समाचार
काठमाडौँ ।
साहित्यिक सम्मान सङ्गम, भक्तपुरले निबन्ध लेखनका क्षेत्रमा सक्रिय दुई सर्जकलाई ‘ग्वंगः सिरपाः सम्मान –२०८२’ प्रदान गरेको छ । भक्तपुरमा आयोजित कार्यक्रममा अग्रज साहित्यकार तथा संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः र शिक्षाविद् केदारभक्त माथेमाले निबन्धकारद्वय प्रा. डा. लक्ष्मणप्रसाद गौतम र धु्रव मधिकर्मीलाई उक्त सम्मान प्रदान गरे । सम्मानकासाथ नगद राशि जनही ५० हजार पाँच रुपैयाँ पनि प्रदान गरियो ।
शिक्षाविद् माथेमाले सिर्जनाले मानिसलाई खुसी तुल्याउने बताए । माथेमाले भने, “मैले कतै पढेको थिएँ, जो व्यक्ति सिर्जनामा रमाउँछ, ऊ सधैँ खुसी हुन्छ रे !” सम्मानका संस्थापक एवं अग्रज निबन्धकार ग्वंगःले महाकवि लक्ष्मीप्रसाद देवकोटासँगको सम्बन्धबारे चर्चा गरे । महाकविकै उत्प्रेरणाका कारण आफूले निबन्ध लेख्न थालेको उनले बताए । ग्वंगःले आफूले वि.सं. २०१० सालदेखि निबन्ध लेख्न थालेको स्मरण गरे ।
कार्यक्रममा सम्मानित स्रष्टाहरूका बारेमा निबन्धकार मुकुन्दराज शर्माले परिचय दिँदै मधिकर्मी र प्रा. डा. गौतमको सिर्जनशीलताबारे बताए । उनले मधिकर्मीको साहित्य लेखन र रेडियोकर्मका बारेमा जानकारी गराए । डा. गौतमको लेखन, समालोचनाकर्म तथा निबन्धकारिताको चर्चा गरे । कार्यक्रममा डा. विजयालक्ष्मी श्रेष्ठ, श्रीओम श्रेष्ठ ‘रोदन’, संजीव ग्वंगल तथा सम्मानित स्रष्टाले आफ्नो धारण राखेका थिए ।
