• २०८२ कार्तिक २१, शुक्रबार

लेर्मन्तोभ र देवकोटाको स्मरणमा साहित्यिक साँझ सम्पन्न

काठमाडौँ,

विख्यात रुसी कवि मिखाइल लेर्मन्तोभको २११ औँ र महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्तीको अवसरमा शुक्रबार काठमाडौंमा एक विशेष साहित्यिक साँझ आयोजना गरियो । नेपाल–रुस साहित्य समाज र रुसी सदन, काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा दुई महान् साहित्यकारहरूको योगदानको स्मरण गर्दै कविता वाचन तथा चर्चा गरिएको थियो ।

कार्यक्रममा रुसी सदनकी निर्देशक अनास्तासिया खोख्लोभाले लेर्मन्तोभ र देवकोटा फरक शताब्दी र महादेशका भए पनि दुवैले आफ्नो सिर्जनामार्फत युगको प्रतिनिधित्व गरेको बताइन् । उनले कवि लेर्मन्तोभको प्रसिद्ध कविता ‘डुङ्गा’ वाचन गरेर सुनाएकी थिइन् । कार्यक्रमलाई दुई खण्डमा विभाजन गरिएको थियो। पहिलो ‘देवकोटा खण्ड’ मा डा. अमोद मणि दीक्षित, युवराज डिसी, टिपी बराकोटी, किरण दर्नाल,शकुन्तला जोशी लगायतका कविहरूले आफ्ना नेपाली कविताहरू वाचन गरेका थिए ।

त्यसैगरी, दोस्रो ‘लेर्मन्तोभ खण्ड’ मा डा. जे.एन. पाण्डे ‘जनपाली’ ले रुसी कविका कवितालाई रुसी र नेपाली दुवै भाषामा प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि नेपाली लेखक संघका अध्यक्ष वियोगी बुढाथोकीले रत्नपार्कमा पुश्किन र गोर्कीका साहित्य किनेर पढेको स्मरण गर्दै नेपाल–रुस साहित्य समाजको निरन्तर साहित्यिक सक्रियताको प्रशंसा गरे ।
नेपाल–रुस साहित्य समाजका अध्यक्ष विष्णुबहादुर सिंहले रोमान्टिक कालका प्रमुख रुसी कवि तथा उपन्यासकार लेर्मन्तोभको बहुआयामिक व्यक्तित्व र जीवनका विविध पक्षबारे प्रकाश पारेका थिए ।

पुश्किनका उत्तराधिकारी मानिने लेर्मन्तोभ आफ्नो मनोवैज्ञानिक उपन्यास ‘हाम्रो जमानाका नायक’ का लागि विश्व प्रसिद्ध छन् । कार्यक्रममा देवकोटा र लेर्मन्तोभको जीवनी तथा साहित्यिक गतिविधि झल्किने तस्बिर प्रदर्शनीले थप आकर्षण थपेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका लेखक, कलाकार, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उपस्थिति रहेको थियो ।