• २०८१ माघ २ बुधबार

सुतेको बाघलाई नजिस्क्याउनु !

भुवनहरि सिग्देल

भुवनहरि सिग्देल

२०२२ साल । महिना माघको थियो । २०२२ साल पुस २६ गते राति मेरा बाबा बित्नुभएको । आमा नौ दिनकी सुत्केरी हुनुहुन्थ्यो, कुनाकी । भाइ कान्छो जन्मिएको थियो, भुवनकेशर । न्वारन गर्न दुई दिन बाँकी थियो । यस्तो स्थिति परेपछि बाबाको तेह्र दिनको काम माघ ९ गते नभै पूरा हुने कुरै आएन ।

म दहचोकको डाँडामा जन्मिको हुँ । त्यो वेला मैले पन्ध्र वर्ष टेकेको थिएँ । जाडो याममा पातालको वनबाट ठुटा दाउरा खोजेर ल्याइन्थ्यो । बिहानबेलुका अँगेनामा धुनी बालेर आगो ताप्ने चलन सबै घरमा थियो ।

बेलुकी चार बजेको हुँदो हो । शम्भुकाका र म ठुटा खोज्न वनमा गएका थियौँ । कालीमयलको थुम्को उता बाघको चर्पीमा । मैले सानो डोको र हाते बन्चरो लिएर गएको थिएँ । काकाको भने डोको पनि ठूलै र बन्चरो पनि जक्खुको थियो । वनमा हतियार लगाएर काँचो काट्न पाइन्नथ्यो तर सुकेका दाउरा काट्न र ठुटाठुटी पक्ल्याकपुक्लुक पार्न पाइन्थ्यो । काँचो काटेको भेट्यो भने इमानसिंह तामाङले बन्चरो, डोको जफत गथ्र्याे । घरमा आएर थप दण्ड बिगोअनुसार) असुल्थ्यो । इमानसिंहलाई सरकारी वनपाले भन्थे । होला नाइँ । बलियाबाङ्गा मानिस भने उसको आँखा छलेर काँचै रूख भकुर्थे । रात–बिहान गरेर बिगोलाई दम्पच गरिसक्थे । इमानसिंह भने घरघर हिँड्थ्यो । बिगोको सुइँको लगाउन, भोलिपल्टतिर । उसले भेटेमा दण्ड । नभेटेमा पच !

काकाले र मैले सुकेकै ठुटा खोजेर डोको भरिसकेका थियौँ । इमानसिंहको डर थिएन । डाँडामा पहेँला घाम लागेको हुनाले समय साँझपखकै थियोे । त्यो दिन चाँडै नै डोको भरियो । साँझ पर्न निकै बेर बाँकी थियो । कालीमयलको थुम्की साँच्चै मनोहर छ त्यो) मा उत्तानो सुतेर आकाशमा तारा हेथ्र्यौं हामी । धेरै ताराका साथमा उड्ने तारा पनि देखिन्थे । तारा त के उड्थे र ? पक्कै पनि उज्याला ताराझैँ देखिने ती वस्तु अन्तरिक्षयान नै हुनुपथ्र्याे । त्यस बखत नै त्यसरी देखिने ती यान हाल अब थुप्रै देखिएलान्, हेर्न पाए । कहिले पुग्नु खै कालीमयलको थुम्कोमाथि !

त्यस वेला हामी मङ्गलोदय नि.मा.वि., थानकोटमा पढ्थ्यौँ । हामी काकाभतिजा सातमा पढ्थ्यौं । उहाँ त मभन्दा नौ दस वर्षले जेठै भए पनि स्कुलको पढाइ ढिला सुरु गर्नुभएको थियो ।

बाघको चर्पी नाकेडाँडोजस्तै छ । हामी त्यही डाँडाको डिलमा बसेका थियौँ, डोको भरिसकेपछि । घर जान पनि हतार नभएको कारणले होला ।

हामीले नै पाका दाइ–काकाहरूलाई पढाउने भनेर डिट्ठा रामनाथ काकाको दलानमा प्रौढ कक्षा सुरु गरेका थियौँ । त्यस्तै पन्ध्र बीस दिन मात्रै भएको थियो खुलेको । बेलुकाको खाना खाएर हामी काकाभतिजा प्रौढ कक्षामा पढाउन जान्थ्यौँ । आठदेखि दस बजेसम्म त्यो कक्षा सञ्चालन हुन्थ्यो । त्यहाँ जान पनि हतार भएको थिएन । भरखरै पाँच बजेको थियो होला, पहेँला घाम डाँडामा हुनाले ।

हाम्रो सामुन्ने दर्शनढुङ्गाको पाखो थियो । पश्चिमपट्टि, केही तल । चारैतिर जङ्गल र बीचमा चहुर । डाँडाको थाप्लोजस्तो । त्यही थाप्लोको उत्तरपट्टि गैह्री परेको डोल र हाडेउन्यौँको विशाल घारी छ । त्यो उन्यौँभित्र चितुवा लुक्ने हुनाले प्रचलित नामचाहिँ ‘चितुवाको खोर’ थियो । हामी बसेको डाँडोचाहिँ उसको चर्पी । हुन पनि यस डाँडामा त्यसले जमिन खोस्रेको र फोहर गरेको देखिन्थ्यो जताततै ।

त्यो पातालको जङ्गल हो, भयानकै छ । अहिले त झन् कुरै नगरूँ । जङ्गलसँगैका बस्ती नै सरेर कताकता पुगिसके । मलाई नै अहिले कालीमयलको थुम्कीसम्म पुगेर आइज ! भन्यो भने मेरो मुटु काम्छ, कता बाघको चर्पी ? कता बाघको खोर ! त्यो वेला हाडेउन्यौँभित्र पस्ने प्राणी अरू कोही थिएनन्, हामी काकाभतिजाबाहेक । थाहा होला नि हाडेउन्यौँ ? कि थाहा छैन ?

हाडेउन्यौँको डाँठ सिसाकलमजस्तै हुन्छ, सिर्लिक्क परेको । त्यो डाँठ चार पाँच फुटसम्मको हुन्छ । डाँठ बढेर निश्चित उच्चाइ गइसकेपछि तीनतिर हाँगाजस्ता पात फैलिन्छन्, पूरा ९० डिग्रीमा । मानौँ त्यो उन्यौँ छाता हो । यो उन्यौँ फैलिएको ठाउँमा अरू जातका रूख उम्रिने सम्भावनै हुन्न । यसैले आफ्नो साम्राज्य बनाउँछ । छिप्पिएको हाडेउन्यौँको कलम बनाएर मजासँग लेख्ने गथ्र्यौं हामी । तर यसको टाँकामा बल प¥यो भने पिटिक्कै फुटेर टुक्रिने गर्छ । महालिङ्गो वा निगालोको टाँकाजस्तो लचक यसको हुँदैन । यसरी हाड चोइटेझैँ फुट्ने भएकोले यसको नामै हाडेउन्यौँ रहेको ।

हाडेउन्यौँको घारीभित्र छिरेपछि आकाश देखिँदैन । यो आफैँ छाता, चारपाँच फुट अग्लो । डाँठ पन्छाउँदै भित्रभित्र छिर्दै जाने हो । चितुवा बसेको छ भने उसले बाटो बनाएको हुन्छ, भित्र पस्न । हामी काकाभतिजालाई के ठान्दो हो त्यसले जो उसको बाटो फेला परेमा सरासर खोरतिरै पुग्छन् । तर अहँ, हामीले त्यो उन्यौँभित्र कहिल्यै चितुवा भेटेनौँ ।

वास्तवमा हाडेउन्यौँको घारी चितुवाको आपतकालीन भूमिगत भनेजस्तो) स्थितिमा लुक्ने ठाउँ हो । स्थायी बसोवास गर्ने क्षेत्र होइन । किनभने त्यस व्यूहभित्र पसेपछि जोकोही प्राणीले पनि आफूलाई असुरक्षित ठान्दछ । वाह्य खतरालाई अवलोकन गरीगरी प्रत्याक्रमणको योजना तयार गर्नसक्ने किल्ला मात्रै वीरहरूको स्थायी वासस्थान हुन्छ । त्यसैले हामीले कहिल्यै पनि चितुवा भेटेनौँ । बरु हुन सक्छ, हामी उन्यौँ घारीभित्र पस्दा ऊ भने चर्पी डाँडापट्टिको योग्य ठाउँबाट हाम्रा आक्रमणको रणनीति बुझेर कुरिरहेको हुन्थ्यो कि ?

यी कुरा यतापट्टिका भए ।

त्यो दिनको घटना त अविस्मरणीय नै छ ।

प्रसङ्गले कलमलाई हाडेउन्यौँतिर घुमाएको मात्रै हो । हामी काकाभतिजा भने माथि डिलमा थियौँ । ठुटाले भरिएका दुईवटा डोका हाम्रा नजिकमा थिए । कुन्नि के विषयमा गफ गर्दै थियौँ, थाहा भएन । एक्कासि शम्भुकाकाले औँलो तेस्र्याएर भन्नुभो, ‘ए हेर त बाघ !’

‘खोइ ?’ मेरो जिउ सिरिङ्ग भइसकेको थियो बाघको नामले ।

‘उः उः पारि चौरमा ! सुतिरहेको, घामपट्टि !’ हामी ज¥याकजुरुक उठ्यौँ । नभन्दै पारि दर्शनढुङ्गाको चहुरमा पाटेचितुवा सुतिरहेको थियो । हामीले चर्पी डाँडाको डिलमा उभिएर सुतेको त्यो चितुवालाई निकै बेर हे¥यौँ । त्यसका रौँ खरानी रङका थिए । त्यसमाथि काला धब्बे थोप्लाजस्तो लाग्दथ्यो । डिल र चहुरको दूरी पनि खासै होइन नि, सामुन्ने । त्यत्तिकैमा काकाले भन्नुभयो, ‘खोइ ले न ढुङ्गा ! बजाऊँ डाङ्ग्रालाई ।’

म वरपर गएर ढुङ्गा खोजेर ल्याउँथे । ती ढुङ्गा टिपेर काकाले चितुवालाई हिर्काउन थाल्नुभयो । मैले पनि त्यही नक्कल गरेर ढुङ्गा हानेँ । मैले हानेको ढुङ्गा त खोल्सी पनि कटेनन् । काकाले हान्नुभएको ढुङ्गा भने खोल्सीपारि पुग्थ्यो । चितुवा सुतेकोतिर पुग्न सक्तैनथ्यो कि क्या, पुगेन । अनि काकाले नै भन्नुभो, ‘ढुङ्गा भएन, अल्लि चेप्टो र ढ्याकजस्तो भए हुने । ल हिँड् ! चेप्टा खाले ढुङ्गा खोजौँ, ठिक्कका !’

हामी ढुङ्गा खोज्न हिँड्यौ । भनेको जस्तो त कता पाउनु ? तैपनि सकेसम्म पातला, चेप्टा ढुङ्गा खोज्यौँ । कमिजको फेरमा राखेर ल्यायौँ । दुवै जनाले बटुलेका ढुङ्गा हुँदा हुन् ५०–६० वटाजति । हामी डिलमै फर्केर आयौँ । भुइँमा ढुङ्गा थुप्य्रायौँ । तीमध्येबाट एउटा बाटुलो ढुङ्गा हान्नुभो काकाले, हात घुमाएर । त्यो ढुङ्गा चितुवानिर चहुरमा पुग्यो । टक्रक्क गरेको आवाज सुनियो । भुइँमा ठोक्किएर । त्यो ढुङ्गाको आवाजसँगै चितुवा बिउँझियो । हामीतिर गर्दन घुमाएर हे¥यो । तर उठेन । हामीलाई तत्काल त रमाइलो लाग्यो, तर ‘सुतेको बाघलाई नजगाउनू !’ भन्ने उखान त्यस वेला लागू हुनथाल्यो जब चितुवा उठेर कुकुरझैँ बस्यो । काकाले ढुङ्गा हान्न भने छोड्नुभएको थिएन ।

घाम डाँडामा डुबिसकेका थिए । निकै चिसो हावा चलिरहेको थियो । काकाले ढुङ्गा हान्न रोक्नुभएको थिएन । त्यस चितुवाले पनि एउटा कौतुकपूर्ण तमासा गर्न थाल्यो । यता काकाको हातबाट ढुङ्गो छुट्थ्यो, चितुवा भने आफूतर्फ आउँदै गरेको त्यही ढुङ्गालाई हेथ्र्याे । अनि गर्दन उठाए्र फेरि हामीतिर हेथ्र्याे । केही अँध्यारो हुन थालेको थियो । ढुङ्गा पनि ५–६ वटा मात्र बाँकी थिए । तीमध्ये पातलो खाले ढुङ्गा उठाएर थुथु गरेर थुक्नुभो काकाले । अनि गोडा उचालेर पैतालामा दल्नुभो । मैले बुझिनँ, कुन्नि छुक गर्नुभएको थियो कि ! त्यो ढुङ्गा त हान्नुभो तर जे ग¥यो त्यही ढुङ्गाले ग¥यो । अल्लारे वेलाको कुरो, परिणाम कल्ले सोचोस् ?

ढुङ्गोले भयङ्कर स्थितिको सिर्जना ग¥यो । ‘छस्य्राङ्ग’ आवाज आयो । त्यो ढुङ्गो चितुवा बसेको ठाउँकै झाङमा खसेको थियो । हामीले बिजुली चम्केजस्तै दृश्य देख्यौँ । एक सेकेन्डभित्रै चितुवा उठेर हामीतिर कुदिहाल्यो, मानौँ वाणबाट तीर छुट्यो । काकाको आवाज उत्निखेर सुनेँ मैले, ‘तेरा बाउले सिद्ध्यायो ! कुद् ! कुद् !!’

हामी कुद्यौं होइन उड्यौँ । केही तेर्साे अनि केही ओह्रालो चहुर छिचोलेपछि सगरदेव त्यहाँ शक्रशिखर महादेवको शिलामूर्ति थियो । विशेष पर्वमा पूजा हुन्थ्यो । सिग्देलहरूले त्यो वासस्थान छोडेर तल बेँसीमा बसोवास गर्न थालेपछि २०४३ साल तिर) तल सैरन्थुम्कोको घाँटीमा प्रतिष्ठापन गरिएको छ) पुगिन्छ । जङ्गल पनि सकिने र बस्तीको आवागमन पनि सुनिने हुनाले केही राहत महसुस भयो । हाम्रा पैतालाले कति दूरी बनाएर कुदेका थिए होलान् ? भन्न कठिन थियो । तर यत्तिचाहिँ भन्न अवश्य सकिन्थ्यो, त्यसभन्दा बढी हाम्रा टाँङ फैलिन सक्तैनथे । ढ्याप–ढ्याप पैताला टेक्दा त्यसको थर्काे कन्चटमा पुगेर बजेको सम्झना हुन्छ । मुटु भने घाँटीतिरै आइपुगेको थियो कि क्या, उफ्रिँदैउफ्रिँदै ।

हाम्रा गोडा सगरदेवमा पनि रोकिएनन् । जङ्गलको छेउ भएर हो कि ? त्यहाँ नरोकिएर हामीले बुद्धि पु¥याएछौँ । सगरदेव पार गरेर एउटा गल्ली झरेपछि हाम्रो गोठ आउँथ्यो । अनि घर । त्यसपछि काकाको घर थियो । हामी काकाभतिजा आँगनमा पुग्यौँ ।

चिसो स्याँठ चलिरहेको बेला पनि हाम्रा लुगा पसिनाले लपक्कै भिजेका थिए । जिउ रन्केर तातेको थियो । प्रश्वास यति जोडले चल्दै थियो, हामी बोल्न सक्तैनथ्यौँ । हाम्रो हस्याङफस्याङ आमोईले भित्रबाट सुन्नुभएछ क्यारे । बाहिर आएर सोध्नुभयो, ‘होइन के भो ? आम्मोई ! किन त्यसरी हाँपिरहेका हँ ?’

तुरुन्तै उत्तर दिन सकिएन । आमोईले विस्मित मुद्रामा कहिले मेरो र कहिले काकाको निधार छाम्नुभो । बिस्तारै काकाको मुख फुसफुसायो, ‘बा…घ ! बा…घ !! झन्नै सिद्ध्याएको !’

‘खोइ त डोको, बन्चरो ?’ आमोईले सोध्नुभो ।

‘उतै… उतै !’ मैले वनतिर हात उठाएँ ।

हामीले राम्रोसँग बोल्न नभ्याउँदै बाघ गज्र्याे, ‘हुक्राङ्…हुक्राङ्…हुक्राङ् !’ हाम्रा कन्चटका रौँ बस्न मात्र लागेका थिए फेरि ठडिए । आमोईले पानी ल्याएर दिनुभो । दुवैले एकएक करुवा पानी सिनित्तै पा¥यौँ । बाघ भने हाम्रो घरपछाडिको बनेलीमा आएर फेरि डुक्र्यो । शम्भुकाका उठेर फुत्त कुद्नुभो आफ्नो घरतिर । म पनि घरभित्र पसेँ । आमोईले आग्लो ठोक्नुभो दैलोमा । चितुवा भने धेरैपटक करायो बनेलीतिर ।

आमोईले सोध्नुभो, ‘के चितुवाले लखेट्यो ?’

‘होइन, त्यो सुतिरहेको थियो, दर्शनढुङ्गापट्टि ।’ मैले भनेँ ।

‘सुतेको थियो रे ! … फेरि ? सुतेको बाघसँग किन डराएको त ?’ संशय थियो होला उहाँको मनमा ।

‘हो, त्यो सुतेको थियो । हामीले ढुङ्गाले हानेको… ।’

‘धत् ! मूर्ख हो ! सुतेको बाघलाई ढुङ्गाले हान्ने हो त ?’

म केही पनि बोलिनँ । उहाँले नै भन्नुभो, ‘धन्य आज बाँचेछौ तिमीहरू । कहाँबाट हानेको नि ?’
‘चर्पीडाँडोको डिलबाट । डोको, बन्चरो, ठुटा त्यहीँ छ ।’

‘त्यो त भोलि ल्याए भइहाल्छ । तर बाँच्यौ । कहिल्यै चितुवालाई नजिस्क्याउनू बाबा ! कहिल्यै । तिमीहरूलाई त खेदेकै रहेछ नि आज ।’

आमोईको भनाइले मलाई झन् डर लाग्यो । खाना पाकिसकेको रहेछ । भाइबहिनी, आमासँगै बसेर खायौँ । म चोटामा गएँ । बाहिर मटानमा सुत्थेँ म । भोलिको लागि केही गणितको काम होमवर्क भनूँ न । त्यसबखत त पाठ गर्ने मात्र भनिन्थ्यो) गर्नु थियो । टुकी बालेर म हिसाब गर्न थालेँ । दिमागमा भने त्यही थोप्ले चितुवा घुमिरहेको थियो । कराएको भने कतै सुनिएन ।

शम्भुकाकाले बोलाउनुभो आँगनमा आएर, ‘पढाउन जाने होइन ? जाऊँ ! आठ बज्न लाग्यो ।’
‘जाने र ? बाटोमा चितुवा बसेको छ कि ?’
‘छैन, छैन । खोइ कराएको पनि छैन, जाऊँ !’
‘यस्तो अन्धकार छ !’
‘सानो लाल्टिनी छ होइन ? त्यही बालेर जाऊँ !’
मैले आमालाई सोधेँ, ‘लाल्टिनी बल्छ होइन आमा ?’
‘धिपधिप गर्छ । के काम देला र ? तिमीहरू जान आँटेका ? आज नगए पनि हुने । त्यसरी चितुवा कराएको छ ।’
‘काका आइसक्नुभो । लाल्टिनी बालेर जाने !’

मैले लाल्टिनी बालेँ । बल्यो सानो, जूनकीरीजस्तो । त्यो लाल्टिनी पनि त्यस्तै थियो । सानो लम्फा भनूँ । मेरा साहिँला बाबा कलकत्तामा काम गर्नुहुन्थ्यो रे ! उहाँले नै पठाइदिनुभएको रे । म त्यही बत्ती लिएर आँगनमा निस्केँ । हावाको कारणले होला निभूँ बलूँ गर्न लाग्यो । हामी रामनाथ काकाको घरतर्फ तेर्सियौँ ।

रामनाथ काका डिट्ठाबा) को घर ढुङ्गेडाँडामा थियो । ठूलो बाँके घर दुवैतिर बुर्जा राखिएको । सेतो चुनले पोतेको । एकपाखे पारेर दामी जस्ताले छाइएको, नामी थियो । त्यसलाई घर मात्रै पनि नभनूँ, गाउँको लागि दरबार नै थियो डिट्ठाबाको । घरको पूर्वपट्टि नासपाती, स्याउ, अनार, सुन्तलाको राम्रो बगैँचा थियो । घरको बीचमा आँगन थियो । अझ सहरिया भाषामा चोक भनूँ । पश्चिमतर्फको बुर्जामुनिको एउटा कोठा प्रौढकक्षा चलाउनका लागि दिनुभएको उहाँले ।

हाम्रो घरबाट फटाफट हिँड्दा पनि बीस मिनेट लाग्थ्यो, डिट्ठाबाको घर पुग्न । बाटोमा दुवैतिर बारी, बीचको गोरेटो पूर्वतिर लागेपछि लिस्नो आउँथ्यो । लिस्नो ओर्र्लिएर अँध्यारो खोल्सीमा पस्ने बाटो थियो । दुवैतिर वन र बनेलीले ढाकेको खोल्सी । अल्लि डरलाग्दै, नामै कालीबाङ्गेको खोल्सी । त्यहाँ तर्साउँछ पनि भन्थे । त्यो खोल्सी तरेपछि वनको घाँच, छोटो । अनि डाँडाघर पुगिन्थ्यो ।

त्यहाँ पाँच घर थिए । त्यो बस्तीपछि पखेरो चहुर । उत्तर र दक्षिणतर्फ झपक्कै बनेली । बाँसका झाँङहरू, बीचमा गोरेटो बाटो, पूव–पश्चिम तेर्पे । त्यही चहुरको पूर्वमा ठूलो ढुङ्गेधारो थियो । डिट्ठाबाले नै ढुङ्गाको धारो राख्नुभएको रे ! यही नै सिग्देलको पँधेरो भन्थे । यही धाराको पानी काँधमा वा डोकामा गाग्री राखेर गैह्रीगाउँ पु¥याउनुपर्ने वाध्यता थियो । अरू स्रोत थिएन । त्यो धारो पार गरेपछि बल्ल ढुङ्गेडाँडा आउँथ्यो । हो त्यहीँ थियो उहाँको घर, माने दरबार !

हामी त्यही बाटोमा थियौँ, धिपधिपे जूनकीरी बालेर । घरि धिपधिप गथ्र्याे । घरि ठूलो भएर आफैँ उकासिन्थ्यो । घरि हावाबाट बचाउन हत्केलाले छेक्नुपथ्र्यो । हामीलाई भने जसरीतसरी त्यहाँ पुग्नुथियो । बत्तीले हामीलाई बाटो देखायो कि बत्तीलाई हामीले बाटोमा हिँडायौँ त्यो भन्न कठिन थियो । हामी सीमाधारोमा पुग्यौँ । लुगा पिट्नका लागि ठूल्ठूला छपनी ढुङ्गा बिछ्याइएका थिए त्यहाँ । हामीले छपनी ढुङ्गामा कुल्चेका मात्रै थियौँ, धारोपछाडि बाघ करायो । हाम्रो होस हरायो । कता बाटो, कता चिप्लो थाहै भएन हामीलाई । दगुर्ने प्रयत्न ग¥यौँ ।

भित्ताको ढुङ्गातिर लाल्टिनी ठोकियो । चरम्म सिसा फुटेको आवाज आयो । धिपधिपे त कुन वेला निभिसकेछ, चालै पाएनौँ । हाम्रो वरिपरि निष्पट्ट अन्धकार मात्रै थियो । आँखाले नदेखेका कुरा अन्तर्मनले देख्तोरहेछ नि ! मनले भने चारैतिर त्यही चितुवा मात्रै देख्न थाल्यो । अँध्यारो चितुवा !
गोडा खुस्किएर दुई ठाउँमा पछारिएँ म । कहाँ के क्षति भयो ? हेर्ने फुर्सद खोइ ? हेर्ने साधन खोइ ? दुख्ने अङ्ग खोइ ? भित्तातिर समाउँदा कतै घाँसमा हात पर्थे । मन झस्किन्थ्यो, लौ न चितुवाको पिठ्यूँतिर हात प¥यो क्यारे ! पर कतै जूनकीरी देख्ता टाउको फुलेर फर्सीजत्रो हुन्थ्यो, लौ चितुवाका आँखा बले क्यारे ! कसैगरी हामी डिट्ठाबाको आँगनमा पुगेका थियौँ । फेरि बाघ करायो, कतै नजिकै । हामी पुग्यौँ, त्यही मात्र उल्लेख्य भयो । कसरी पुग्यौं ? त्यो भने उल्लेख गर्न कठिन थियो ।

मेरो हातमा उही फुटेको लाल्टिनीको करङ भने झुन्डिरहेको थियो । मेरो मनमा एक्कासि यो प्रश्न आयो, के काम यो करङ ? के काम दियो यसले ? सही हालतमा त काम दिएन भने अब फुटेको खप्पर मात्रै थियो त्यो । मनमा के लाग्यो कुन्नि, आँगनको डिलबाट त्यो करङलाई यसरी फालेँ जसरी शत्रुको चिन्डोलाई फालिन्छ । त्यो फुटेको लाल्टिनीसँग मेरो त्यति बिघ्न रिस किन खनियो होला ? अहिले सम्झन्छु, हाँसो उठ्छ । जे होस् मेरा साहिँलाबाको चिनो भने त्यही अन्धकारमा विसर्जन गरेँ । तल खोल्सीतिरै पुगेर पछारियो होला लासै बेपत्ता हुने गरी ।

हामी घरभित्र पस्यौँ । एक बाल्टिनी पानी लिएर हातगोडा धोयौँ । बत्तीनजिकै पुगेर हेर्दा त हाम्रा लुगाभरि हिलो थियो । धारोको सिमतिर चिप्लिएको याद भयो । फिलामा दुखेको थियो । दुई ठाउँमा थचारिएको अब सम्झना हुनथाल्यो । पिँडौलाभरि चिथोरिएको थियो, सायद ऐँसेलुको झाँङतिर परेछ क्यारे । हे प्रभु ! हाम्रो हालत देखेर काका, दाइहरू हाँस्न थाले, ‘मास्टर नानीहरू, के हिलोमा कुस्ती खेलेर आयौ ?’

सविस्तार घटना सुनायौँ हामीले । रामकृष्ण दाइले भन्नुभो, ‘साँझैदेखि बाघ डुक्रेको थियो । तिमीहरूले पो बिभिन्ड्याएका रहेछौ । के उत्पात गर्छ अब चितुवाले । डाँडाघरतिरबाट कोही पनि आउन सकेनन् । हामीले ठानेका थियौंँ, तिमीहरू पनि आउँदैनौ भनेर । धन्य आएछौ, तर हेर त हालत ?’
राजनदाइले मकलमा आगो बालेर ल्याइदिनुभो, हामी थरथर कामेका देखेर । माझमा कमल राखेर चितुवाकै गफ ग¥यौं अबेरसम्म । आजको पढाइ पनि चितुवाकै गफ भयो ।

हामी सबैको सुत्ने व्यवस्था भने त्यही कोठामा थियो । आआफूले बिछ्यौनाको जोहो सुरुदेखि नै गरेका थियौँ त्यहाँ