थाको बारेमा चर्चा गरे । उनले कथा, कविता, निबन्ध लगायत साहित्यका सबै विधाको अन्तर विषयको प्रभावको बारेमा जानकारी दिए । अघिल्लो लेखकले लेखेको कृतिमाथि टेकेर नयाँ सिर्जना आउन थालेको उनले बताए । पूर्व बंगलादेशका राजदुत, लेखक तथा अनुवादक मसुर मनारले बंगलादेशी साहित्य र बंगलादेशी डायस्पोरा साहित्यको बारेमा जानकारी दिंदै नेपालभन्दा धेरै गुणा जनसँख्या भएको बंगलादेश र यसका वेलायतमा बस्नेहरुले लेख्ने डायस्पोरा साहित्यको चर्चा समेत गरे । आफ्नो मन्तव्यको क्रममा विभिन्न चर्चित बंगलादेशी साहित्यकारहरु बारे समेत जानकारी दिए । आयोजकलाई निम्तोको निम्ति धन्यवाद दिंदै उनले बंगाली कवि रविन्द्रनाथ टैगोरको कविता सुनाए ।

वक्ता प्रा. डा. गोविन्दराज भट्टराईले बंगाली भाषा साहित्यको बारेमा आफ्नो धारणा राख्दै नेपाली र बंगालीको लिपी मात्र फरक भएको बताए । प्रा. डा. भट्टराईले दार्जिलिगका कुमार प्रधानको उदाहरण दिंदै उनले नेपाली साहित्यलाई बंगाली भाषामा अनुवाद गरेको तथ्य प्रस्तुत गरे । भट्टराईको चर्चित उपन्यास मुगलान समेत बंगालीमा अनुवाद रहेको पनि उनले बताए ।
वडा नं ८ का वडा अध्यक्ष प्रल्हाद रिजालले शुभकामना मन्तव्य राख्दै साहित्यको माध्यमले समाजलाई जागरुक बनाउन सकिने भएकोले समाजमा नेतृत्व गर्ने राजनीतिले भएपनि यसलाई सहि मार्गमा डोरर्याउने भनेको विद्धान साहित्यकारले गर्न सक्ने बताए ।

कार्यक्रममा काव्य वाचन पनि गरिएको थियो । यसमा वरिष्ठ कवि विश्वविमोहन श्रेष्ठ, डा. नबराज लम्साल, विधान आचार्य, रुद्र ज्ञवाली, प्रदीप सापकोटा, राधेश्याम लेकाली, रुद्र अधिकारी, रविन्द्र आशिष शैली, देविका तिमल्सिना, मधु पाठक, डा. सदानन्द कंडेल, तारा सुवेदी, रञ्जना निरौला, डा. शान्तिमाया गिरि, देवकी तिमल्सिना, माधव विँडारी लगायतले आ-आफ्ना कविता वाचन गरेका थिए । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले आगामी दिनमा स्रष्टा समाज भाषा साहित्यको क्षेत्रमा अझै अगाडि बढ्ने तयारीमा रहेको बताए । उनले मौसमको प्रतिकुलताको कारण मित्रराष्ट्र भारतबाट स्रष्टाहरु आएर बिचबाटै फर्कनु परेको अबस्थाको समेत जानकारी गराए ।