लघुकथा
								
							काठमाडौं ।
नेपाली रंगमञ्च, संगीत र पत्रकारिता क्षेत्रका अग्रज व्यक्तित्व दिवंगत हरिप्रसाद रिमालको १०१औं जन्मजयन्तीको अवसरमा हरिप्रसाद–कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले विशेष कार्यक्रमसहित विविध सम्मान तथा पुरस्कार वितरण गरेको छ । हरेक वर्ष असोज २ गते मनाइने जन्मजयन्ती कार्यक्रम यसपटक जेन–जी आन्दोलनका कारण स्थगित भई बिहीबार राजधानीमा सम्पन्न भएको हो । कार्यक्रमको अवसरमा प्रतिष्ठानले लघुत्तम चलचित्र महोत्सव आयोजना गर्नुका साथै विशिष्ट योगदान दिने व्यक्तिहरूलाई नगदसहित सम्मान गरेको थियो ।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई ‘हरिप्रसाद–कल्याणी रिमाल सञ्चार सेवा सम्मान’बाट २१ हजार एक रुपैयाँसहित सम्मानित गरिएको छ । यस्तै, गायिका मीरा राणालाई ‘हरिप्रसाद रिमाल नाट्य संगीत सम्मान’ अन्तर्गत ३१ हजार एक रुपैयाँ नगदसहित सम्मान गरिएको थियो भने पप गायक तथा ‘बुद्ध वाज बर्न इन नेपाल’का अभियन्ता धीरज राईलाई ‘विशेष नाट्य संगीत सम्मान’ अन्तर्गत २१ हजार एक रुपैयाँसहित सम्मान गरिएको थियो । प्रतिष्ठानका सदस्य सचिव तथा अभिनेता–निर्देशक सम्राट सापकोटाले कार्यक्रममा स्वागत मन्तव्य दिँदै दिवंगत रिमालको योगदानको स्मरण गर्नुभएको थियो । उहाँले अघिल्लो वर्षदेखि नवप्रतिभालाई प्रोत्साहन गर्न मञ्च उपलब्ध गराउँदै आएको र यसपटक लघु फिल्म महोत्सवको आयोजना गरिएको जानकारी गराउनुभयो । उहाँले मन्त्री खरेललाई सम्मानित गर्ने निर्णय मन्त्री नियुक्ति हुनुअघि नै भएको स्पष्ट पार्नुभयो ।
समारोहमा बोल्दै सञ्चारमन्त्री खरेलले आफू कार्यक्रममा मन्त्रीको हैसियतमा नभई सञ्चारकर्मीको रूपमा उपस्थित भएको बताउँदै, प्रतिष्ठानबाट प्राप्त सम्मानलाई गौरवको रूपमा स्वीकार गर्नुभएको थियो । उहाँले आफूले दिवंगत रिमालको बानेश्वरस्थित निवासमा गरेको भेटको स्मरण गर्दै रिमाल पत्नी कल्याणी रिमालको जोश अझै युवाजस्तै रहेको बताउनुभयो । कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक दीपक सापकोटाले सञ्चारमन्त्री खरेलको पत्रकारिता यात्रा विशेषगरी इमेज टेलिभिजनको ‘हट सिट’ कार्यक्रमको प्रभावबारे चर्चा गर्नुभएको थियो । अभिनेता रवीन्द्र खड्काले गायिका मिरा राणाको सरलता र सबैसँग घुलमिल हुने स्वभावको प्रशंसा गर्नुभयो ।
बुधबार निर्देशक यादव खरेलको प्रमुख आतिथ्यतामा शुभारम्भ भएको लघुत्तम चलचित्र महोत्सव–२०८२ अन्तर्गत बिहीबार पुरस्कार वितरण गरिएको थियो । समारोहमा ‘संगिनी’ नामक शर्ट फिल्मले प्रथम पुरस्कार जित्दै एक लाख रुपैयाँ प्राप्त गरयो । यही चलचित्रबाट विनोद लोहारले लेखन र सलिना अधिकारीले अभिनेत्रीको पुरस्कार प्राप्त गर्नुभयो । त्यस्तै, ‘कलर अफ टिल’ दोस्रो हुँदै ५० हजार रुपैयाँ प्राप्त ग¥यो । यसै फिल्मबाट राजकुमार लामिछानेले निर्देशक र वीरबहादुर थारूले सम्पादनतर्फ पुरस्कार प्राप्त गर्नुभयो । तेस्रो स्थानमा परेको ‘अन्तिम रात’ फिल्मबाट दर्शन घिमिरेले अभिनेताको पुरस्कार जित्नुभयो भने ‘दृश्य’ फिल्मबाट नारायण जिसीले छायांकनको पुरस्कार प्राप्त गर्नुभयो । तेस्रो पुरस्कार राशी २५ हजार रुपैयाँ थियो । अन्य विधातर्फका विजेतालाई जनही १५ हजार एक रुपैयाँ प्रदान गरिएको थियो ।
महोत्सवका निर्णायकमा अभिनेता हरिहर शर्मा, कलाकार मदनदास श्रेष्ठ र प्रथम नेपाली अभिनेत्री भुवन चन्द रहनुभएको थियो । निर्णायकको तर्फबाट बोल्दै हरिहर शर्माले फिल्मको छनोट समाजप्रतिको सन्देश र प्रभावलाई ध्यानमा राखी गरिएको जानकारी गराउनुभयो । कार्यक्रमका संरक्षक प्रा.वासुदेव त्रिपाठीले दिवंगत हरिप्रसाद रिमाललाई नेपाली रंगमञ्चमा बालकृष्ण समपछिका शिरोमणिको रूपमा स्मरण गर्दै, उहाँको योगदानको पुस्तान्तरण हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।
