समाचार
काठमाडौं ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जयन्तीको अवसरमा कल्पतरु प्रज्ञा प्रतिष्ठानले कवि कन्चन पुडासैनी र शिक्षाविद् कृष्णप्रसाद नेपाललाई महाकवि देवकोटा कल्पतरु प्रज्ञा पुरस्कार प्रदान गरेको छ । प्रतिष्ठानले सोमबार राजधानीमा आयोजना गरेको विशेष समारोहमा कवि एवं गीतकार पुडासैनीलाई रु. २५ हजार राशीसहित ‘महाकवि देवकोटा कल्पतरु प्रज्ञा पुरस्कार’ र शिक्षाविद् तथा साहित्यकार नेपाललाई रु. पाँच हजार राशीसहित ‘महाकवि देवकोटा कल्पतरु पुरस्कार’ प्रदान गरिएको हो ।
पुरस्कार तथा सम्मानपत्र प्रतिष्ठानका अध्यक्ष तथा साहित्यकार नवराज पुडासैनी ‘ज्योत्सना’, साहित्यकार गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ लगायतले संयुक्त रूपमा अर्पण गर्नुभएको थियो । सोही अवसरमा महाकवि देवकोटा कल्पतरु प्रज्ञा पुरस्कारको अक्षयकोषमा सहयोग गर्ने दाताहरूलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा साहित्यकार घिमिरेले नेपाली साहित्यका विराट व्यक्तित्व देवकोटाले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने कार्य गरेको उल्लेख गर्दै उहाँप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गर्नुभयो । पुरस्कृत स्रष्टा पुडासैनी र नेपालले पनि देवकोटाको योगदानबिना नेपाली साहित्यको गाथा अपूरो हुने धारणा राख्नुभयो ।
समारोहमा साहित्यकार डा. विदुला घिमिरे, राजन पुडासैनीलगायत वक्ताहरूले देवकोटाको साहित्यिक शिल्प, योगदान र समसामयिक महत्त्वबारे विचार राख्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा गत वर्ष दिवंगत साहित्यकारहरू तथा जेन्जी आन्दोलनमा सहादत प्राप्त भएकाहरूको स्मृतिमा एक मिनेट मौन धारण गरिएको थियो । त्यसअघि बाजागाजासहितको ¥यालीले नयाँवस्ती युवा क्लब प्रांगणमा रहेको महाकवि देवकोटाको पूर्णकद शालिकमा माल्यार्पण गरेको थियो । कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष विमलप्रसाद अर्यालको संयोजनमा सम्पन्न भएको थियो ।
