• २०८२ कार्तिक १५, शनिबार

खश भाषाको बृहत् शब्दकोष ‘खसिया आखर’ प्रकाशित

जुम्ला ।

जुम्ला चन्दननाथ नगरपालिका–१ आचार्यवाडाका ७९ वर्षीय रमानन्द आचार्यद्वारा तयार गरिएको ‘खसिया आखर’ नामक खस शब्दकोष १७ वर्षको दीर्घ अध्ययन, अनुसन्धान र लेखनपछि सार्वजनिक गरिएको छ । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले शब्दकोषको लोकार्पण गर्नुभएको हो ।

आचार्यको कृति कहिले दाताको खोजीमा त कहिले शब्द संकलनमा अड्किँदै १७ वर्षपछि सामाजिक विकास मन्त्रालयको सहयोगमा प्रकाशित भएको हो । करिब १,३०० पृष्ठको शब्दकोषमा ४० हजारभन्दा बढी खस शब्द समेटिएका छन् । शब्दकोषमा परम्परागत खसभाषाका उपज शब्द मात्र समावेश गरिएका छन्, आधुनिक आयातित शब्द समेटिएका छैनन् ।आचार्यले भने, “नेपाली भाषाको जननी जुम्लाको खस भाषा हो । अब मेरो जीवनभरको सपना पूरा भयो ।”

२०६५ साल बैशाख ११ गते बसेको जिल्ला परिषद् बैठकले खस भाषाको संरक्षणका लागि शब्दकोष निर्माण गर्ने निर्णय गर्दै आचार्यलाई जिम्मेवारी दिएको थियो । त्यसयता उहाँले हुम्ला, डोल्पा, कालिकोट, मुगु र जुम्लाका ग्रामिण बस्तीहरूमा पुगेर शब्द संकलन गर्नुभयो । प्रत्येक जिल्लामा भाषिक भिन्नता भएकाले शब्दको अर्थ पत्ता लगाउन चुनौतीपूर्ण थियो ।

प्रारम्भमा पाँच सदस्यीय समिति गठन भए पनि सदस्यहरू सक्रिय नहुँदा आचार्य एक्लैले संकलनदेखि सम्पादनसम्मका काम गर्नुभयो । कम्प्युटर नचलाउन सक्ने भएकाले टाइपिस्टमार्फत शब्दहरू कम्प्युटरमा भर्न लगाउनुभयो । कतिपय खस शब्दहरू त माइक्रोसफ्ट वर्डमा समेत भेटिएनन् । दैनिक आधा घण्टा पैदल हिँडेर सदरमुकाम खलंगा पुग्ने आचार्यले कुनै सेवा सुविधा बिना शब्द संकलन र लेखनलाई निरन्तरता दिनुभयो । “संकलित पाण्डुलिपी दराजमै थन्किएर म अस्ताउँला कि भन्ने डर थियो,” उहाँले स्मरण गर्नुभयो, “तर मर्नुअघि नै प्रकाशन गर्ने धोको पूरा भयो ।”

शब्दकोषलाई चार उपभाषिक भागमा विभाजन गरिएको छ-

दराली भाषिकाः ८० दरा, ५०० दरा र सिञ्जा दराका शब्दहरू,त्रिविकोटी भाषिकाः चौधबीस दरा र डोल्पाका शब्दहरू,रासकोटी भाषिकाः कालिकोटका शब्दहरू, मुहु भाषिकाः मुगु र हुम्लाका शब्दहरू रहेको छ ।लोकार्पण समारोहमा मन्त्री भण्डारीले खस भाषाको जगेर्ना र पुस्तान्तरणमा शब्दकोषले ऐतिहासिक भूमिका खेल्ने बताउनुभयो । “कर्णालीका केही स्थानीय तहमा खस भाषाको पाठ्यक्रम निर्माण गरी पठनपाठन भइरहेको छ,” मन्त्री भण्डारीले भन्नुभयो, “यस शब्दकोषले सुनमा सुगन्ध थप्नेछ ।”

भाषाशास्त्री डा. माधवप्रसाद शास्त्रीले शब्दकोष प्रकाशनले कर्णालीको “शीर उच्च बनाएको” उल्लेख गर्दै लेखक आचार्यको साहस र समर्पणको प्रशंसा गर्नुभयो । शब्दकोष प्रकाशनका लागि सामाजिक विकास मन्त्रालयले एक हजार प्रति छाप्न पुग्ने बजेट उपलब्ध गराएको हो । एक प्रति छाप्न १५ सय रुपैयाँभन्दा बढी खर्च लागेको समाजले जनाएको छ । आचार्यका अनुसार यो शब्दकोषले १८४६ पूर्वको खस राज्यको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान जोगाउने अपेक्षा गरिएको छ । “अहिले गाउँबस्तीमा विदेशी भाषाको हालीमुहाली छ,” उहाँले भन्नुभयो, “युवा पुस्ताका लागि यो कोसेढुंगा सावित हुनेछ ।”