English Poem

अविरल यात्रामा निस्किएकी म एउटा यात्री
बन्द कोठाभित्र सुस्ताइरहेकी थिएँ
विक्षिप्त मन लिई
प्यासी पाइला घिसार्दैघिसार्दै
शीतलताको चाह बोकेर
खोज्दै थियो मनले सानो बिसौनी
उल्लासको आकाश ओढ्ने
गर्दैथियो रहर जीवनले,
फ्याँक्न खोज्दैथियो पीडाको बज्र
शिरबाट मनले
उषाको किरण टिपी
बिहानीको स्पर्शसँगै
लाली छर्न अनि बटुल्न खोज्दैथियो मनले
पारि क्षितिजमा टाँगिएका खुसीहरू
दुःख भुलाउने बहानामा ।
अक्करिलो भीरमा पुग्दानपुग्दै
छुटेको साथ उनको
खोज्दैथियो सहाराको हात दुःखमा
खोज्दैथियो तनले पूरा गर्न
तिनै अतृप्त प्यासहरू
असीम चाहनाको गाग्री बोकेर
भन्दैथियो मन फेरि
नरित्तियोस् ममताको पोखरी कहिल्यै
अविरल बगिरहोस् प्रेमिल जलधारा
बाटिरहूँ मायावी डोरी अनन्तसम्म
यात्रा चलिरहोस् मृत्युपर्यन्त
पीर-व्यथाले क्लान्त भएका वेला
बाध्यताको साउती मार्यौ तिमीले
मेरो कानैछेउ आएर
मुन्टो उठाएँ आशय बुझी
समाएँ तिम्रा कोमल हातहरू
सुस्तरी मैले पनि
तिमीले सारो अँठ्याउन भन्यौ
हत्केलाको घर्षणले भित्रैसम्म स्पर्श गर्याे
मरेको ऊर्जा बौरिएर उठ्यो
नेत्र सजल भए, मन मुटु छोयो आत्मीयताले
थाहा छैन
थाहा छैन
हामीले आफैँलाई के देख्यौ कुन्नि !
त्यही पीडादायी यात्रा बिर्सन
मैले गोरेटो फेरेँ, तिमीले जस्तै
साँच्चै मैले तिम्रो साथ रोजेँ
मलहम पट्टी गर्न खोज्दै दुइटै मनमा
अनि त
मिसाउन खोजेँ माया तिम्रोसित
आँखाभरि खुसी र भावुकता छचल्किएर
संरक्षण र सहानुभूतिको महसुसले
अवरुद्ध भयो गला, भरिएर आयो गह
घाम नढल्की साँझ परेको जीवनमा
दुस्साहस गरेँ मैले, उज्यालो छाउन
जहाँ टेके पनि ठेस लाग्ने पाइलाहरू यी
तिम्रो पदमा दह्रो उभिन खोजेँ
मरुभूमिमा टाक्सिएको फूल
सार्न खोजेँ तिमै्र गमलामा
सिञ्चन गर्ने उत्कट चाहनाले मायाको
सिङ्गो धराकाश शून्य लाग्थ्यो
झुल्कियौ तिमी जून बनेर
अविरल सिर्जनाको मुहान देख्दा तिम्रो मरुभूमि यो जीवनमा
जीवन खोज्न मन लाग्यो रचनामा
आएँ, विरहका दिनहरू काट्न तिमीसँगै
तिम्रै सुमधुर वाणीहरू सुन्न
लालायित भयो मन
अनि त
बन्धकबाट झिकी जीवन
हाजिर भएँ अब अदालतमा तिम्रै
खाडल पुर्न निराशाका
प्रेमले दुवैका
निको पार्न अचानोका चोटहरू
बिर्संदै अतीतलाई
कल्पिएको संसार हेर्न
अस्थायी जीवनको आधाबाटोमा
अजम्बरी यशले सुवासित गर्न
सिमलको उडन्ते भुवा यो मनलाई
कैँद गरेँ अब तिम्रै सिरानीमा
कैँद गरेँ अब तिम्रै सिरानीमा ।
(बिमली चर्चित साहित्यकार हुन् ।)
[email protected]